‘पूर्णबहादुरकाे सारङ्गी’का निर्माता र वितरकबीच विवाद, पौडेल भन्छन्- प्रदर्शन नरोकिए कानूनी प्रक्रियामा जान्छु
काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ लाई हलबाट उतार्ने विषयलाई लिएर निर्माता र वितरकबीच असमझदारी उत्पन्न भएको छ । भोलि सोमबारबाट कुनै पनि हलमा ‘पूर्णबहादुरको सारंगी’ नचलाउने निर्माताको घोषणालाई वितरकले अस्वीकार गरेका छन् ।
दक्षिण भारतीय चलचित्र पुष्पा २ रिलिज भएपछि देशभरका हलहरुले नेपाली चलचित्रलाई दिएका शोहरु अधिकांश काटेका थिए । दर्शकले अत्यधिक रुचाएको पूर्णबहादुरको सारंगी पनि न्यून शोमा खुम्चिएको छ । यसबाट असन्तुष्ट बन्दै निर्माण कम्पनी सेभेन सिजले हलबाट आफ्नो चलचित्र उतार्ने घोषणा गरेको थियो । तर, यो निर्णयका बाबजुद पनि सो चलचित्र हलहरुमा प्रदर्शन जारी रहने देखिएको छ ।
वितरकसँगको सम्झौतामा उल्लेखित शर्तका कारण निर्माण कम्पनीले चलचित्र उतार्न नसकेको हो । सम्झौता पत्रमा चलचित्र प्रदर्शन भएको दिनदेखि ६ महिनासम्म वितरण तथा प्रदर्शन अधिकार वितरकमा निहित हुने उल्लेख छ । समयावधि दुवै पक्षबीचको आपसी सहमतिमा थपघट गर्न सकिने पनि जनाइएको छ ।
‘पूर्णबहादुरको सारंगी’को एक वितरक कम्पनी टि–फोकका सञ्चालक प्रचण्डमान श्रेष्ठले एक पक्षको मात्रै निर्णयले चलचित्रको प्रदर्शन नरोकिने बताए । चलचित्रको प्रदर्शन रोक्नका लागि दुवै पक्षबीच छलफल हुनुपर्ने पहिलो सर्त भएको उनको भनाइ छ ।
श्रेष्ठले भने, ‘आपसी छलफल गरेर प्रदर्शन रोक्ने भन्ने हुन्छ होला । अनि हामीले हलवालाहरुसँग पनि छलफल गर्नुपर्यो होला । सम्झौतामा के छ भन्ने पनि हेर्नुपर्यो ।’
चलचित्र क्षेत्रलाई मर्यादित बनाउने जिम्मेवारी सबैको भएका कारण सबै पक्ष गम्भीर हुनुपर्ने उनी बताउँछन् ।
श्रेष्ठले थपे, ‘हामीले सम्झौतालाई टेकेर अप्ठ्यारोमा पारेको होइन । तर, दुवै पक्षलाई चित्त बुझेन भने हटाउने हो । एक पक्षको मात्रै निर्णय लागु हुन सक्दैन ।’
सेभेन सिजले चलचित्रको प्रदर्शन रोक्ने निर्णय गर्दै गर्दा आफूहरुसँग छलफल नभएकाले यस्तो जटिलता आएको उनले गुनासो गरे । यही विषयमा आज दुवै पक्ष छलफलमा बसेर निर्णय लिने श्रेष्ठले बताए ।
निर्माता विनोद पौडेल भने आफ्नो चलचित्रको प्रदर्शन जारी राखिएमा कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।
उनले नेपाल प्रेसलाई भने, ‘अब हामी कानूनी प्रक्रियामा जान्छौं । वितरकलाई वितरण गरेवापत् जम्मा पाँच प्रतिशत कमिसन दिएको हो । चलचित्रमा वितरकको एक रुपैयाँ पनि लगानी छैन । अनि हाम्रो चलचित्रको निर्णय गर्न हामीलाई नै नदिने ?’
विश्वासका आधारमा सम्झौता गरेका कारण बुँदाबुँदा नपढेको पौडेलले बताए । अहिले हल संचालक र वितरक मिलेर आफुहरुको अनुमतिविना चलचित्रलाई हलमा चलाइरहेको उनको आरोप छ ।
‘पुष्पा २ का कारण हलले हाम्रो चलचित्रलाई कर्नरिङ गरेको छ । यहाँ पो वितरकले हलसँग छलफल गरेर शोहरु मिलाउने होला । उहाँहरुले आफ्नो काम चाहीँ नगर्ने’, पौडेलले दुखेसो पोखे, ‘वितरकलाई किन शो कम भयो भनेर सोध्दा अकुपेन्सी छैन भन्छ । अकुपेन्सी नभएको चलचित्र किन हलमा लगाउनुहुन्छ त ?’
शुक्रबार र शनिबार दर्शक आउने समयमा चाहीँ हिन्दी चलचित्रलाई शो दिने, अनि मंगलबार, बुधबारजस्तो ५० प्रतिशत मात्रै कमाइ हुने दिनहरुमा नेपाली चलचित्रलाई शो दिनु एक खालको राजनीति नै भएको पौडेलले बताए ।
उनले भने, ‘अफिस टाइमका दिन, पचास प्रतिशत टिकट सस्तो भएको दिन केही शो दिएर नेपाली चलचित्रलाई माया गर्यौं भन्न त मिलेन नि ! यो त नेपाली चलचित्रलाई युज एण्ड थ्रो टाइपको भयो ।’
कानुनी अड्चनको विषयमा पौडेलले थप भने, ‘चलचित्रमा दुःख गरेर कमाएको पैसा हालेर चलचित्र बनाएको हो । तर, सम्झौतामा यत्रो ठूलो अधिकारको कुरा हाल्नुभएछ । मैले पनि चिनजानको मान्छे हो नि, ठिकै छ भनेर साइन गरिदिएँ । तर, अहिले आएर यस्तो अप्ठ्यारो पर्यो ।’
हिन्दी चलचित्र वितरक र हल मालिकले नै किनेर ल्याएका कारण आफूहरुलाई कर्नरिङ गरिएको पौडेलको भनाइ छ । उनले थप भने, ‘यो वितरक र हलवालाको दादागिरी हो, अरु केही होइन । हामी कानुनी उपचारमा जान्छौं ।’
गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले अहिलेसम्म ४७ करोड हाराहारीको व्यापार गरेको छ । चलचित्र ५० करोडको माइलस्टोनतर्फ अग्रसर हुँदै गर्दा वितरक र निर्माताबीच लफडा भएको हो ।