कमजोर बलिङले समस्यामा परेको लुम्बिनी, प्लेअफ यात्रा कठिन बन्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स लगातार तेस्रो खेलमा हार व्यहोर्ने पहिलो टोली बनेको छ । अक्सनमा भाग्यमानी बनेको लुम्बिनीले सुरुका ३ वटै खेल गुमाउन पुग्यो ।
पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेट र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो ।
पहिलो खेलमा १९२ रनको विशाल लक्ष्य दिएको लुम्बिनीले अन्तिम ओभरमा रन रोक्न नसक्दा खेल गुमाउनुपर्यो । अन्तिम ओभरमा १५ रन निकाल्दै विराटनगरले जीत दर्ता गराएको थियो ।
दोस्रो खेलमा कप्तान रोहित पौडेल चम्किँदा लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो, तर बलिङ नचल्दा लुम्बिनीले १० विकेटले खेल पोखरालाई सुम्पिनुपर्यो । तेस्रो खेलमा पनि लुम्बिनीको बलिङ सम्झनालायक रहेन । निर्धारित २० ओभरमा लुम्बिनीले सुदूरपश्चिमको ४ विकेटमात्र झार्न सक्यो ।
खड्कियो अनुभवी बलरको अभाव
लुम्बिनीले ३ खेलमा मात्र १२ विकेट लिएको छ । विराटनगरविरुद्ध ८ र सुदूरपश्चिमविरुद्ध विकेट लिएको लुम्बिनी पोखराविरुद्ध विकेटविहीन रह्यो । रामोन सिमण्ड्सले ४, दुर्गेश गुप्ताले ३, विवेक यादवले २, साद विन जाफरले २ र कप्तान रोहितले एक विकेट लिएका छन् । लुम्बिनीलाई अनुभवी बलरको अभाव खड्किएको देख्न सकिन्छ । मुख्य बलरले विकेट निकाल्न नसक्दा लुम्बिनी जीत नजिक पुगेर पनि हार व्यहोरिरहेको छ ।
सूर्य तामाङ मुख्य स्पिनर र दुर्गेश तीव्र गतिका मुख्य बलरको रूपमा खेलाएको छ । खासै अनुभव नभएका दुवै बलिङमा जम्न सकेका छैनन् । बायाँ हाते स्पिनर ३ वटै खेलमा विकेटविहीन हुँदा दुर्गेशले एक खेलमा मात्रै विकेट लिएका छन् । ३ खेलमा १० ओभर ५ बल बलिङ गरेका सूर्यले विकेटविहीन हुँदै ९३ रन खर्चिएका छन् ।
तीव्र गतिका बलर दुर्गेशले ९ ओभरमा ८८ रन खर्चेर ३ विकेट लिएका छन् । उनले विराटनगर किंग्सविरुद्ध ३ विकेट लिएका हुन् । घरेलु क्रिकेट राम्रो प्रदर्शन गरेका सूर्य र दुर्गेश एनपीएलमा भने जम्न सकेका छैनन् ।
दुर्गेशलाई सघाइरहेका वेस्ट इन्डिजका रामोन सिमण्ड्स र नेपालका विवेक यादवसँग पनि खासै बलिङको अनुभव छैन । २३ वर्षीय रामोनले वेस्ट इन्डिजको यू-१९ टोलीबाट खेलेका थिए । विराटनगर र सुदूरपश्चिमविरुद्ध २-२ विकेट लिएका उनी पोखराविरुद्ध भने विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ४ विकेट लिएर ८५ रन खर्चेका छन् ।
विवेक पनि खासै जम्न सकेका छैनन् । ७ ओभर ५ बल बलिङ गरेका विवेकले २ विकेट लिएर ११२ रन खर्चिएका छन् ।
स्पिनतर्फ सूर्यलाई क्यानडाका साद विन र कप्तान रोहितले साथ दिइराखेका छन् । सादले पनि विकेट निकाल्न सकेका छैनन् । उनले ३ खेलमध्ये एक खेलमा २ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका सादले ८९ रन खर्चेर २ विकेट लिएका छन् ।
बलिङ नचल्दा पार्टटाइम बलिङ गर्ने रोहितले नियमित बलिङ गरिरहेका छन् । उनले पोखराविरुद्ध ३ ओभर र सुदूरपश्चिमविरुद्ध ४ ओभर बलिङ गरेका थिए । ७ ओभर बलिङ गरेका उनले ४५ रन खर्चेर एक विकेट लिएका छन् ।
पहिलो ३ खेल गुमाएसँगै लुम्बिनीलाई प्लेअफमा पुग्ने सम्भावना कठिन बन्दै गएको छ ।