निर्माण व्यवसायीको भुक्तानी एक हप्ताभित्र हुन्छ: अर्थमन्त्री पौडेल (भिडिओ) – Nepal Press

निर्माण व्यवसायीको भुक्तानी एक हप्ताभित्र हुन्छ: अर्थमन्त्री पौडेल (भिडिओ)

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौं रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुको दाबी छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा शनिबार आयोजना गरेको ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले एक साताभित्र निर्माण व्यवसायीको भुक्तानी फर्छ्योट हुने बताएका हुन् ।

‘आज शनिबार भइहाल्यो । तपाईंहरुको भुक्तानी बाँकी कुन कुन मन्त्रालय र निकायमा छ, भोलि (आइतबार) जानुस्, भोलि नै भुुक्तानी हुनेछ । भोलि भएन भने पर्सि त भुक्तानी हुनेछ । ढिलोमा पनि एक सातामा भुक्तानी हुनेछ । त्यसरी पनि भुक्तानी पाउनुभएन भने मकहाँ आउनुस्, त्यसपछि बसेर छलफल गरी उचित निकास निकाल्नेछौं’, उनले भने, ‘तर बक्यौता कति हो भन्नेमा अन्योल छ । मेरो तथ्यांक एउटा छ । तपाईंहरुले भन्ने गरेको बक्यौता रकम फरक छ । बक्यौता कहाँ कति हो, निर्क्योल गर्नुस् । भुक्तानीको समस्या हुँदैन ।’

अर्थमन्त्री पौडैलले निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने बताए । निर्माण व्यवसायीले ऋण तिर्नुपर्ने म्याद यही मंसिर मसान्तसम्म रहेको छ ।

सरकार र निर्माण व्यवसायीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने उनले बताए ।

‘हामीले एक-अर्कालाई दोष दिएर समस्या समाधान हुँदैन । सरकार र निर्माण व्यवसायीको सम्बन्ध राम्रो हुनुपर्छ । हामी नदीका दुई किनारा होइनौं । हामी एउटै ढुंगामा अघि बढ्नुपर्छ’, उनले भने, ‘यहाँहरु आफूलाई सरकार भनेर बझ्नुस् । हामी आफूलाई व्यवसायी भनेर सम्झन्छौं । अनि समस्या समाधान हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *