दीपेन्द्र लामाको ‘दुःखी आत्मा’मा श्रवण मुकारुङका १० कविता
काठमाडौं । कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतीक्षित फिल्म ‘दुःखी आत्मा’ का लागि विभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् ।
दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘दुःखी आत्मा’ को पटकथाअनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसनअनुसार राखिएको बताइएको छ । चलचित्रका मुख्य कलाकार दयाहाङ राई कविकै भूमिकामा भएको बताइएको छ ।
‘माथि माथि शैलुङ्गेमा’, ‘तिमी तारेभीर’, ‘राई माइलाले गाउँ छोड्यो रे’ जस्ता बहुचर्चित गीतका रचनाकार मुकारुङले आफू ‘दुःखी आत्मा’मा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरे ।
उनले भने, ‘चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो । म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।’
फिल्मको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकाले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले प्रष्ट्याए ।
उनले भने, ‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’
मुकारुङका अधिकांश कविता ‘दुःखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राईमाथि फिचरिङ गरिएको बताइएको छ ।
क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन् ।
आलोक शुक्लाले खिचेको फिल्म भ्यालेन्टाइन डेको अवसरमा फागुन २ मा प्रदर्शन हुँदैछ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्मको हाल सम्पादन कार्य भइरहेको छ ।