के कांग्रेसलाई ‘ढोक्सा’ थाप्दैछन् प्रचण्ड ? – Nepal Press

के कांग्रेसलाई ‘ढोक्सा’ थाप्दैछन् प्रचण्ड ?

गगनलाई देवेन्द्र पौडेलको चुनौती- प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको प्रमाण देखाउनुस्

काठमाडौं । प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेपछि विपक्षी कित्तामा हुत्तिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा फेरि सत्तामा फर्किने हुटहुटी बढ्दो छ । उनले फेरि ‘म्याजिक नम्बर’ को कुरा गर्न थालेका छन् ।

मंसिर १ गते काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई ‘वेटिङ प्राइम मिनिस्टर’ रुपमा पेश गरे ।

प्रचण्डको भनाइ थियो, ‘मैले ३२ को संख्यालाई जादुको संख्या भनेको थिएँ । मेरो यो भनाइले उनीहरू (कांग्रेस र एमाले) उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला । तर, म के भन्छु भने अहिले हाम्रो संख्या फेरि पनि म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी । विपक्षी दललाई ‘गभर्मेन्ट इन वेटिङ’ भन्छ जुन पर्खिरहेको सरकार हो ।’

उनले अहिले कांग्रेसको समर्थनमा बनेको ओली सरकार उल्टाएर आफ्नै नेतृत्वको सरकार बनाउन सक्ने जिकिरसमेत गरे । यद्यपि माओवादीलाई सरकारमा जाने कुनै हतारो नभएको प्रचण्डको भनाइ छ ।

त्यसो त प्रचण्ड यतिबेला ओलीप्रति गरम भएपनि कांग्रेसप्रति नरम नै देखिन्छन् । एमालेसँग कांग्रेसको सहकार्यलाई दक्षिणी छिमेकीले नरुचाएको यथार्थ पनि उनलाई राम्रोसँग थाहा छ । तथापि, प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिलेसम्म कुनै पनि विषयमा गम्भीर अन्तरविरोध देखा परिसकेको छैन ।

कांग्रेसमा इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरुले सरकारको आलोचना गर्दै आइरहेका छन् । तर, सभापति देउवासहित संस्थापन पक्षका नेताहरु र महामन्त्री थापा पनि एमालेसँगको सम्झौता तोड्नुहुँदैन भन्ने लाइनमै छन् । इतर पक्षका नेताहरुको जोडबलले मात्रै गठबन्धनमा कुनै समस्या पर्ने देखिँदैन । कांग्रेसमा देउवाले नचाहेसम्म गठबन्धन दायाँबायाँ हुने सम्भावना छैन ।

प्रचण्ड देउवा फकाउँदैछन् ?

कांग्रेस महामन्त्री गगन थापाको हिजोको एउटा भाषणले राजनीतिक वृत्तमा भाइव्रेसन ल्याइदिएको छ । थापाले बिहिबार कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ‘प्रचण्डले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर कांग्रेसलाई हप्ताको एक पटक खबर पठाउने गरेको’ दाबी गरेका थिए ।

उनको भनाइ थियो, ‘हामीले माओवादी र एमालेसँग पालैपालो सत्ता चलाइसकेका छौँ । अब यही सरकारलाई तीन वर्ष इमानदारीसाथ लिएर जान चाहन्छौँ । हामी सरकार तलमाथि गर्न चाहन्नौँ । हामी परिणाम दिन चाहन्छौँ । अहिले प्रचण्डले हप्तामा एकपटक खबर पठाइरहेका छन्, लौन प्रधानमन्त्री बनिदिनुप¥यो भनेर । यो खबर पठाउने काम पहिला अर्कैले गथ्र्योे ।’

यस विषयमा टिप्पणी गर्दै कांग्रेस सांसद रामहरि खतिवडा प्रचण्ड एमालेबाट धोखा पाएको भन्दै कांग्रेसप्रति नरम नै देखिएको बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म कांग्रेस माओवादीको विरुद्धमा उग्ररुपमा प्रस्तुत भएको छैन । माओवादी पनि कांग्रेसप्रति नरम नै देखिएको छ । हिजो हामी सँगै गठबन्धन गरेर गएकै हौं । हामी एकअर्कालाई गाली गरेर जाने पक्षमा छैनौं । त्यो समस्याको समाधान पनि होइन । अहिले एमालेबाट धोका पाएँ भनेर कांग्रेसप्रति लचकता अपनाउन खोज्दै हुनुहुन्छ । हामीले त्यसलाई महसुश गरेका छौं ।’

एमालेसँगको सहमतिमा कांग्रेस इमान्दार रहेको भन्दै तत्कालै आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी अर्को समीकरणको पक्षमा नरहेको उनले सुनाए ।

कुनै एक दलको बहुमत नभएको अवस्थामा प्रचण्डबाट पूरानै गठबन्धन ब्यूँताउने प्रस्ताव आउनु स्वभाविक भएको कांग्रेसका एक नेता बताउँछन् ।

ती नेताले भने, ‘अहिले कुनै एउटा दलको बहुमत छैन । गठबन्धन तोडेर हुन्छ भने प्रतिपक्षमा हुँदा जुनसुकै दलले पनि प्रयास गर्छन् । फेरि पुरानै गठबन्धन ब्यूँझाउन सकिन्छ कि भन्ने चाहानास्वरुप उहाँ अघि बढ्न खोज्नुभएको छ । तर, कांग्रेसले हिजो प्रचण्डलाई जस्तो प्रतिबद्ध बचन आज एमालेलाई दिएको छ । त्यसैले धोखा दिन पक्षमा छैनौं ।’

प्रचण्डबाट पटक पटक धोखा पाइसकेकाले सभापति देउवाले तत्कालै विश्वास नगर्ने ती नेताको भनाइ छ ।

‘प्रचण्डले विपक्षी दलहरुको मोर्चाको नेतृत्व पनि गरिराख्नुभएको छ । प्रचण्डलाई मात्रै होइन, रविलाई पनि यो गठबन्धन तोड्न पाए हुन्थ्यो भन्ने परेको होला । अहिले हिरासतमा हुनुहुन्छ, तर उहाँहरुले प्रस्ताव गरेअनुसार अहिले सभापति तयार हुनुहुन्न,’ ती नेताले सुनाए ।

प्रमाण देखाउन माओवादीको चुनौती

गगनको दाबीलगत्तै प्रचण्ड सचिवालयले खण्डन गर्यो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भन्दै नहिँड्ने जवाफ दिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘महामन्त्री जी ! कीर्तिपुरको निर्वाचनमा नेकाको ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ । यति कुरा हेक्का राख्नुस, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैं प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ ।’

माओवादीका सचिव देवेन्द्र पौडेलले अहिले आफूहरु सरकार ढाल्ने कुनै खेलमा नरहेको दाबी गरे ।

उनले महामन्त्री थापालाई चुनौती दिँदै भने, ‘यो सबै राजनीतिक स्टण्ट हो । प्रचण्डले कहिले, कुन मितिमा, कसलाई प्रस्ताव गर्नुभयो ? प्रमाण दिन सक्नुहुन्छ ? माओवादीले कसैलाई प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हिँड्दैन । यो कुरामा कुनै सत्यता छैन ।’

कांग्रेस नेताहरुले प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव गर्यो भनेर ओली र एमालेलाई दबाब राख्ने रणनीति अबलम्बन गरेको उनको बुझाइ छ ।

माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पनि महामन्त्री थापालाई भ्रष्टाचारीलाई जोगाउने गठबन्धन माओवादीले अब नस्वीकार्ने बताए ।

उनले गगनलाई चुनौती दिँदै भने, ‘तपाईंको हिम्मत भए देशमा स्थायी राजनीतिक व्यवस्थामा लैजानका लागि आफ्नो पार्टीमा बहस गर्नुस । मक्किसकेको संसदीय व्यवस्थाको एक हिमायतिका रुपमा सरकार बनाउन र गिराउन तपाईंहरुले देशभित्र र बाहिर कति सय पटक म्याराथुन गरिसक्नुभयो यसको हेक्का नराख्दा मुलुकले दु:ख पाएको छ ।’

संविधान निर्माणपछिको करिब १० बर्षमा माओवादीले राम्रो अध्ययन गरेपछि कार्यकारी राष्ट्रपति प्रणालीका लागि जनतालाई एकीकृत गर्ने पक्षमा उभिएको उनले बताए ।

‘प्रचण्डले चाहँदैमा सरकार ढल्दैन’

एमाले उपमहासचिव प्रदीप ज्ञवाली नेपालमा राजनीतिक अस्थितरता रोग फैलिएकाले नै कांग्रेस र एमाले मिलेको बताउँछन् ।

उनी भन्छन्, ‘हिजो बीपी कोइरालादेखि अहिले केपी ओलीसम्म आइपुग्दा दुइतिहाइ भएको सरकारलाई पनि टिक्न नदिने, निरन्तर राजनीतिक अस्थिरता सिर्जना गरिराख्ने र त्यो अस्थिरताभित्र अनुचित लाभ लिने प्रवृत्ति व्याप्त छ । त्यही प्रवृत्तिको कारणले अहिले यो सरकार बन्दा कतिपय साना दलहरुको बार्गेनिङ गर्ने बाटो पनि टुटेको छ । त्यसैले यो कांग्रेस र एमालेबीचको सहकार्य लामो समय टिक्दैन भन्ने भ्रम फैलाउन प्रयास हुँदैछ ।’

उनले अब माओवादी र प्रचण्डले चाहेर पनि सरकार परिवर्तनको कुनै सम्भावना नरहेको जिकिर गरे ।

ज्ञवालीले थपे, ‘सरकारबाट बाहिरिएपछि उहाँमा एकखालको बेचैनी छ । उहाँ कहिले बंगलादेश, कहिले श्रीलंका बनाउने कुरा गर्नुहुन्छ । कोशी प्रदेशमा आफ्नै सांसदहरुको सहभागितामा प्रदेशको नामकरण गरेकोविरुद्ध अहिले जातीय संगठनहरुसँग हातेमालो गर्न थाल्नुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणलाई विवादित बनाउन खोज्नुभएको छ । यो सबै विचलनको अभिव्यक्ति हो । उहाँको जादूको संख्याले अब काम गर्दैन ।’

ज्ञवालीको भनाइमा महासचिव शंकर पोखरेल पनि सहमत छन् । देशलाई राजनीतिक स्थायित्व दिनको लागि दुईदलीय व्यवस्थाको वकालत गर्ने पोखरेलले बिहीबार कीर्तिपुरबाट भने, ‘देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यक छ । ३२ सीटेले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरुले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ ।’

एमाले नेताहरुजस्तै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएको बताउँछन् । उनले अहिलेको समीकरण २०८४ सम्म जाने दाबी गरे ।

महतले भने, ‘दुवै ठूला पार्टी सरकारमा बस्नु प्राकृतिक र स्वभाविक देखिएन भन्छन् । तर दुइटै पार्टी हैरान भए । उहाँको ३२ सीट छ । हामीले प्रधानमन्त्री पनि उहाँलाई नै मान्दिनुपर्ने । कहिले यता गर्ने, कहिले उता गर्ने, कति बोल्नु ! उहाँलाई म त जसरी पनि प्रधानमन्त्री हुने हो, कांग्रेस र एमाले मिल्दैनन् भन्ने गलत सन्देश गएपछि हामी मिलेका हौं ।’

 


प्रतिक्रिया

3 thoughts on “के कांग्रेसलाई ‘ढोक्सा’ थाप्दैछन् प्रचण्ड ?

  1. नेपालमा स्थिरता भएको नचाहने भारत हो जसको कार्यान्वयन गर्ने असल प्यादा ‘प्रचण्ड’ !!
    १. नेपाललाई अशान्त बनाउने, पछुत बनाइ रहने र आफ़्मा निर्भर बनाइरहने भारतीय चाहनाको सक्कली रुपमा लागु गर्न धेरै संस्था र ब्येक्तिहरु जन्मिएकाछन र क्रियाशील छन् : ती नेपाल र आफ्नु भन्दा बढी भारतको हितको कुरा गर्छन ध्यान र धुन त्येतैको हुन्छ तिनको !! अहिले उब्जिएको यो कुरा पनि त्येस्तैको उदाहरण !!
    ३. चतुरेको बोलि हैन त्यो भित्र लुकेको बिषालु चाललाई नियाल, बुझ र बिबेक पुर्याएर निर्णय गर है नेपाली जनता !!!

  2. प्रचण्ड र का एजेण्ट हुन भारतीय दलाल हुन त्यहीँ बसेर १७ हजार नेपालीको जान जाने काम गरे अहिले चाइना कार्डको विषय पनि उठाउने comfortable government हनुमान हुन

  3. मलाई त कता कता एमाले र माओवादी फेरि एकजुट भएर भेडा र बाख्राको कित्ताकाट गरेर सरकार गठन गर्न सक्छन् । किनभने जतिवढी विरोध त्यति बढी माया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर