हारको शृङ्खला तोड्दै सिटी, नटिंघममाथि जित – Nepal Press

हारको शृङ्खला तोड्दै सिटी, नटिंघममाथि जित

हेटौँडा । इंग्लिस प्रिमियर लिगमा लगातार चार खेलमा पराजित हुँदै खराब लयमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले हारको शृङ्खला तोडेको छ।

पछिल्लो चार खेलमा पराजित भएको सिटीले गए राति भएको खेलमा नटिंघम फरेस्टलाई पराजित गर्दै खेलमा फर्किएको हो । गएराति भएको खेलमा सिटीले फरेस्टलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हाँसिल गरेको छ ।

इतिहाड रंगशालामा भएको खेलमा सिटीले आफ्नो अनुकूलको खेल खेल्दै फरेस्टलाई निराश बनाएको थियो ।

सिटीको लागि बर्नार्डो शिल्भा, केभिन डि ब्रुयन र जेरेमी डोकुले गोल गरे । नटिंघममाथि सिटीले सुरुवाती मिनेटबाटै आक्रामक खेल खेलेको थियो । फलस्वरुप खेलको आठौँ मिनेटमै सिल्भाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । दोस्रो गोल डि ब्रुयन मार्फत सिटीले खेलको ३१ मिनेटमा गर्न सफल हुँदा पहिलो हाफमा २–० को अग्रता कायम भयो ।

तेस्रो गोल खेलको ५७ मिनेटमा डोकुले गरेपछि सिटी ३–० ले विजयी भयो । जितपछि सिटी १४ खेलबाट २६ अंक सहित तालिकाको चौथो स्थानमा यथावत् रहेको छ । पराजित फरेस्टको समान खेलबाट २२ अंक छ र उ तालिकाको छैटौँ स्थानमा छ ।

गएराति नै भएको अन्य खेलहरूमा आर्सनलले म्यानचेस्टर युनाईटेड माथि २–० ले जित दर्ता गरेको छ भने साउथह्याम्पटन माथि चेल्सी ५–१ ले विजयी भएको छ । त्यस्तै एस्टन भिल्लाले वर्नमाउथ र एभर्टनले उल्फलाई पराजित गरेको छ । गएराति लिग लिडर लिभरपुल र न्यूक्यास्टल भने बराबरीमा रोकिएको छ ।

जारी लिगको १४ औँ चरणको खेल सकिदा ३५ अंक सहित लिभरपुल पहिलो स्थानमा छ । २८ अंक भएको चेल्सी र आर्सनल दोस्रो तथा तेस्रो स्थानमा रहँदा २६ अंकको सिटी चौथो र २३ अंकको ब्राईटन पाँचौँ स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *