सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन्: अध्यक्ष सिंह (भिडिओ) – Nepal Press

सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन्: अध्यक्ष सिंह (भिडिओ)

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यवृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको गुनासो गरेका छन् । सरकारले भुक्तानी दिन नसकेको अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरु थप अन्यायमा परेको उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा शनिबार आयोजना गरेको ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।

उनले सिमेन्टको मूल्यवृद्धिको विषयमा सरकारले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए ।

‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढेको छ । यसले निर्माण व्यवसायीहरु अन्यायमा परेका छन्’, उनले भने, ‘यसमा सरकारको ध्यान जान आवश्यक छ ।’

अध्यक्ष सिंहले निर्माण व्यवसायीको बाँकी भुक्तानी तत्काल निकासा हुनुपर्ने माग गरे । यसमा अर्थ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

निर्माण व्यवसायीले तिर्नुपर्ने ऋणको सावाँ र व्याज तिर्ने अवधि पनि थप गर्नुपर्ने माग गर्दै उनले भने, ‘राष्ट्र बैंकले ऋणको साँवा र व्याज तिर्ने अवधि मंसिर मसान्तसम्म थप गरेको थियो, तर अहिलेसम्म हामीले भुक्तानी पाउन सकेका छैनौं । त्यो अवस्थामा मंसिरभित्र ऋण तिर्ने अवस्था छैन । सरकारले भुक्तानी तत्काल गर्ने संकेत गरेको छैन । राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामा यस विषयमा कुनै उल्लेख गरेको छैन । त्यो अवस्थामा मंसिरभित्र हामीले ऋण तिर्नुपर्ने दबाब छ । यसमा सरकारको ध्यान दिनुपर्छ ।’

मंसिरभित्रै ऋण तिर्न नसकेमा निर्माण व्यवसायीहरु कालोसूचीमा पर्नेछ । त्यसपछि निर्माण व्यवसायीले काम गर्न नसक्ने र समग्र निर्माण कार्य प्रभावित हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *