पाेखरा एभेन्जर्सकाे सन्देश : कमजोर नआँक्नु !
लुम्बिनीविरुद्धकाे एकै म्याचमा पोखराले बनायो अनेक रेकर्ड


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरुवाती दुई खेलमा कमजोर प्रदर्शन गर्दै लगातार हार व्यहोरेको पोखरा एभेन्जर्सले तेस्रो खेलमा दमदार कमब्याक गरेको छ । आज लुम्बिनी लायन्सलाई १० विकेटको लज्जास्पद हार चखाउँदै पोखराले आफूलाई कमजोर नआँक्न अन्य टिमहरुलाई सन्देश दियो ।
पोखरा आफ्नो पहिलो खेलमा जनकपुरसँग सात विकेट र दोस्रोमा चितवनसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो । चितवनसँगको खेलमा ७४ रनमै अलआउट हुँदा पोखरालाई प्रतियोगिताकै कमजोर टिमका रुपमा समेत हेर्न थालियो । तर, तेस्रो खेलमा भने टिमले आफ्नो वास्तविक शक्तिप्रदर्शन गर्न सफल भएको छ ।
लुम्बिनीजस्तो बलियो टिमसँग हासिल गरेको दवदवापूर्ण जितले पोखरा एभेन्जर्सको मनोबल ह्वात्तै उकासिएको छ । लुम्बिनीले दिएको १७१ रनको कठिन लक्ष्यलाई पोखराका दुई ओपनरले एकै गाँसमा निलिदिए । एनपीएलमा पहिलोपटक १० विकेटको जितको कीर्तिमान पोखराले कायम गरेको छ । यससँगै अरु कीर्तिमानहरु पनि बनेका छन् ।
पोखराका ओपनर एन्ड्र्यू गोउसले प्रतियोगिताको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर र पहिलो शतक समेत बनाए । लुम्बिनीको बलिङलाई धुजाधुजा बनाउँदै उनले ५५ बलमा १०४ रनको शानदार इनिङ खेले, जसमा ५ छक्का र १२ चौका समावेश थिए ।
उनको शतकीय पारीले लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ ओझेलमा पर्यो । दुवै ओपनर शून्यमा आउट भएर दवावमा परेको पोखरालाई उकास्दै पौडेलले ५९ बलमा ९५ रन बनाएका थिए । तर, उनको योगदान टीमलाई जित दिलाउन पर्याप्त भएन ।
गोउसले प्रतियोगिताको सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान पनि राखे । उनले २० बलमा अर्धशतक बनाएका थिए । यसअघि सर्वाधिक छिटो अर्धशतकको रेकर्ड सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीको नाममा थियो । उनले विराटनगरविरुद्ध २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।
प्रतियोगितामा कुनै पनि विकेटका लागि सबैभन्दा लामो साझेदारीको कीर्तिमान पनि पोखरा एभेन्जर्सले राखेको छ । पोखराका ओपनर जोडीले आज गरेको १७६ रनको साझेदारी प्रतियोगिताकै उच्च हो । यसअघि जनपुरका लहिरु मिलान्था र हर्ष ठाकरबीच तेस्रो विकेटका लागि भएको ११६ रनको साझेदारी तोडिएको छ ।
दुवै ओपनरले ५० भन्दा बढीको स्कोर बनाएको एनपीएलमा पहिलोपटक हो । गोउसलाई अर्का ओपनर दिनेश खरेलले बलियो साथ दिए । कप्तान कुशल भुर्तेलले आफूलाई तेस्रो स्थानमा झारेर युवा खेलाडीलाई ओपनरको जिम्मेवारी सुम्पिएका छन् । यसअघि दुई खेलमा असफल हुँदा उनको क्षमतामाथि प्रश्न उठेको थियो । तर, आज उनले आफूलाई प्रमाणित गरे ।
राष्ट्रिय स्तरमा समेत खासै परिचित नरहेका खरेलले आफ्नो क्षमताको उजागर गरिदिएका छन् । उनी सहयोगी भूमिकामा मात्र सिमित रहेनन्, आफूले पनि आक्रामक सटहरु प्रहार गरे । ४६ बलमा ६१ रन हानेका उनले ५ छक्का र चार चौका प्रहार गरेका थिए । जितका लागि एक रन चाहिएको अवस्थामा छक्का प्रहार गर्दै खरेलले समर्थकहरुलाई अतिरिक्त खुशी दिएका थिए ।
आजको प्रदर्शनपछि पोखरा एभेन्जर्ससँग अन्य टीमहरु सतर्क रहनेछन् । पोखराले अब ४ वटा म्याच खेल्न बाँकी छ । प्लेअफको दावेदारी बनाउनका लागि बाँकी सबै खेलमा उसले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । दुई म्याचमा फ्लप भएका कप्तान कुशल भुर्तेलले पनि आफ्नो लय फर्काउन अत्यावश्यक छ ।