यसरी पूरा भयो पक्की घरमा बस्ने सीता र राजकुमारीको सपना – Nepal Press

यसरी पूरा भयो पक्की घरमा बस्ने सीता र राजकुमारीको सपना

कैलाली । साँघुरो, थोत्रो, कमजोर खरले छाएको घरमै जीवनका चार दशक बिताएकी सीतादेवी थारुलाई पक्की घरमा बस्ने सपना सपनाजस्तै लाग्ने गरेको थियो । आफ्नो दुई पुस्ता पुरानै घरमा गुमेको बताउने सीता शुक्रवार पक्की घरको साँचो पाउँदा भावुक भइन् ।

‘यस्तो घर नदेखेरै सासू, ससुरा बित्नु भयो हामीले पनि यस्तो देख्न पाउँदैनौँ कि जस्तो लागेको थियो । कोही नहुनेहरूको पनि कोही हुँदा रहेछन्’, भावुक हुँदै उनले भनिन्, ‘अब त हाम्रो पनि राम्रो दिन आउला जस्तो छ ।’

कैलालीको बर्दगोरिया गाउँपालिका ४ दनुवाफाटामा जीवनको झन्डै आधा उमेर बिताएकी सिताको जस्तै रहर राजकुमारी डगौराको पनि थियो । तीन सन्तान र श्रीमतीको आधारभूत आवश्यकता पुरा गर्दा गर्दै राजकुमारीका श्रीमान् चार वर्ष पहिले बिते ।

त्यसपछि त झन् उनलाई अभाव र गरिबीले थिच्दै गयो । घर खर्च चलाउन पनि सकस भइरहेका बेला नयाँ घरमा बस्ने सपना उनको लागि परै थियो । शुक्रवार सोच्दै नसोचेको सपना पुरा भएपछि उनले पनि खुसीको आँसु झारिन् ।

‘श्रीमान् बितेपछि हामी अझै कमजोर भयौँ । तीन सन्तानलाई पाल्नकै लागि म मजदुरी गर्न थाले,’ उनले भनिन्, ‘आज सरकारले नयाँ घर दिएपछि हामीलाई नयाँ जीवन पाएझैँ भएको छ । ’

सिता देवी र राजकुमारीजस्ता १२ जनाले शुक्रवार नयाँ घर पाए । । बर्दगोरिया गाउँपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क लगायतको साझेदारीमा १२ वटा नयाँ घर निर्माण गरिएका हुन् । शुक्रबार एक कार्यक्रमका बिच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले घर हस्तान्तरण गर्दा गाउँ नै उत्साहित भएको थियो ।

‘पुराना घरमा पानी जम्थ्यो, सर्प किराहरूको पनि त्यस्तै डर थियो । अब त सोच्दै नसोचेको जस्तो घर पाएका छौँ सरकारलाई धन्यवाद’, घर बुझ्दै गर्दा सुरज डगौराले सुनाए । यो बस्तीमा ३२ घर मुक्त कमैयामा घर छन् । तर, पहिलो चरणमा १२ वटा मात्रै सुरक्षित आवास निर्माण गरिएका हुन् ।

तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई १०० घर बनाइदिन आग्रह गर्दा पनि १२ वटा मात्रै बनाइदिएको भन्दै गाउँपालिका अध्यक्ष कर्ण कुवरले गुनासो गरे । चौधरी पनि सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुँदै प्रदेशको कृषि मन्त्री भएका थिए । तर, उनले कम घर निर्माण गरेको भन्दै गाउँपालिका अध्यक्ष कुवरले असन्तुष्टि व्यक्त गरेका थिए ।

‘तत्कालीन मन्त्रीलाई १०० घर बनाइदिन आग्रह गरे पनि १२ मात्रै बनाउनु भयो । अब बस्तीका बाँकी घर सँगै बर्दगोरिया गाउँपालिका भरिकै मुक्त कमैयाका लागि घर निर्माणका लागि आशा गरेको छु’, अध्यक्ष कुवरले भने ।

मुक्त कमैया समुदायका १२ परिवारलाई घर हस्तान्तरण गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले सरकार विपन्न वर्गसँगै रहेको भन्दै अझै ठूलो संख्यामा सुरक्षित आभास निर्माण गरिने बताए । आगामी आवास अझै सुधारिएको हुने उनको भनाइ थियो । उनले कृषिसँग जोडेर आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका थिए ।

‘यहाँ १२ वटा घर मात्रै बनेका रहेछन् अझै २० घर बनाउनु छ। अबका घर अझै सुधारिएका हुनेछन्’, उनले भने, ‘यहाँ रहनुभएका सबैलाई कृषिसँग जोडेर आत्मनिर्भर बनाउन सरकार लाग्ने छ । सिचाइको व्यवस्था हामी गरिदिन्छौँ तपाइहरू सामूहिक खेती तर्फ अग्रसर हुनुहोस् ।’

३२ परिवारले उत्पादन गरेको बस्तुहरूको बजारीकरणका लागि प्रदेश सरकारले साथ लिने मन्त्री थापाले बताएका थिए ।

यो बस्तीका १२ घर निर्माणका लागि ८० लाख ९४ हजार ५ सय ९४ रुपैयाँ खर्च गरिएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३७ लाख ३३ हजार ३ सय ३२, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले २७ लाख ७७ हजार २ सय ६२ खर्च गरेका छन् भने स्थानीय लाभग्राहीहरूले १५ लाख ८४ हजार बराबरको श्रमदान गरेका छन् । प्रति घर ६ लाख ७४ हजार ५ सय ५० रुपैयाँ लागत लागेको बताइएको छ ।

यसअघि पनि सुदूरपश्चिमका विभिन्न जिल्लामा सुरक्षित घर निर्माण गरिएका छन् । लम्की चुहामा १० वटा, कैलारीको विपतपुरमा २७ वटा, कञ्चनपुरको बेदकोटमा २५ वटा, भजनीको राजी बस्तीमा २५ वटा, र दिपायलमा ७ घर निर्माण भइसकेका छन् ।

अति विपन्न परिवारले सुरक्षित आवास पाएपछि उनीहरूलाई निकै ठुलो सहजता पैदा भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर