रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले गुहार्यो मानवअधिकार आयोग – Nepal Press

रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले गुहार्यो मानवअधिकार आयोग

सरकारले लामिछानेको मानवअधिकार हनन हुने खालका व्यवहार गरिरहेको आरोप

काठमाडौं । सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन उसले राष्ट्रिय तथा अन्तर्राष्ट्रि समूदायसमक्ष अपिलसमेत गरेको छ ।

रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा निवेदन दिएका हुन् । निवेदनमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्नुपर्ने माग राखिएको छ ।

राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षार्थ सम्मानित आयोगबाट सक्रिय कदम चाल्न रास्वपाले आग्रह गरेको छ ।

‘प्रहरी अनुसन्धानका लागि भनि लगिएको उहाँलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ ।

रास्वपाले राज्य संयन्त्रद्वारा नियोजित रुपमा सञ्चारमाध्यमहरुको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेको गुनासो गरेको छ । अनुसन्धानको क्रममा रहेका विषयका गोप्य कागजातहरु गैरकानुनी रुपमा मिडियालाई उपलब्ध गराएर आमजनतालाई दिग्रभ्रमित बनाउने कार्यमा प्रहरी प्रशासन लगायत राज्यका निकाय सक्रिय रहिआएको पार्टीको आरोप छ ।

‘लोकप्रिय नेता सांसद रवि लामिछानेको मानहानी, गोपनीयताको हननका साथै चरित्र हत्या गर्ने कार्य भइरहेको छ । यसरी न्यायिक प्रक्रियालाई प्रभाविक पार्न राज्यसंयन्त्र एक सार्वजनिक व्यक्तित्व विरुद्ध नियोजित रुपमा परिचालन गरिएको प्रष्ट छ,’ पत्रमा भनिएको छ ।
चितवनबाट अमानवीय ढंगले पोखरा स्थानान्तरा गरिएको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।

पत्रमा भनिएको छ, ‘मिति २०८१ मंसिर १९ गते दिनभर चितवनस्थित जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराइएको थियो । उहाँलाई मिति २०८१ मंसिर २० गतेबिहान ११।०० बजे हवाईजहाजबाट कास्कीस्थित जिल्ला प्रहरी कार्यालय लागिने बताइएको थियो । तर मिति २०८१ मंसिर १९ गते नै सुतिरहेको बेलामा अचानक राति ११।०० बजे उठाई सभापति लामिछानेलाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको थियो । उक्त घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएका छन् । सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजन तथा गैरन्यायिक चाल हो । राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ ।’

यसैगरि, लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले गुहार्यो मानवअधिकार आयोग

  1. संसदीय मर्यादा र कानुनको अधिकार क्षेत्रमा प्रश्न गर्न सक्छ यो पार्टीले ? राज्यको कानुन बमोजिम पक्राउ पुर्जी जारी गर्दा अदालतले अमानवीय काम गरेको भन्न सक्छ ? छानविन गर्दा याताना दिएको भन्न सक्छ ? के छन् यो समूहसँग अमानवीय व्यवहार गरेको भनेर पुष्टि गर्न सक्ने कुरा देखाउन र भन्न सक्छ भने सार्वजनिक गरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर