नयाँ शक्ति र अनुहार लोकतन्त्ररुपी बगैंचामा फूलेका फूल हुन्, शासकको डण्डाले पहिचान गर्दैन : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेको उनको भनाइ छ।
उनले फेसबुकमा लेखेका छन्, ‘जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु। लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न सम्भव छ। बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ।’
उनले सही र गलतको पहिचान जनताले पहिचान गर्ने तर शासकको डण्डाले नगर्ने बताए। आफूहरुले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने उनको विश्वास छ।
उनले नयाँ दल र स्वतन्त्र जितेका जनप्रतिनिधिप्रति सरकारमा रहेका ठूला दलले निमोठ्न खोजेको जिकिर गरेका छन्।