जित्न नजानेको लुम्बिनी, हार्न नमानेको जनकपुर
अन्तिम ओभरको टक्करमा हर्ष ठाकरले दिए लुम्बिनीलाई ठक्कर
काठमाडौं । जनकपुर बोल्ट्सविरुद्धको खेलमा जीतको संघारमा देखिएको लुम्बिनी अन्ततः एक रनको नमीठो हार स्वीकार्न बाध्य भएको छ । अन्तिम केही ओभरमा ब्याटरहरु सम्हालिन नसक्दा लुम्बिनी प्रतियोगितामा पहिलो जीतको अवसरबाट विमुख भयो ।
१३६ रनको मध्यम लक्ष्यसहित मैदानमा उत्रिएको लुम्बिनीले ओपनिङ ठीकठाक गरेको थियो । २२ रनमा पहिलो विकेट गुमाएपछि कप्तान रोहित पौडेल र अर्जुन साउदले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे । १० ओभरको खेल सकिँदा लुम्बिनीले २ विकेट गुमाएर ६४ रन बनाएका थियो । कप्तान रोहित र टम मुर्सले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे ।
कप्तान रोहितकुमार पौडेल क्रिजमा हुँदासम्म लुम्बिनी सहज जीतको बाटोमा देखिन्थ्यो । १५.३ ओभरमा २ विकेट गुमाएर १०५ रन जोडेको लुम्बिनीलाई जीतका लागि २७ बलमा ३२ रन आवश्यक थियो । टी-२० मा ब्याटिङ टीमका लागि यो सहज स्थिति हो । बेन कटिङ, सन्दीप जोरा, विवेक यादव, साद बिन जाफर जस्ता ब्याटरहरु क्रिजमा आउनै बाँकी थिए ।
तर जनकपुरले हार मानिरहेको थिएन । भारतीय मूलका क्यानेडियन स्पिनर हर्ष ठाकरले १५.४ ओभरमा रोहितलाई आउट गरेसँगै जनकपुरको सम्भावनाको ढोका उघ्रियो । अर्को ओभरमा शेर मल्लले ६ रनमात्र खर्चिए । १८औं ओभरमा ठाकर फेरि बल लिएर आए । पहिलो बलमा उनले क्रिजमा जमेका अर्का ब्याट्सम्यान टम मुर्सलाई आउट गरे । तेस्रो बलमा विवेक यादवलाई शिकार बनाए । दबाब कम गर्न ठूलो सट खेल्ने चक्करमा विवेक लङ अनमा समातिएका थिए । यो ओभरमा लुम्बिनीले ३ रनमात्र जोड्न सक्यो ।
खेल १९ ओभरमा पुग्दा लुम्बिनीलाई जीतका लागि २७ रन आवश्यक थियो भने हातमा ५ विकेट बाँकी थियो । किशोर महतो १९औं ओभर फ्याक्न आए । उनले दोस्रो बलमा बेन कटिङको ठूलो विकेट हात पारे, तर अन्तिम ३ बलमा सन्दीप जोराले एक छक्का र चौकासहित १२ रन बटुल्दै फेरि खेललाई सन्तुलनमा ल्याए । अन्तिम ओभरमा लुम्बिनीलाई चाहियो ९ रन ।
जनकपुरका कप्तान अनिल साहले धेरै सोचविचार नगरी अन्तिम ओभर हर्ष ठाकरलाई नै थमाए । ठाकरले पहिलो बलमै आफ्नै देशका अलराउन्डर साद विन जफर पनि शून्यमा आउट गरे । जफर पनि आक्रामक सट खेल्ने क्रममा विकेटकिपरको हातबाट क्याच आउट भए । नयाँ ब्याटर दुर्गेश गुप्ताले दोस्रो बलमा रिभर्स स्वीप गर्दै चौका निकाल्न सफल भए । खेल फेरि सन्तुलनमा फर्कियो । लुम्बिनीलाई जीतका लागि ४ बलमा ५ रन आवश्यक पर्यो ।
दुर्गेशले तेस्रो बलमा पनि रिभर्स स्वीप गर्न खोज्दा बिट भए । अर्को बलमा एक रन लिएर स्ट्राइक सन्दीपलाई दिए । लुम्बिनीलाई अन्तिम २ बलमा ४ रन चाहियो । पाँचौं बलमा सन्दीपले दुई रन चोर्न सफल भए । जनकपुरका फिल्डरको कमजोरीले उनी रनआउट हुनबाट जोगिएका थिए । अन्तिम बलमा चाहियो २ रन । सन्दीपले लेग साइडमा ठूलो हिट लगाए, तर बल फिल्डरको हातमा पुग्यो । जनकपुरको क्याम्पमा खुशीयाली छायो । लुम्बिनी स्तब्ध बन्यो ।
स्पिनर परिवर्तनले लुम्बिनीको खेल फेरियो, भाग्य फेरिएन
लगातार ३ खेलमा हार व्यहोरेको लुम्बिनीले यो खेलमा ३ परिवर्तन गरेको थियो । ओपनर उन्मुक्त चन्द, सूर्य तामाङ र दिनेश अधिकारीलाई बेन्चमा राख्दै लुम्बिनीले आशुतोष घिरैया, बेव कटिङ र अभिशेष गौतमलाई अवसर दियो । स्पिनर सूर्य लगातार विकेटविहीन हुँदा लुम्बिनीले स्पिनरको रुपमा अभिशेषलाई भित्र्याएको थियो । उनले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरे ।
जनकपुरलाई १३६ रनमा रोक्न अभिशेषले महत्वपुर्ण ३ विकेट लिए । उनले एकै ओभरमा तीन विकेट लिँदै लुम्बिनीलाई खेलमा फर्काएका थिए । जसले अन्य स्पिनरलाई पनि बल पुग्यो । लुम्बिनीका फास्ट बलर विकेटविहीन हुँदा स्पिनर हावी बने । साद विन जफर र कप्तान रोहितले दुई-दुई र सन्दीप जोराले एक विकेट लिए ।
पहिलो पटक प्रतियोगितामा लुम्बिनीको बलिङ चलेको थियो, तर अन्तिम नतिजामा फेरि पनि निराशा नै हात पर्यो ।
लुम्बिनी लगातार चौथो हार स्वीकार्न बाध्य भएपछि प्लेअफको सम्भावना कठिन बनेको छ । अर्कोतर्फ जनकपुरले लगातार चौथो जीत दर्ता गर्दै प्लेअफको दावेदारी बलियो बनाएको छ ।