सानो गौचरण रंगशालाको अनुगमनमा उपप्रमुख डंगोल, कम गुणस्तरको बालुवा भेटिएपछि प्रयोगमा रोक – Nepal Press

सानो गौचरण रंगशालाको अनुगमनमा उपप्रमुख डंगोल, कम गुणस्तरको बालुवा भेटिएपछि प्रयोगमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमन कार्यलाई तीव्रता दिँदै आएको छ । उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमन कार्यलाई तीव्र बनाएको हो ।

पछिल्लो समय नियमित जसो अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले बिहीबार पनि नियमित अनुगमनकै क्रममा पुनर्निर्माण भैरहेको सानो गौचरण स्टेडियमको अनुगमन गरेको छ ।

करिब एक हप्ता अघि मात्रै शिलान्यास गरेर पुनर्निर्माण भैरहेको स्टेडियमको अनुगमन गर्न उपप्रमुख डंगोल आज सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित सानो गौचरण पुग्दा त्यहाँ काम धमाधम भइरहेको थियो ।

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको र बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको गरिरहेको सो स्थानमा डंगोलसहितको अनुगमन टोली पुग्दा कतै गिटी–बालुवाका पहाड थिए भने कतै फलामहरु असरल्ल थिए । कामदारहरु काममा व्यस्त देखिन्थे ।

२०८२ चैत मसान्तासम्म सम्पन्न गर्ने गरी काम धमाधम भैरहेको निर्माणस्थलमा पूर्व जानकारी विना नै डंगोलसहितको अनुगमन टोली त्यहाँ पुग्दा केहीबेर अन्योल छाएको थियो ।

प्राविधिकसहितको टोली लिएर डंगोल त्यहाँ पुगेपछि त्यहाँका राखिएका बालुवा, गिटी, रड सबैको अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा त्यहाँ राखिएको बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डंगोलले तत्कालै निर्देशन दिँदै ढलान कार्यमा रोक लगाएकी थिइन् । अन्य सामग्रहीहरुको भने ल्याब टेष्ट गर्न पठाइएको थियो ।

‘२८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् रहेको यो स्टेडियम १ हजार ५ सय दर्शक क्षमताको छ’, डंगोलले भनिन्, ‘यो विशेष महत्वको संरचना पनि हो । त्यसैले हामीले यहाँ विशेष महत्व दिएर अनुगमन गरेका हौँ ।’

डंगोलले पछिल्लो समय महानगरपालिकाले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई नियमित गर्दै आएको भन्दै सानो गौचरणको अनुगमन पनि नियमित भएको जानकारी दिइन् ।

‘हामी अनुगमनमा पूर्व जानकारी विना नै जाने गरेका छौँ । आज पनि हामी पूर्वजानकारी विना नै त्यहाँ पुगेका थियौँ । प्राविधिक टीमसहित त्यहाँ पुगेर अनुगमन गर्दा कम गुणस्तरको बालुवा राखेको पायौँ । अनुगमनपछि त्यो बालुवा प्रयोग गरेर ढलान गर्न रोक लगाएका छौँ’, उनले भनिन्, ‘अन्य सामाग्री हामीले ल्याव टेष्टका लागि पठाएका छौँ ।’

उनले अनुगमनको काम परियोजनाहरु सम्पन्न भएपछि मात्रै होइन परियोजनाहरु सुरु हुँदै गर्दा पनि गर्नुपर्छ र त्यसले गुणस्तरीय संरचना निर्माणमा सहयोग पुग्छ भनेर निर्माण पूर्व पनि अनुगमन नियमित गर्दै आएको जानकारी पनि दिइन् ।

‘सानो गौचरणको नमूना मात्रै हो । हामीले अरु ठाउँमा पनि अनुगमनलाई नियमित गर्दै आएको हौँ । सानो गौचरण अझ महत्वपूर्ण भएकाले त्यहाँ पनि गएका हौँ’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर