निराशाको खेती गर्नेहरुबाट समाजमा अराजकता बढ्यो: महासचिव पोखरेल
रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा निराशाको खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेको बताएका छन् ।
पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको बताउँदै अब त्यसको लागि ठूला राजनीतिक दलबाटै स्थिरताको खोजी भएको बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नंं १९ को प्रशासनिक भवनको उदघाटन गर्दै उनले विगतभन्दा वर्तमानमा धेरै उपलब्धि प्राप्त भएको र देश बलियो बनाउन बलियो शक्ति आवश्यक रहेको बताए ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताए ।
उनले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको जानकारी दिए ।
मेयर खड्काले वडाको प्रशासनिक कार्यालयसम्म आउने सडक कालोपत्रे सुरु गरिने प्रतिबद्धता छिट्टै पूरा गरिने जनाए ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं १९ तोप्पापानीमा २०७४ सालमै शिलान्यास भए पनि निर्माण कार्य अधुरो थियो । वडाध्यक्ष प्रेमनाथ योगीले घोराही आँखा अस्पताल र बिजौरी छिल्लीकोट सडक खण्डकै नजिकमा सबै वडावासीको मध्यविन्दुमा वडा कार्यालय भवन निर्माण गरिएको जनाए ।