राष्ट्र बैंक चार अर्ब ३७ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको चार अर्ब ३७ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।
केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा तीन अर्ब ४९ करोड ६० लाख, ‘ख’ वर्गका बैंकले ६५ करोड ५५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड ८५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।
बैंकले यही मंसिर २३ गते साँझ ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने लगायत शर्त राखिएको छ ।
खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन । कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुने जनाएको छ ।