६५ वर्षदेखि दैनिक १ रुपैयाँ चन्दा लिएर पुस्तकालय चलाइरहेका भोलानाथ – Nepal Press

६५ वर्षदेखि दैनिक १ रुपैयाँ चन्दा लिएर पुस्तकालय चलाइरहेका भोलानाथ

काठमाडौं । बितेको ६५ वर्षको हिसाबकिताब राख्ने हो भने धेरैथोक बदलियो । घोडा, खच्चड, गधा र भरिया हिँड्ने बाटो ठूल्ठूला सडकमा परिणत भए । साँघुहरु पुल बने । चिठीबाट आइपुग्ने सूचना टेलिफोन हुँदै डिजिटल प्ल्याटर्फमबाट आउन थाले ।

मान्छेहरु गाउँबाट शहर छिरे । शहरबाट विदेश उडे । विदेश उडेकाहरु अधिकांशजसो देश फर्किएनन् । अनि घरहरु रित्तारित्ता भए । गाउँहरु सुनसान सुनसान भए । ढिकी-जाँतो बेकामका भए । घट्ट, कुलाहरु अर्थहीन बनेर गए । वृद्धवृद्धा, बालबालिकाका लागि गाउँ भए । पहुँचविहीनहरुका लागि गाउँ भए । कुनै समय झकिझकाउ हुने गरेका अधिकांश गाउँको नियति यस्तै छ ।

बितेको ६५ वर्षमा बदलिएको राजनीतिक घटनाक्रमबारे त सबैलाई थाहै छ । सबथोक दलिएर गए, तर यति धेरै लामो समयमा पनि पर्वत फलेबासको मोती सामुदायिक पुस्तकालय भने उस्तै छ । साढे ६ दशकदेखि ज्ञानको सुवास निरन्तर फैलाइरहेको छ । ६५ वर्षदेखि पुस्तकालयको ज्ञान बाँड्ने काम उस्तै नियमित छ ।

दुईचार दर्जन किताबबाट सुरु भएको पुस्तकालयले अचेल ३० हजार बढी किताबहरुमार्फत सुवास फैलाइरहेको छ । पढ्नलाई कविता, कथा, उपन्यास छ । पढ्नलाई संस्मरण, आत्मकथा छ । पढ्नलाई विचार, दर्शन, सिद्धान्त छ । राजनीति, समाज, अर्थ, इतिहास र भूगोल छ । पुस्तकालयमा के चाहिँ छैन ? ३० हजार पुस्तकबाट छानीछानी पढ्न पाइन्छ ।

घरको पिँढीमा सानो कोठा बनाएर भोलानाथ शर्माले बुवा मोतीप्रसाद शर्माको नाममा विसं २०१६ सालमा सुरु गरेको पुस्तकालय अहिले १९ कोठामा फैलिएको छ । पुस्तकालयले पुस्तकसँगै गड्यौंलापालन कसरी गर्नेदेखि सिलाइकटाइसम्मको तालिम दिन्छ । विभिन्न संघसंस्थासँग सहकार्य गरेर व्यवहारिक जीवनमा चाहिने विविधखाले तालिम पनि दिइरहन्छ ।

भोलानाथ सुनाउँछन्, ‘पुस्तकालय भनेको किताबको थैलोमात्रै होइन । समाज परिवर्तन गर्नुपर्ने सबै काम गर्छ यसले । पुस्तकालय किताबको ढड्डामात्रै नभएर ज्ञानको केन्द्र हो । यहाँ पढ्नेले पढ्छन् । काम गर्नेले गर्छन् । सीप सिक्नेले सीप सिक्छन् ।’

मोती पुस्तकालय सिंगो पर्वतको राजनीतिक, सामाजिक इतिहासको साक्षी हो । नेपालको शैक्षिक र प्रशासनिक क्षेत्रमा योगदान दिएकाहरु धेरै मान्छे यही पुस्तकालयको छत्रछायाँमा हुर्किएका हुन् । यही पुस्तकालयले दिएको ज्ञानको ज्योति बोकेर हिँडेकाहरु आआफ्नो क्षेत्रमा नक्षत्र बनेर उदाइरहेका छन् ।

यिनैमध्ये एक हुन्, पछिल्लो पुस्ताका सहसचिव प्रदीप परियार, जसले अधिकृत हुँदाहुँदै सहसचिवमा खुला प्रतिस्पर्धामार्फत नाम निकाले ।

घरको पिँढीमा पुस्तकालय

अहिले त २०१६ सालमा पुस्तकालय खोल्ने किशोर भोलानाथ ८३ वर्षका भए । पूर्वप्रशासक भोलानाथ नियमित पुस्तकालयकै श्रीवृद्धिका लागि खटिइरहेका छन् । उनको एकै चिन्ता छ, ‘मेरो शेषपछि मैले जसरी अरुले चलाउलान् कि नचलाउलान् कुन्नि !’

भोलानाथले २०१५ सालमा जुद्धोदय हाइस्कुलबाट एसएलसी पास गरे । एसएलसीअघि पर्वतकै भवानी विद्यापीठमा पढेका थिए । गाउँमै स्कुल खुलेपछि पढ्न पाए । यो विसंं २०१० सालको कुरा हो ।

त्यसवेला भोलानाथलाई पढाएका भारतको दरभंगाका भोला सिंह भन्ने शिक्षक अहिले पनि बिर्संदैनन् उनी । गाउँमा राजनीति गर्ने जयप्रसाद शर्माले ल्याएका ती शिक्षक यति तीक्ष्ण थिए कि गाउँ आएको तीन महिनामै नेपालीसम्म पढाउन सक्ने भए । अंग्रेजी, गणित र विज्ञानमा त उस्तै दक्ष थिए ।

गाउँमा स्कुल खोलिनुमा भोलानाथको ठूलो बुवाको हात थियो । ठूलो बुवाले त्यसवेला ५ हजार रुपैयाँ चन्दा दिएर स्कुल ठडिएको थियो । यही कारण भोलानाथकै ठूलो बुवाको नामबाट स्कुलको नाम बन्यो- भवानी विद्यापीठ ।

जयप्रसाद पछि वामपन्थी नेता निर्मल लामालगायतको समूहमा गए । वाकपटुता भएका जयप्रसादकहाँ कवि माधवप्रसाद घिमिरे, भीम दर्शन रोकालगायत आइरहन्थे । बालचन्द्र शर्मा त शिक्षामन्त्री भएपछि पनि जयप्रसादलाई भेट्न आउँथे । टंकप्रसाद आचार्य पनि आउँथे ।

भोलानाथ सुनाउँछन्, ‘जयप्रसाद दाइ हिन्दी उपन्यासहरु पनि पढ्नुहुन्थ्यो । उहाँ एकदमै वाकपटुता भएको मान्छे, मैले बीपी कोइरालामात्रै आएको देखिनँ ।’

भवानी विद्यापीठमा ३ कक्षामा भर्ना भएर ३ वर्ष पढे । परिवार अलिकति हुनेखाने भएकाले भोलानाथ काठमाडौं आए । यसपछि काठमाडौं आएर जुद्धोदय हाइस्कुलमा सीधै ८ कक्षामा भर्ना भए । काठमाडौंमा पूर्वराजा त्रिभुवनको राज्याभिषेक देखे । २०१५ सालको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहले भोट हालेको देखे ।

जयप्रसाद पत्रिकाहरु खुब पढ्थे । नवभारत टाइम्स र दिनमान भन्ने पत्रिका नियमित पढ्थे । पत्रिका लिन जाने काम चाहिँ शर्माको थियो । पटनाबाट प्लेनले ल्याएको पत्रिका नआउँदासम्म पुस्तकालयमा बस्यो, किताब पढ्यो । यतैकतै भोलानाथलाई पुस्तकालयको छाप अवचेतनमा परिसकेको थियो ।

सँगै उनको दिमागमा आयो, ‘ठूलाबाको नाममा त स्कुल भयो । मेरा बाका नाममा पनि पुस्तकालय खोल्न पाए हुन्थ्यो । पढ्न चाहनेहरुलाई पुस्तकालयमा गएर पढे कति राम्रो हुन्थ्यो ।’

विसं २००९ सालमा बितेका बाको सम्झना पनि हुने, ज्ञान पनि बाँडिने ! घर गएर दाइलाई भने, ‘मैले एसएलसी पास गरेको खुसियालीमा बुवाका नाममा पुस्तकालय खोलौं ।’

अनि किताबहरु खोजखाज पारेर २०१६ सालमा श्रीपञ्चमीको दिन मोती पुस्तकालय खोले । जयप्रसाद दाइले केही किताब दिए, जसमा हिन्दी उपन्यासहरुसमेत थिए । ‘धर्ती’, ‘प्रगति’ जस्ता बनारसबाट आउने हिन्दी पत्रिकाहरु थिए । राजनीतिक किताबहरु थिए । माओका किताबहरु पनि थिए ।

‘म हाम्रो पुस्तकालयको पहिलो लाइब्रेरियन पनि हो । पिँढीमा फलेकले बारेर, ढोका लगाएर पुस्तकालय बनाएका थियौं’, भोलानाथ सुनाउँछन् । पाठकहरु प्रायः विद्यार्थीहरु थिए । नेपाल राष्ट्रिय पुस्तकालयले बनाएको दर्ता किताबको नमुना लिएर गएका थिए । दर्ता किताबमा किताबको नाम, लेखकको नाम, प्रकाशित मिति, मूल्यलगायत जानकारी हुन्थे । पाठकले किताब लिएर गएको मिति र फिर्ता ल्याएको मिति हुन्थ्यो ।

पछि पूर्वराजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरे । अनि वामपन्थी किताबहरु भने लुकाउनुपर्ने दिन आयो । भोलानाथ सम्झिन्छन्, ‘त्यसरी नलुकाए पुस्तकालय नै बन्द गर्नुपर्ने अवस्था आयो ।’

जागिर खोसिएको समय पुस्तकालयलाई

भोलानाथ विसं २०२४ मा भूमिसुधार विभागमा अस्थायी शाखा अधिकृत बने । २०१६ देखि २०२४ सालसम्म ८ वर्षको अवधिमा भोलानाथले त्रिचन्द्र क्याम्पसबाट आईकम र बीकम गरिसकेका थिए । कलेज पढ्दाताकै २०१७ फागुन ७ मा कांग्रेस नेतृ शैलाजा अचार्यहरुले पञ्चायतको विरोधमा देखाएको ‘कालो सल’को प्रत्यक्षदर्शी पनि बने ।

पर्वतमा पुस्तकालय पनि चलिरहेकै थियो । भोलानाथको अनुपस्थितिमा कहिले उनको बहिनी लाइब्रेरियन बनिन् । कहिले शिक्षकहरुले स्वयंसेवक बनेर चलाइदिए ।

‘त्यसवेला शिक्षकहरु धेरै नै सिन्सियर थिए । अध्ययन पनि गर्थे । तर अहिलेका शिक्षकमा अध्ययन संस्कृति कम छ’, अहिलेका शिक्षकप्रति आक्रोश पोख्छन् भोलानाथ ।

दुई वर्षे करारका लागि जागिर खाएका भोलानाथले जागिर छाडेनन् । पाल्पा पोस्टिङ भएका उनी लमजुङ, चितवन, केन्द्र विभाग, सिरहा, नवलपरासी, दाङ, झापा गए । २०३९ सालमा स्थायी भए । अनि डोटी, फेरि झापा, सुनसरी, पाँचथर, कास्की गए । उपसचिव भएपछि सीडीओ बनेर मुस्ताङ गए ।

यता पर्वतमा पुस्तकालयको आकार फैलँदै थियो, ज्ञानको दायरा बढ्दै थियो । किताबहरु थपिँदै गएका थिए । भोलानाथ आफूले संकलन गरेका किताबहरु कहिले मान्छेहरुलाई पठाउँथे त कहिले आफैं लिएर जान्थे । यसवेलासम्म भोलानाथका दाजुभाइबीच अंशबन्डा भइसकेको थियो । पुस्तकालय जेठो दाइको घरमा सरेको थियो ।

२०४९ सालमा आएर भने भोलानाथको जागिर खुस्कियो । ३० वर्ष पुगेका सबैको जागिर खोस्ने, २० वर्ष पूरा भएकाहरुको पनि सरकारलाई आवश्यक नभएको खण्डमा जागिर खोस्ने नीति सरकारले ल्यायो । भोलानाथको पनि जागिर खोसियो । उनले मुद्दा लडे । तीन वर्षमा मुद्दा जिते ।

मुद्दा लड्दाको तीन वर्ष भोलानाथ गाउँ फर्किए । भोलानाथसँगै पुस्तकालयको रौनक पनि फर्कियो । पुस्तकालयको पुनर्जागरण सुरु भयो । भोलानाथका दाइ यज्ञप्रसाद शर्मा जिल्ला पञ्चायतका सदस्य थिए । दुर्गादत्त लम्साल प्रधानपञ्च थिए । जिल्ला पञ्चायतबाट ४०-४२ हजार पैसा ल्याएर पुस्तकालयको लागि टहरो बनाइएको थियो, तर पूरा भएको थिएन ।

उक्त टहरोलाई ‘म पूरा गर्छु’ भनेर भोलानाथ लागिपरे । नजिकका मान्छेसँग चन्दा लिन सुरु गरे, करिब एक लाख रुपैयाँ उठ्यो । उनले भैलो खेलाएर पनि १५ हजार जति जम्मा गरे । यो पैसाले पुस्तकालयको रंगरोगनदेखि फर्निचरसम्मको व्यवस्थापन भयो ।

किताब पनि ४-५ हजारको संख्यामा पुगिसकेको थियो । सँगै रिड भन्ने संस्थाले ९०० किताब दियो । यसपछि त पुस्तकालय पुस्तकालय जस्तो भयो । भोला पौडेललाई लाइब्रेरियनको रुपमा महिनाको ३ हजार तलब दिएर जागिरमा राखियो ।

अनि बन्यो पुस्तकालय भवन

भोलानाथ २०५८ सालमा रिटायर्ड भए । पुस्तकालय ४२ वर्षको भइसकेको थियो । ४२ वर्षे पुस्तकालयलाई अझै समृद्ध बनाउन उनले मोती सामूहिक संकलन नामक पत्रिका निकाले । सरकारी कर्मचारी भएको नाताले उनले ५ लाखको त विज्ञापनमात्रै संकलन गरेका थिए । पत्रिका १५ सय प्रति निकाले । सबै कपी बेचे ।

पुस्तकालयको पैसा पुगनपुग ९ लाख भयो । ९ लाखबाट ३ लाखमा एक रोपनी जग्गा लिए, पुस्तकालयको नाममा । पुस्तकालय सञ्चालक समितिको अध्यक्ष भोलानाथ नै थिए । रिड नेपाल नामक संस्थाले भीएचएफ टेलिफोनका लागि ९० हजार उपलब्ध गरायो । ‘त्यो वेला फोन यस्तो चल्यो कि राम्रो पैसा कमायौं’, भोलानाथ सुनाउँछन् ।

पुस्तकालयको भवन बनाउन भनेर रिड नेपालसँग पुस्तकालयले १३ लाखको सम्झौता गर्‍यो । शिक्षा मन्त्रालयले १५ लाख दियो । २८ लाख भएपछि भवन निर्माण सुरु भयो । पछि मन्त्रालयले वार्षिक १५ लाख दिने गरी ६० लाख दियो । यही पैसाले भवन निर्माण भयो ।

२०६९ सालमा भवनको उद्घाटन भयो ।

दैनिक १ रुपैयाँ योगदानले चलेको पुस्तकालय

अहिले पुस्तकालयमा ३५६ जना त आजीवन सदस्यमात्रै छन् । उनीहरुबाट प्रतिव्यक्ति २ हजार शुल्क लिइन्छ । दिनको १ रुपैयाँ मोती पुस्तकालयलाई भनेर अनुदान अभियान नै चलाइएको छ ।

‘गाउँको जसको बर्थडे आउँछ, उसले दिनको १ रुपैयाँको हिसाबले ३६५ हालिदिन्छन् । अहिले यो संख्या ३०० पुगेको छ’, भोलानाथ पुस्तकालयको आयस्रोतबारे भन्छन्, ‘कसैलाई त फोन गरेर पनि भन्छौं । अनि क्यूआर कोड पठाइदिन्छौं । अहिले त प्रतिष्ठाको कुरा जस्तो भएको छ यो अनुदान ।’

पुस्तकालयका पाँच वटा सटर छन्, त्यहाँबाट मासिक भाडा आउँछ । छतमा टेलिफोनको टावर छ, यसले महिनाको सात हजार भाडा दिन्छ । अढाई वर्षसम्म नगरपालिकाको भवन बस्यो, उसले महिनाको २६ हजार दिन्थ्यो । अहिले रेडियो पर्वतको भवन छ, महिनाको १० हजार भाडा उठ्छ ।

२०७९ सालको सरकारको तथ्यांकअनुसार नेपालमा ९२८ पुस्तकालय छन्, तर सञ्चालनमा रहेका चाहिँ ३२७ वटामात्रै छन् । यो संख्यामा पनि अधिकांश त विश्वविद्यालय र आंगिक क्याम्पसहरुका छन् । निजी तवरबाट नियमित सञ्चालित सीमित पुस्तकालयमध्ये एक हो- मोती सामुदायिक पुस्तकालय ।

यस पुस्तकालयले पर्वतमा मात्रै १७० वटा विद्यालयमा पुस्तकालय बनाइसक्यो । पुस्तकालय सञ्चालक समितिमा ८-९ जना अध्यक्ष भइसकेका छन् । वर्तमान अध्यक्ष कृष्णराज पौडेल छन् । तीन जना स्टाफ छन् ।

मोती पुस्तकालय महिला बचत तथा सहकारी भनेर पुस्तकालयले नै सहकारी पनि चलाइरहेको छ । यसको एकै उद्देश्य हो, मान्छेहरुलाई पुस्तकालय आउने बहाना त केही न केही चाहियो नि ! पुस्तकालयले विविध कार्यक्रमहरु चलाउँछ ।

थोत्रे दराज राखेर सुरु भएको पुस्तकालय अहिले संग्रहालय बनाउने योजनामा छ । पुस्तकालयले कहिले वृक्षरोपन गर्छ त कहिले जलवायु परिवर्तनबारे छलफल चलाउँछ । कहिले स्कुलमा विद्यार्थीहरुलाई तालिम दिन्छ त कहिले चित्रकलालगायतका कार्यक्रम चलाउँछ । कहिले सिलाइकटाइको तालिम दिन्छ त कहिले गड्यौंलापालनको ।

अहिले रिड नेपालसँग मिलेर व्यक्तित्व विकासका लागि ट्याग गर्ल भन्ने कार्यक्रम चलाइरहेको छ ।

‘किताब पढ्नुभएन भने दिमागले काम गर्दैन’

अनि पुस्तकालयमा पढ्ने मान्छेहरु आउँछन् त ?

भोलानाथ भन्छन्, ‘नपढ्नेले पढ्दैनन् । एक जनामात्रै किन नहोस्, पढ्न चाहनेलाई त चाहियो नि ! पढ्न चाहनेले पढ्ने ठाउँ र किताब पाउनुपर्‍यो नि !’

अहिले दिनको एक घण्टा कोर्सभन्दा बाहिरको किताब पढ्ने भनेर फलेबासका किशोरीहरुले प्रतिबद्धता नै व्यक्त गरेका छन् । दिनको एक घण्टा साताको सात घण्टा भयो । एक सातामा एउटा किताबमात्रै पढे भने महिनामा ४ र वर्षमा ५२ वटा किताब पढ्छन् ।

‘५२ वटा नपढेर वर्षमा २६ मात्रै पढे भने पुगेन त ! विश्वविद्यालयमा एमए गर्नेले यति किताब पढेका हुँदैनन्, अनि डबल एमए भएन त ?’, भोलानाथ सुनाउँछन्, ‘हामीले विद्यार्थीलाई महिनाको १०० बैंकमा बचत गर्नु भनेका छौं । म पनि महिनाको १०० बचत गर्छु । यसो हुँदा वर्षमा १ हजार २०० हुन्छ । अहिलेका १५-१६ वर्षका किशोरीहरुले ५० वर्षसम्म नियमित बचत गरे पनि ६५-६६ वर्षमा सावाँ, ब्याज गरेर कति धेरै पाउलान् त ? महिनाको १०० रुपैयाँ त गोलभेंडा बेचेर पनि आउँछ के रे !’

भोलानाथको अनुभवले भन्छ, कोर्सभन्दा बाहिरको किताब पढ्ने बानी बसाल्नु भनेको ज्ञान बढाउने बानी बसाल्नु हो । एक पटक फलेबासबाट काठमाडौं आउँदा बाटोमा पहिरोले केही समय बाटो छेकियो । यसपछि सबैजना चिया खानतिर लागे । भोलानाथ पढ्न बसे । उनी सुनाउँछन्, ‘मैले त ९० पेज पढेँछु । अमेरिका, जापानका मान्छेले रेलमा पढ्न हुने, अनि हामीले पढ्न नहुने ? पढ्नु भनेको मेडिटेसन हो ।’

उनी थप्छन्, ‘कोर्सभन्दा बाहिरको किताब नपढी दिमागले काम नै गर्दैन । डेमोक्रेसी कसरी असफल हुन्छ भनेर थाहा पाउन किताब पढ्नुपर्छ । अनि पो बल्ल अमेरिका र नेपालको तुलना गर्दै नेपाल कसरी असफल भयो भनेर तुलना गर्न सक्नुहुन्छ ! एउटा मान्छेले ४० वर्ष लगाएर प्राप्त गरेको अनुभव र ज्ञान तपाईं ४ घण्टामा पढेर सिध्याउनुहुन्छ । तपाईं भाग्यमानी हो नि !’


प्रतिक्रिया

One thought on “६५ वर्षदेखि दैनिक १ रुपैयाँ चन्दा लिएर पुस्तकालय चलाइरहेका भोलानाथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर