पुष्पा २ : फाेगट कथामा भद्दा सिक्वेल
दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द रुल’ आजबाट विश्वव्यापी रुपमा प्रदर्शन भयो । चलचित्रले एडभान्स बुकिङदेखि बक्स अफिस कलेक्सनसम्म रेकर्ड नै रेकर्ड राखेको छ । विश्वव्यापी रुपमा पौने तीन सय करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको यस चलचित्रले अग्रिम बुकिङमा ‘बाहुबली २’ र ‘केजीएफ २’ को रेकर्डलाई समेत तोड्यो ।
‘पुष्पा २’ यस वर्षकै बहुप्रतिक्षित चलचित्र बन्नुको मुख्य कारण हो पहिलो सिक्वेल’को क्रेज । तीन वर्षअघि प्रदर्शन भएको ‘पुष्पा’ले दर्शकको अत्यधिक माया पाएको थियो । बक्स अफिसमा ब्लकबस्टर सावित पनि भएको थियो । यो चलचित्र सफल हुनुको मुख्य कारण थियो, यसको विषयवस्तु । भुइँबाट उठेर एउटा आर्थिक उचाइ प्राप्त गरेको पुष्पाराजको संघर्षले धेरैलाई छोएको थियो ।
एउटा आम मान्छे, त्यसमा पनि बाउको थर नपाएको सामान्य युवाले गरेको संघर्षलाई दर्शकले आफूसँग जोडेर हेरे । ती युवाले प्राप्त गरेको आर्थिक सफलता अहिलेको पूँजीवादी युगमा हरेक मान्छेको सपना हो । सँगै पुष्पाराजको भूमिका निभाएका अल्लु अर्जुनको स्टाइल, डाइलग डेलिभरीले पनि दर्शकलाई प्रभावित तुल्यायो ।
पैसाका लागि पुष्पाराजले गरेको रक्तचन्दनको गैरकानूनी धन्दा र यसमा आउने अप्ठ्याराहरु अनि पुष्पाराजको उदय नै ‘पुष्पा’ फिल्मको केन्द्रीय विषयवस्तु थियो । पुष्पाराजलाई दर्शकले मन पराउनुमा यही विषयवस्तुभित्र आइपुग्ने पात्रहरु श्रीवल्ली, एसपी भवरसिंह शेखावत, मंगलम श्रीनु, केशव, एमपी नायडु लगायतको भूमिका पनि अहम् थियो । पुष्पाराजको बाल्यकाल, संघर्ष र अनि सफलता (आर्थिक) लाई दर्शकले रुचाएका कारण ‘पुष्पा २’ बहुप्रतिक्षित बनेको थियो ।
तर, ‘पुष्पा २’ ले भने दर्शकलाई निराश बनाएको छ । ठूलो अपेक्षा बोकेर हलसम्म पुगेका दर्शकहरु दिक्क मानेर फर्किनेछन् ।
फिल्मको पहिलो कमजोरी नै अनावश्यक तन्काइएको कथा र अपत्यारिलो पटकथा हो । रक्त चन्दनको पैसा उठाउन कन्टेनरभित्र ४० दिन बसेर जापान पुगेका पुष्पाराजको इन्ट्री फाइटबाट हुन्छ । ४० दिनसम्म कन्टेनरमा थुनिएको व्यक्ति जिउँदो मात्र निस्किँदैन, कन्टेनरभित्रको अँध्यारोमै उसले जापानिज भाषा सिकिसकेको हुन्छ ।
अविश्वसनीय तरिकाले कथा भन्नु दक्षिण भारतीय चलचित्रको विशेषता नै हो । दक्षिण भारतीय चलचित्रमा गाडी उड्नु, हिरोले सयौं गुण्डाहरु चुट्नु, धमकेदार तोडफोड हुनु नौलो कुरा होइन । अधिकांश व्यवसायिक दक्षिण भारतीय चलचित्र ‘लार्जर द्यान लाइफ’ हुन्छन् । तर, जति नै ‘लार्जर द्यान लाइफ’ भए पनि दृश्यहरु त तर्कसंगत हुनुपर्यो नि ! बन्द अनि अँध्यारो कन्टेनरभित्र ४० दिनसम्म थुनिएको हिरो सद्दे निस्किनुको तर्कसंगत जवाफ चाहिएन ?
त्यसपछि पनि कथा उही छ । रक्तचन्दनको तस्करहरुको नाइके छ पुष्पाराज । अनि पुष्पाको राजलाई साइको प्रहरी अफिसर शेखावतले रोक्न खोज्छ । यहाँ इगोको लडाइँ हुन्छ । पुष्पाराजलाई शेखावतले रोक्न सक्छ त ? ‘पुष्पा २’को केन्द्रीय कथा यही हो ।
चलचित्रका पुष्पाराज स्मग्लर भएका कारण मुख्यमन्त्रीले ऊसँग फोटो खिचाउन मान्दैन । पुष्पाराजले श्रीवल्ली (रश्मिका मन्दना)लाई फोटो खिचाउने वचन दिएको हुन्छ । अनि त के ? ५०० करोडको जुगाड गरेर पुष्पाराजले सरकार नै बदलिदिन्छ, नायडु मुख्य मन्त्री बन्छ ।
‘पुष्पा २’को कथा यहीँ टुंगिदैन । पुष्पाको दाइ (जसले पुष्पालाई बाउको थर दिन मान्दैन)को छोरीलाई गुण्डाले उठाउँछ । गुण्डा चाहिँ नायडुलाई मुख्यमन्त्री बनाउने पार्टीको माथिल्लो तहको नेताको भतिजा हुन्छ । पुष्पाराज हेलिकोप्टरमा बहिनी बचाउन जान्छ । कथाको सार यस्तै नै हो ।
यहाँ मुख्य समस्या भनेको तेस्रो सिक्वेलको लोभमा अनावश्यक कथा तन्काइनु हो । पुष्पाको अघिल्लो श्रंखलामा कहीँकतै सम्बन्ध नभएका पात्रलाई ल्याएर, भिलेन बनाएर, पुष्पाराजसँग फाइट खेलाएर तेस्रो सिक्वेलको ढोका खोल्न खोजिएको छ । पुष्पाराजकी बहिनी अपहरण गर्ने पात्रको ग्याङ र पुष्पाराजबीच जात्रामा बिनासित्ती फाइट खेलाइएको छ, जसको कुनै तुक छैन । दर्शकले सिठ्ठी बजाओस् भन्ने लोभमा खिचिएका यस्ता दृश्य वकबास छन् ।
यस्ता दृश्य राखिनुको पछाडि दृश्य ब्राण्ड भएपछि जे देखाए पनि चल्छ भन्ने निर्देशक सुकुमारको मानसिकता बाहेक अर्थोक केही होइन । र यही मनोविज्ञानले प्रेरित भएर झण्डै साढे तीन घण्टासम्म कथा तन्काइनु दर्शकमाथिको अत्याचार हो ।
हिरोले स्टाइल देखाएर, कडा आवाजमा डाइलगहरु बोलेर, शानदार फाइट खेलाएर मात्रै चलचित्र राम्रो बन्दैन । कथा जति अविश्वासनीय भए पनि विश्वासनीय तरीकाले भन्न जान्नु पर्दछ । ‘पुष्पा २’ यहाँनेर नराम्ररी चुकेको छ ।
अल्लु अर्जुनको अभिनय सदावहार छ, उस्तो नयाँपन केही छैन । रश्मिका मन्दनाको भूमिका लामो नभए पनि अभिनय गज्जबको छ । अफिसर शेखावत (फहाद फसिल) को अभिनय पहिलो श्रंखलामा जति भव्य थियो, दास्रोमा त्यस्तो दमदार छैन । शेखावतको अभिनय एकदमै फितलो छ ।
चलचित्रको मुख्य कमजोरी भनेकै पुष्पाराजमाथि मात्रै चलचित्र अत्यधिक केन्द्रित हुनु हो । अन्य पात्रहरु निर्माणमा राम्रोसँग मिहेनत नगरिँदा चलचित्र कमजोर बनेको छ । अघिल्लो सिक्वेलमा पो पुष्पाराज सामान्य मजदुरबाट तस्करहरुको नेता बन्दासम्मको यात्रा भएकाले दर्शकले रुचाए । ‘पुष्पा २’मा त पुष्पाराजको कुनै यात्रा नै छैन, यउताउता गरेर समय व्यतित गरिएको मात्रै छ ।
एन्टागोनिस्ट जति बलियो भयो, प्रोटागोनिस्ट उत्ति नै प्रभावकारी भएर जाने हो । तर, ‘पुष्पा २’मा प्रोटागोनिस्टमाथि कथा बढी केन्द्रित छ । पटकथालाई अनावश्यक रुपमा बहकाउँदा, तेस्रो सिक्वेलको लोभ गर्दा चलचित्र अपेक्षित बन्न सकेन । चलचित्र खल्लो र औसतभन्दा कमजोर बनेको छ ।
चलचित्रको सम्पादन र सिनेम्याटोग्राफी प्रशंसालायक छ । चलचित्रका नृत्यहरुको कोरियोग्राफी पनि गज्जब छ । दर्शकलाई मजा आउने भनेको चाहिँ पुष्पाराजले आफ्नो थर पाउँछ ।
अघिल्लो सिक्वेलमा ‘झुकेगा नही’ भन्दा जति मजा आउँथ्यो, त्यति मजा ‘पुष्पा २’मा आउँदैन । खासमा ‘पुष्पा २’मा पुष्पाराजको कुनै संघर्ष नै छैन । धुमधडका फाइट, नृत्य, डाइलगले मात्रै चलचित्र राम्रो बन्न सक्दैन । कमजोर पटकथाको जगमा निर्माण भएको ‘पुष्पा २’ ले विष्फोटक ओपनिङ गरे पनि बक्स अफिसमा लामो यात्रा गर्नेमा सन्देह छ ।
के गर्नु नेपाली जत्ति राम्रो फिल्म बनाए पनि जति नेपाली फिल्मको माग भए पनि नेपाली हल वालाहरु बिदेशी फिल्म लाई व्हात्तै शो दिन्छन् फिल्म राम्रो होस कि झुर होस!
न.का. राइ ज्यूलाइ मनपर्ने त निद्रा लाग्ने मौलिक कथानक डकुमेन्टरी चलचित्र “जारी” मात्रै हो। उहाको नजरमा कल्पनाशिल भएर नया कथा बुन्नु अपराध हो। हलिउडका सम्पूर्ण मार्बल सिनेमा, एभटार, स्टार वार, टरमिनेटर जस्ता फिल्म बेकार हुन् वहांको दृष्टीकोणमा ।
भनेपछि अहिले हल्ला उडाइएको फिल्म हलिउड भन्दा राम्रो हो र?जारी फिल्म मैले हेरेको थिएँमलाइ त उत्कृष्ट लाग्यो।आफ आफ्नो हेराइ
होला नेपाल बिभिद रीतिरिवाज ले भरिएको देश हो।तिनै रिवाज मध्येको एउटा रिवाजको कथा एक्दम मनोरन्जक ढंगले देखाइएको छ।
मौलिक मौलिक कथा- चलचित्र उत्कृष्ठ ठान्ने, अरू कल्पनाशिल कथामा आधारित फिल्मलाइ हेयको नजरले हेर्ने लेख्ने काम न.का.राई ले गर्नुहुन्छ, त्यसैले वहाको पनि आलोचना गरिनु पर्छ।