सीको प्रतिबद्धता सम्झिँदै झलनाथको सम्बोधन- नेपाल र चीनबीच रेल सेवा सञ्चालनको तीव्र प्रतीक्षामा छौं
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले चीनले आधुनिक विज्ञान र प्रविधिमा आधारित नवप्रवर्तनलाई निरन्तरको सुधार र खुलापनको केन्द्रमा राखेको बताएका छन् ।
चीनको ग्वाङ्झाउमा आयोजित अन्डरस्टान्डिङ चाइना कन्फरेन्सको आठौं श्रृंखलाको प्लेनरि सेसनमा बोल्दै चीनले शिक्षा, दिगो विकास र प्राविधिक प्रगतिलाई अघि बढाएर चीनले नवप्रवर्तनमा आफूलाई विश्वको सर्वोत्कृष्ट मुलुकको रूपमा आफ्नो स्थिति सुदृढ गदै लगेको बताए ।
उनले भने, ‘चीनको सुधार र आधुनिकीकरणको मार्ग केवल आर्थिक सूचकांकहरूका बारे मात्र केन्द्रीत छैन, यो त भविष्यमा आउन सक्ने यावत् चुनौतीहरूलाई सामना गर्न सक्ने सन्तुलित र समावेशी समाज सिर्जना गर्ने मार्ग पनि हो। खुलापन र सुधारलाई अँगालेर चीन विश्वलाई योगदान दिन सक्ने मुलुकको रूपमा अगाडि बढिरहेको छ । चीनले अन्य सझेदार मुलयकहरुसँगको व्यापार, लगानी, र सहयोगका लागि विशाल अवसरहरू समेत प्रस्ताव गरिरहेको छ । जसले गर्दा प्रगतिका लाभहरू चिनियाँ जनतासँग र विश्वभरका जनतासँग व्यापक रूपमा बाँड्दै विश्वभरका जनताहरूको साझा भविष्यको सुनिश्चितताको दिशातर्फ अगाडि बढिरहेको छ ।’
उनले बीआरआईले मात्र १० वर्षको अवधिमा १५० भन्दा बढी देशहरूसँग ३००० भन्दा बढी सम्झौताहरू गरेको भन्दै एक ट्रिलियन डलर भन्दा बढी लगानीमार्फत विभिन्न देशहरू र क्षेत्रहरुको विश्वव्यापी आर्थिक एकीकरणलाई प्रवर्द्धन गरिरहेको बताए ।
उनले भने, ‘चीनको यो बढ्दो विश्वव्यापी प्रभावले पश्चिमी साम्राज्यवादी शक्तिहरूको चौतर्फी शोषणमा आधारित प्रभुत्वलाई चुनौती दिइरहेको छ । चीनको यस्ता वैश्विक पहलकदमीले विभिन्न मुलुकहरूलाई आफ्नो आवश्यकता र क्षमताका आधारमा स्वतन्त्र ढङ्गले आफ्नै मौलिक विकास मार्गहरु निर्माण गर्न बलियो आधार समेत निर्माण गरेको छ। साथै, चीनको यो पहलकदमीले ग्लोबल साउथलाई सुदृढ बनाउन, विकास र विस्तार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’
चीनको नेतृत्वमा अगाडि बढेको नयाँ विकास बैंक, एशियन पूर्वाधार लगानी बैंक, साङ्घाई सहयोग संगठन र बीआरआई जस्ता संगठनहरूले ग्लोबल साउथलाई व्यापक रूपमा सुदृढ गरिरहेको बताए ।
उनले सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका प्रतिबद्धताहरूलाई स्मरण गरे ।
उनले भने, ‘सीले भ्रमणका क्रममा भन्नुभएको थियो अब चीन र नेपालको विचमा ट्रान्स–हिमालयन कनेक्टिविटी निर्माण गर्नु पर्दछ, ट्रान्स–रेलवे कनेक्टिविटी विकास गर्नु पर्दछ र नेपाललाई एक भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकको रूपमा रूपान्तरण गर्नु पर्दछ। राष्ट्रपति सि जिङपिङको यो एउटा दुरगामी, गहिरो र महत्वपूर्ण प्रतिबद्धता थियोे। यदि नेपाल र चीनबीच रेल सेवा सुचारु गर्न सकियो भने, यी दुई विशाल जनसंख्या भएका क्षेत्रहरू बीचको आपसी कनेक्टिविटीमा गुणात्मक विकास ल्याउने र विकासको पहलकदमिले विश्व अर्थतन्त्रमा समेत महत्वपूर्ण प्रभाव पार्ने कुरामा कुनै शंका छैन। तसर्थ, हामी समस्त नेपालीहरू यो विराट सम्भावना कहिले यथार्थमा परिणत हुन्छ भनेर तिव्र प्रतीक्षा गरिरहेका छौँ ।’
राम्रो,अत्यन्त सन्तुलित।