प्रधानमन्त्री ओलीको चार दिने चीन भ्रमण- के लेखे चिनियाँ मिडियाले ?
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/12/china-media-oli-visit.jpg)
काठमाडौं । फिलिप एल. ग्रह्यामको पत्रकारिताबारेमा एक चर्चित भनाइ छ- ‘पत्रकारिता इतिहासको एक खेस्रा दस्ताबेज हो ।’
आज चीन भ्रमणको मैझारो गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र नेपालबारेमा लेखिएका चिनियाँ सञ्चारमाध्यमहरूका सामाग्री पनि ग्रह्यामले भने जस्तै नेपाल चीन सम्बन्धको एक इतिहासका खेस्रा दस्ताबेज नै हुन् ।
चिनियाँहरूले कुन कोणबाट सोचे ? कुन कोणबाट लेखे ? भन्ने कुरा समाचारहरूले बोल्छन् । यो सामाग्रीमा चिनियाँ मिडियामा आएको प्रधानमन्त्री ओलीको भ्रमणका केहि समाचारहरूको चर्चा गरिएको छ ।
डिसेम्बर २ मा चिनियाँ अखबार ग्लोबल टाइम्सले प्रधानमन्त्री ओलीको भ्रमणको समाचार बनाउँदै भारत भन्दा पहिले चीन गएर परम्परा तोडेको शीर्षक बनायो ।
समाचारमा चिनियाँ उद्यमीहरूले नेपाल लगानीमा आकर्षक चिनियाँ छिमेकी देश भएको बताएको भन्दै डिसेम्बर ४ मा नेपाल चीन व्यवसायिक कार्यक्रम हुने बताइएको छ ।
समाचारमा भारतीय अखबारहरू दि हिन्दू र हिन्दूस्तान टाइम्सका खबर साभार गरेर ओलीलाई भारतीय मिडियाहरूले ‘चीन परस्त’ भनेर आरोप लाएको पनि ग्लोबल टाइम्सले लेखेको छ ।
डिसेम्बर ४ मा ग्लोबल टाइम्सले नेपाल चीन व्यापार सम्मेलनको समाचार प्राथामिकताकासाथ प्रकाशन गरेको थियो । डिसेम्बर ५ मा प्रकाशन भएको ग्लोबल टाइम्स समाचारले नेपाल र चीनको व्यापार ९.१ प्रतिशत बढेर सन २०२३ मा बढेर १ अर्ब ८० करोड अमेरिकी डलर पुगेको उल्लेख गरेको छ । सोही अवधिमा नेपालबाट पछिल्लो वर्षको तुलनामा चीनमा निर्यात ५९।५ प्रतिसतले बढेको उल्लेख गरिएको छ ।
डिसेम्बर ४ मा चिनियाँ अखबार चाइना डेली लगायतका धेरै अखबारहरूमा ओली र सिको भेटका समाचारहरू आए ।
चिनियाँ भाषाको अखबार रन्मिन रिपाओको पहिलो पृष्ठमा ओली र सिले हात मिलाएका तस्बिर सार्वजनिक भए । चाइना डेलीमा पनि त्यस्ता समाचारहरू आएका थिए ।
डिसेम्बर ४ को चाइना डेलीको समाचारमा नेपाल र चीनले सहकार्यमा सम्झौता गरेको, ओलीले चीनको विकासको प्रशंसा गरेको तथा चिनियाँ राष्ट्रपति सिले नेपालसँगको कनेक्टिभिटी बढाउन सहयोग गर्ने बताएको बताइएको छ ।
चीनको हपई विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ सुविनलाई उद्धृत गरेर चाइना डेलीले नेपाल र चीनको मित्रताले नेपालको विकासमा सहयोग पुग्ने बताएको समाचारमा उल्लेख गरिएको छ ।
ओलीको भ्रमणकै दौरानमा डिसेम्बर ५ मा चीनको नर्थवेस्ट विश्वविद्यालय सिआनका नेपाली भिजिटिङ प्राध्यापक दिनेश भुजुको चीन भ्रमणले नेपाल र चीनको प्रगतिको बाटो बनाउने आशयको लेख प्रकाशन भएको थियो ।
यस्तै चिनियाँ विश्व च्यानल सिजिटिएनले प्रधानमन्त्री ओलीको चीन भ्रमणका विभिन्न चार समाचार प्रकाशन गरेको छ ।
नेपाल र चीनका संयुक्त वक्तव्यदेखि सिले नेपालसँगको रणनीतिक साझेदारीको कुरा गरेकोसम्म समाचार प्रकाशन गरिएको छ ।