नन्दनको त्यो ओभर, जसले कर्णालीलाई जीततर्फ दोहोर्यायो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्स जीततर्फ लम्किँदै थियो । १३४ रनको लक्ष्यका साथ मैदान उत्रिएको विराटनगरले १७ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १०४ रन जोडेको थियो । क्रिजमा सेट ब्याटर थिए निकोलस किर्टोन र दीपक बोहरा । निकोलस ३७ बलमा ३६ र दीपक १३ बलमा १८ रन बनाएर खेलिरहेका थिए । ६० रनमा ५ विकेट गुमाएको विराटनगरलाई निकोलस र दीपकले १०४ रनसम्म पुर्याउँदै जीतको बाटो कोर्दै थिए ।
विराटनगरलाई जीतका लागि १८ बलमा ३० रन आवश्यक थियो । जुन टी-२० क्रिकेटमा सहज मानिन्छ । विराटनगरको हातमा ५ विकेट बाँकी थियो । १८औं ओभरको रूपमा कर्णालीले नन्दन यादवलाई बलिङमा ल्यायो । क्रिजमा सेट भएको ब्याटर दीपक थिए ।
१८औं ओभरको पहिलो बलमै दीपक नन्दनको बलमा बोल्ड आउट हुन पुगे । नन्दनले फालेको बल दीपकको ब्याटले छुन नसक्दा सीधै स्टम्पमा लाग्न पुग्यो र निकोलससँगको लामो साझेदारी तोडिन पुग्यो ।
दीपकपछि विराटनगरका प्रतिश जिसी क्रिजमा आए । १८औं ओभरको दोस्रो बलमा एक रन लिँदै प्रतिशले निकोलसलाई क्रिज सुम्पिए । तेस्रो बलमा निकोलसले बललाई दिशा परिवर्तन गर्दै अफसाइडमा चौका प्रहार गरे, तर चौथो बलमा नन्दन सेट ब्याटर निकोलसलाई बोल्ड आउट गर्न सफल भए । निकोलसले ब्याट उठाए पनि बल टर्न हुँदै स्टम्पमा लाग्न पुग्यो ।
त्यसपछि भने खेल एकाएक कर्णालीको पक्षमा पल्टियो । अब विराटनगरमा ठूलो ब्याटर थिएनन् । १९औं ओभरमा कर्णालीका कप्तान सोमपाल कामीले ६ रन दिँदै एक विकेट लिए । उनले क्रिस सोललाई आउट गरे ।
१८औं ओभरमा मोमेन्टम आफ्नो पक्षमा पारेका नन्दनलाई कप्तान सोमपालले अन्तिम ओभरको जिम्मा सुम्पिए । अन्तिम ओभरमा विराटनगरलाई जीतका लागि १५ रन आवश्यक थियो, तर नन्दनले ७ रनमात्रै खर्चिंदै टीमलाई ७ रनको जीत दिलाए ।
अन्तिम ओभरको पहिलो बलमा एक, दोस्रो र तेस्रो बलमा २-२ रन खर्चिंदा चौथो बल डट राख्न सफल भए नन्दन । पाँचौं र छैटौं बलमा एकएक रन दिँदै नन्दनले कर्णालीलाई दोस्रो जीततर्फ दोहोर्याए ।
कर्णालीको ब्याटिङमा देव र विलियम ‘नायक’
सुरुवाती दुई खेल गुमाएको कर्णालीलाई यो खेलमा जीत अति नै आवश्यक थियो । यो खेलमा पराजित भएमा कर्णालीको प्लेअफ खेल्ने सम्भावना कठिन बन्दै जान्थ्यो । त्यसका बाबजुद पनि कर्णालीले ब्याटिङमा खासै सुरुवात गर्न सकेन । ८ रन जोड्दा कर्णालीले ओपनर शिखर धवनलाई गुमाएको थियो । थप १ रन जोड्दा चाडविक वाल्टनलाई दोस्रो विकेटको रूपमा गुमाउन पुग्यो ।
सुरुमा धरमराएको कर्णालीको ब्याटिङलाई ओपनर देव खनाल र विलियम बोसिस्टाले उकासे । देव र विलियमले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । दुवैले अर्धशतक प्रहार गरे । देव ५३ र विलियम ६६ रनमा आउट भए ।
एक समय ठूलो स्कोरतर्फ प्रेरित भएको कर्णालीको मिडल अर्डर र तल्लो अर्डरमा ब्याटिङ हुन नसक्दा १३३ रनमै समेटिन पुग्यो । कर्णालीका ४ खेलाडी शून्य रनमा आउट भए ।
अन्तिम ओभरमा विराटनगरका प्रतिश जिसीले एक रनआउटसहित ४ विकेट लिए । गुल्शन झा, अर्जुन घर्ती, जिसन मक्सुद, सोमपाल कामी जस्ता खेलाडी चल्न नसक्दा कर्णाली लोस्कोरमा रोकिएको थियो, तर बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीले विराटनगरमाथि ७ रनको जीत दर्ता गर्यो ।
४ खेलमा २ जीत निकालेको कर्णालीको प्लेअफ सम्भावना सहज बन्दै जाँदा ४ खेलमा एकमा जीत निकालेको विराटनगरको सम्भावना कठिन बन्दै गएको छ ।