सहकारी समाजवादको आधारशीला हो: सांसद सापकोटा
सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले सहकारी समाजवादको आधारशीला भएको बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका– २ स्थित ब्रम्हायणी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभामा बोल्दै सांसद सापकोटाले सहकारी संस्थाको भूमिकालाई उच्च मूल्यांकन गरेका हुन् ।
उनले कतिपय सहकारी संस्थाहरूले आर्थिक अनियमितता गरेका घटनाहरूको स्मरण गर्दै ब्रम्हायणी साना किसान सहकारीले किसान र कृषिलाई प्राथमिकता दिँदै आएकोमा खुसी व्यक्त गरे ।
उनले भने, ‘सुकुटे पर्यटकीय क्षेत्रसँग नजिक यहाँ उत्पादन भएको वस्तुको बजारीकरण गर्न सहज छ, सहकारीले किसानलाई बलियो बनाउन अझ प्रभावकारी भूमिका खेल्न सक्छ ।’
सांसद सापकोटाले संसदमा किसान र सर्वसाधारण जनताको आवाज निरन्तर उठाइरहेको र आगामी दिनमा पनि उठाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत वडा नं २ लाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बलेफी गाउँपालिका कार्य क्षेत्र रहेको सहकारीका कार्यबाहक अध्यक्ष पदमबहादुर भण्डारी, सचिव कृष्ण पौडेल, लेखापरीक्षण समितिका संयोजक राजेन्द्रकुमार भण्डारी, कोषाध्यक्ष राजकुमार भण्डारीलगायतले फरक फरक प्रतिवेदन पेश गरेका थिए ।