भ्रष्टाचार अभियोगमा धनगढीमाई नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर – Nepal Press

भ्रष्टाचार अभियोगमा धनगढीमाई नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरेरकै रकम निकासा गरेको भन्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालिन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालिन जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टिपर्पोज प्राली मैतीदेवी काठमाडौं तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधवप्रसाद गौतम बिरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

उनीहरु पाँचै जनाविरुद्ध छुट्टाछुट्टै ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो दाबी जरिवाना तथा कैद सजायको माग सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदको लागि नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधि स्थानीय पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरेरगराएको पाइएको छ ।

यस्तै ३२ प्रकारका औषधिमध्ये १७ प्रकारका औषधि उल्लिखित दररेट भन्दा बढी मूल्यमा खरिद गरेको रकम ३ लाख ४६ हजार ३२० र ५ प्रकारका औषधि पत्रिकामा प्रकाशित औषधिको मूल्यसूची भन्दा बाहिरको औषधिहरु १ लाख १४ हजार ४९० रहेको थियो । दुबै गरेर ४ लाख ६० हजार ८१० रुपैयाँ नेपाल सरकार र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर