वन, जग्गा प्राप्ति र रुख कटानीका कारण जलविद्युत परियोजनाको निर्माणमा समस्या: इप्पान अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की वन, जग्गा प्राप्ति, रुख कटानी जस्ता विषयका कारण पनि निर्माण कार्यमा समस्या भइरहेको बताएका छन् । जलविद्युत परियोजनाको निर्माण कार्यमा पनि यस्तो समस्या देखिएको उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा शनिबार गरेको ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
परियोजनाको निर्माण सुरु हुनुभन्दा पहिला नै वन, जग्गा प्राप्ति, रुख कटानी जस्ता विषयमा आउने समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष कार्कीले परियोजना निर्माणसम्बन्धी पूर्वतयारी सम्पूर्ण रुपमा सम्पन्न गरेर मात्रै निर्माण सुरु गर्नुपर्ने बताए ।
‘सरकारले सन् २०३५ भित्र साढे २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमा निजी क्षेत्रले पनि सहयोग गर्नेछ । विद्युत निर्यात गर्ने लक्ष्य लिइएको छ । तसर्थ यसमा लगानी प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ’, उनले भने, ‘त्यसको निर्माणका लागि स्वदेशी निर्माण व्यवसायीहरुलाई नै प्रोत्साहन गर्नुपर्छ ।’