नेपाली चियामा चिनियाँ चासो, प्रविधि र उद्योग प्रवर्द्धनका लागि सीप बाँडिदै
झाङजाउ (चीन) । नेपालको चिया प्रविधि र चिया उद्योग प्रवर्द्धनलाई लक्षित गर्दै बिहीबारदेखि यहाँ तालिम सुरू भएको छ ।
चीनको बाणिज्य मन्त्रालयको आर्थिक सहयोगमा फुजिआन प्रान्तको झाङझाउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले तालिमको आयोजना गरेको हो ।
तालिममा चिया उत्पादक किसान, उद्योगी, सञ्चारकर्मी, चिया-कफीको बजारीकरणमा काम गरिरहेका समेत ३४ जनाको सहभागिता छ । अधिकांश इलामका रहेका छन् ।
२० दिनसम्म चल्ने तालिममा हजारौं वर्ष पुरानो चिनियाँ चिया संस्कृति, चियाको प्रविधि, औद्योगीकरण, बजारीकरण जस्ता विषयमा ज्ञान र सीप आदानप्रदान गरिने छ ।
यस तालिमबाट नेपालको चिया गुणस्तरमा सुधार, आधुनिक प्रविधिको प्रयोग र अन्तर्राष्ट्रियकरणमा टेवा पुग्ने विश्वास रहेको आयोजकले जनाएका छन् ।
तालिममा सिकेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गरी गुणस्तरीय चिया उत्पादनसँगै चीनमा बजारीकरणको लागि चिनियाँ कम्पनीसँग जोडिन मद्दत नेपाल-चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिका प्रतिनिधि रोनिष शाक्यले बताएका छन् ।
अहिले नेपाली चिया भारतीय बजारमा निर्भर छ । व्यवसायीले नयाँ बजारको खोजी गरिरहँदा चीनको यो कदमले चियाको अन्तर्राष्ट्रियकरणमा टेवा पुग्ने सहभागी आशावादी देखिएका छन् ।
सहभागीलाई यहाँका प्रख्यात चिया बगान, युनान चिया संग्रहालयलगायतको क्षेत्र अवलोकन गराइने छ ।