बाजुराको निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन चार दलबीच ३ बुँदे सहमति – Nepal Press

बाजुराको निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन चार दलबीच ३ बुँदे सहमति

कैलाली । बाजुरामा हुने सबै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन ४ राजनीतिक दलले सहमति गरेका छन् । भोलि स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचन लक्षित गरेर यहाँका ४ दलका शीर्ष नेताहरूबिच ३ बुँदे समझदारी भएको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले कुनै पनि निर्वाचनमा कुनै पनि दलबाट ल प्रयोग र जबरजस्तीका गतिविधि नगर्ने समझदारी गर्दै समझदारी गरेका हुन् । राजनैतिक दलका बिचमा समय समयमा छलफलको आयोजना गरेर उच्च राजनीतिक संस्कृति निर्माण गर्ने पनि समझदारी गरिएको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको संयोजनमा आपसी समझदारी गरिएको हो । बाजुरा चुनावकै कारण बदनाम हुने गलत परिपार्टीको अन्त्यका लागि ३ बुँदे लिखित समझदारी गरिएको एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिएका छन् ।

२०७९ सालको सङ्घ र प्रदेशको निर्वाचन अनेरास्ववियुुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या गरिएको थियो । चेतनको हत्याअघि प्रहरीको गोली लागेर कांग्रेस कार्यकर्ता सञ्जीव अयडीको मृत्यु भएको थियो । २०७९ सालकै बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनको सन्देश देश व्यापी गलत तरिकाले फैलिएको छ । पटक पटकको झडक र बुथ कब्जा पछि यहाँ दोस्रो पटक निर्वाचन भएको थियो ।

विगतमा आफू अनुकुलका बुथहरू कब्जा गर्ने, कुटपिट गर्ने र मतदानमा खटिएका कर्मचारीलाई समेत धम्की दिने, आक्रमण गर्ने आरोप लाग्दै आएको बाजुरामा भोली शान्तिपूर्ण वातावरण सृजना गर्न दलहरू एकमत भएका हुन् । चारै दलले सामूहिक रुपमा निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने भन्दै लिखित प्रतिबद्धता जनाएका छन् ।

दलका नेताहरूले सबै मतदातालाई मतदानमा भाग लिन सामूहिक आह्वान गरेका छन् । आफ्नो मत आफैले हाल्ने र फरक क्षमता र अशक्तको बाहेक दोस्रो व्यक्तिलाई हाल्न नदिने समझदारी गरेका छन् । मतदानमा खटिएका सुरक्षा कर्मी, कर्मचारी र सबै मतदातालाई शान्त र भयरहित वातावरणमा मतदान गराउन राजनीतिक दलका नेताहरू जिम्मेवार हुने र आफ्ना नेता कार्यकर्तालाई जिम्मेवार र संयमित गर्ने समझदारी गरेका छन् ।

सबै राजनीतिक दलहरूको बिचमा समझदारी गरेर विकास निर्माणका काम गर्दै आगामी निर्वाचनमा उच्च स्तरको लोकतान्त्रिक वातावरण निर्माण गर्न दलका बिचमा समयसमयमा छलफलको आयोजना गरी उच्च राजनीतिक संस्कृति निर्माण गर्ने समझदारी गरिएको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, काँग्रेस नेता जनकराज गिरी, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हिक्मत बहादुर शाही, पोलिटब्युरो सदस्य नरेश कुमार शाही, एमाले प्रदेश उपाध्यक्ष कालीबहादुर शाही, माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष कमल कुमारी शाह, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, नेपाली काँग्रेसका जिल्ला सभापति रामसिंह रावल, समाजवादी पार्टीका जिल्ला अध्यक्ष पुरबहादुर रावत, माओवादीका केन्द्रीय सदस्य मनलाल खत्री, प्रदेश कमिटी सदस्य महेश शाही लगायतको समझदारीमा तीन बुँदे सहमति गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर