अनेरास्ववियुद्वारा ‘थिंक ट्यांक’ संरचना निर्माण, संयोजकमा प्रकाश विष्ट तोकिए
काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले नेपाली विद्यार्थी संगठनकै इतिहासमा सम्भवतः पहिलोपटक थिंक ट्यांकको संरचना निर्माण गरेको छ ।
अनेरास्ववियुको सचिवालय बैठकले थिंक ट्यांकका लागि छुट्टै संरचनाको आवश्यकता महसुस गरी संरचना निर्माण गरिएकोबारे बिहीबार सर्कुलर जारी गरेकाे थियाे । उक्त संरचनाको संयोजकमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय सम्बन्धमा एमफील अध्ययनरत प्रकाश विष्टलाई तोकेको छ ।
उक्त संरचनाले विभिन्न किसिमका नीतिको अध्ययन र अनुसन्धान गर्ने, भएका नीतिहरुका कमीकमजोरी औंल्याइ सम्बोधन गर्नलाई सहजीकरणका निम्ति सहयोग गर्ने संयोजक विष्टले बताए ।
विदेशमा पनि यस किसिमका संरचना हुने गरेका र नेपालमा नीतिका विषयमा स्पष्टताको अभाव तथा बहस र पैरवी कमी देखिएकाले अनेरास्ववियुले संरचना निर्माण गर्ने निर्णय गरेकाे र यस कदम आगामी दिनमा फलदायी हुने आफूहरुले विश्वास लिएको केन्द्रीय अध्यक्ष समिक बडालले जानकारी दिए ।
संयोजककाे जिम्मेवारी पाएका विष्टले संरचनालाई सञ्चालन गर्न आवश्यक सदस्यहरुको चयन गर्नेृछन् ।
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमफील अध्ययन गरिरहेका विष्टले प्रथम सेमेस्टरमा टीयु टप गरेका थिए । त्यस्तै, उनीसँग सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव पनि रहेको छ ।