दोस्रो टेस्टमा अष्ट्रेलियासँग १० विकेटले हार्यो भारत
काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा १० विकेटको हार व्यहोरेको छ । अष्ट्रेलियाले चौथो इनिङमा जितका लागि पाएको १९ रनको झिनो लक्ष्य बिनाविकेट क्षति ३.२ ओभरमा पुरा गरेको हो ।
एडिलेडमा भएको टेस्टका दुवै इनिङमा भारतको ब्याटिङ चल्न सकेन । टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १८० रनमा अलआउट भएको थियो । अष्ट्रेलियाका मिचेल स्टार्क एक्लैले ५ विकेट लिएपछि भारतको ब्याटिङ धराशायी बनेको हो ।
जवाफी ब्याटिङमा अष्ट्रेलियाले ३३७ रन बनाउँदै विशाल अग्रता लिन सफल भयो । अष्ट्रेलियाका मध्य क्रमका ब्याट्सम्यान ट्राभिस हेडले भारतीय बलरहरूको उछितो काढ्दै शानदार शतकीय पारी खेलेका थिए । उनले १४१ बलमा १४० रन बनाएपछि भारतले कमब्याकको मौका पाएन ।
दोस्रो इनिङमा पनि भारतीय ब्याट्सम्यानले कुनै चमत्कार देखाउन सकेनन् । १७५ रनमा भारत अलआउट भएपछि अष्ट्रेलियाले १९ रनको झिनो लक्ष्य पाएको हो । चौथो इनिङमा अष्ट्रेलियाको जितको औपचारिकता मात्रै बाँकी थियो ।
भारतका दुई दिग्गज ब्याट्सम्यान विराट कोहली र रोहित शर्माको ब्याट चलेन । पहिलो इनिङमा विराट ७ रन र रोहित ३ रनमा आउट भएका थिए । दोस्रोमा पनि उनीहरूले दोहोरो अंकमा रन बटुल्न सकेनन् । तल्लो क्रमका ब्याट्सम्यान नितिस कुमार रेड्डीले दुवै इनिङमा भारतका लागि उच्च योगफल बनाए । उनले दुवै इनिङमा समान ४२ रन जोडेका थिए ।