दुई करोडको डिलमा आएका धवन १३६ रन जोडेर फर्किँदै, फ्रेन्चाइज कति सन्तुष्ट ? – Nepal Press

दुई करोडको डिलमा आएका धवन १३६ रन जोडेर फर्किँदै, फ्रेन्चाइज कति सन्तुष्ट ?

कर्णालीका मालिक भन्छन्– आँकडा मात्र नहेरौं, एनपीएलको अन्तर्राष्ट्रिय ब्रान्डिङमा सहयोग पुगेको छ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का चारवटा म्याच खेलेर भारतीय ब्याट्सम्यान शिखर धवन आज फर्किँदै छन् । कर्णाली याक्ससँग उनले कम्तीमा चार र बढीमा पाँच म्याच खेल्ने गरी सम्झौता गरेका थिए ।

एनपीएलको पहिलो संस्करणमा जोडिएका सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय क्रिकेटर थिए धवन । हुन त न्यूजिल्यान्डका मार्टिन गुप्टिल र न्यूजिल्यान्डका जिम्मी निसम पनि अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त खेलाडी हुन् । तर, नेपालमा बढी परिचित भएको हिसाबले धवनको आगमनले ठूलो चर्चा पाएको थियो ।

धवनसहितको कर्णालीले लिग चरणमा खेलेका चार खेलमध्ये दुईमा जित निकालेको छ भने दुई हार व्यहोरेको छ । एनपीएलका सबैभन्दा महंगा खेलाडीले अपेक्षाकृत प्रदर्शन भने गर्न सकेनन् । उनले चार खेलमा कुल १३६ रन बनाए, जसमा एउटा अर्धशतक सामेल छ । धवनको औसत ४५.३३ र स्ट्राइक रेट १२२.५२ रह्यो ।

धवनले कुनै पनि म्याचमा बलरमाथि हाबी भएर खेल्न सकेनन् । जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा धवन १४ बलमा १४ रन बनाएर आउट भएका थिए । सस्तोमा आउट भएपछि उनले पीचलाई दोष दिए । पीच ब्याटिङका लागि अनुकूल नरहेको धवनको भनाइ थियो ।

दोस्रो खेलमा उनले राम्रो ब्याटिङ गरे, तर टिमलाई जित दिलाउन सकेनन् । काठमाण्डु गुर्खाजविरुद्ध धवनले ५१ बलमा ७१ रन हाने, जसमा ५ छक्का र ४ चौका सामेल थिए । तर, उनको यो योगदान टिमको जितका लागि पर्याप्त भएन । कर्णालीले दिएको १४९ रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा भेट्टायो ।

चितवन राइनोजविरुद्धको तेस्रो खेलमा पनि धवन राम्रो लयमा देखिए । उनले ४१ बलमा ४५ रन बनाउँदै १३१ रनको सामान्य लक्ष्य पछ्याउन सहयोग गरे । कर्णालीले पहिलो जित दर्ता गर्‍यो ।

चौथो खेलमा धवन चलेनन्, तर कर्णालीले जित्यो । पहिलो ब्याटिङ गर्दै कर्णालीले १३३ रनको कमजोर योगफल बनाएको थियो । शिखर धवनको ब्याटबाट पाँच रन मात्रै निस्कियो । तर, बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई ७ रनको रोमाञ्चक जित दिलाए ।

यस म्याचसँगै एनपीएलको पहिलो संस्करणमा धवनको यात्रा समाप्त भएको छ । उनी आजै भारत फर्किने छन् । फ्रेन्चाइजका मालिक ग्रिहेन्द्र घिमिरेले अहिले उनलाई एभरेस्ट बेसक्यान लिएर गएका छन् । बेलुकी पाँच बजेको फ्लाइटमा धवन भारत उड्नेछन् ।

धवनलाई फ्रेन्चाइजमा जोड्ने कर्णाली याक्सको निकै साहसिक निर्णय थियो । उनलाई नेपाल ल्याउनका लागि टिमले २ करोड रुपैयाँ खर्च गरेको छ, जुन कुनै पनि एनपीएल फ्रेन्चाइजका लागि ठूलो रकम हो । धवनले प्रत्येक खेलका लागि ३० हजार डलर लिने गरी सम्झौता गरेका थिए । एक पर्सनल एसिसेटेन्ट सहित आएका धवनकाे सबै व्यवस्थापकीय खर्चहरू समेत जोड्दा दुई करोड रुपैयाँ जति पुग्ने फ्रेन्चाइज मालिक घिमिरे बताउँछन् ।

धवनको प्रदर्शनले पक्कै पनि उनले लिएको चर्को मूल्यलाई न्याय गर्न सकेन । यस हिसाबले फ्रेन्चाइज सन्तुष्ट हुने ठाउँ छैन । तर, उनको आगमनलाई रन संख्यासँग मात्र जोड्न नहुने बताउँछन् घिमिरे । धवनजस्तो खेलाडी एनपीएलमा आबद्ध हुनु नै उपलब्धि भएको उनको भनाइ छ ।

नेपाल प्रेससँग कुरा गर्दै घिमिरेले भने, ‘धवनले कति रन हान्नुभयो भन्ने हिसाबले मात्रै हामीले हेरेका छैनौँ । तर, उहाँ नेपाल आउँदा फ्रेन्चाइजलाई भन्दा पनि एनपीएललाई र समग्र नेपाली क्रिकेटलाई फाइदा भएको छ । एनपीएलको अन्तर्राष्ट्रिय ब्रान्डिङमा सहयोग पुगेको छ । नेपाली खेलाडीहरुले उहाँबाट धेरै सिक्ने माैका पाएका छन् ।’

धवन स्वयम्ले पनि नेपालमा अविस्मरणीय अनुभूति संगाले । उनलाई नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत भएको थियो भने मैदानमा पनि समर्थकहरूले निकै माया देखाएका थिए । नेपाली समर्थकहरूबाट पाएको प्रेम र स्नेहले उनी पुलकित छन् ।

धवनलाई उद्धृत गर्दै घिमिरे भन्छन्, ‘मलाई नेपालको क्रिकेट यो स्तरमा पुगेको होला भन्ने आँकलन थिएन । नेपालमा मलाई यति धेरैले चिन्छन् भन्ने लागेको थिएन ।’

धवनलाई एनपीएलमा फेरि देख्न पाइएला कि नपाइएला भन्ने चासो पनि क्रिकेट समर्थकमा छ । धवनले यो विषयमा कुनै वाचा गरेका छैनन् । तर, आफ्नो नेपाल बसाइ सुखद बनेको र भविष्यमा नेपाली क्रिकेटलाई सहयोग गर्ने बताएका छन् । भारत र अन्यत्रका राम्रा खेलाडीहरूलाई एनपीएलमा जोड्न आफूले पहल गर्न सक्ने पनि उनको आश्वासन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *