उपनिर्वाचन: साेमबार नै सबै ठाउँकाे नतिजा आउने – Nepal Press

उपनिर्वाचन: साेमबार नै सबै ठाउँकाे नतिजा आउने

दोलखाको गौरिशंकरमा हेलिकोप्टरबाट मतपेटिका ल्याउने तयारी

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मतपरिणाम भोलिपल्ट सार्वजनिक गरिसकिने जनाएको छ ।

उपनिर्वाचन हुने ३४ वडामा त्यसै दिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना सुरु हुने भए पनि त्यसै दिन मतगणना कार्य सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए ।

मतगणना गर्दा कानूनी व्यवस्था अनुसार सर्वदलिय सहमति अनुसार गर्नुपर्ने भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले निर्वाचन अधिकृतले भने अनुसारको काम गरेमा, विवाद नगरेमा मतपत्र सजिलो र निर्वाचन भएकै ठाउँमा मतगणना हुने भएकाले मतगणना भोलिपल्ट नै सकिने उनको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन आयोगको तयारी अनुसार उपनिर्वाचनको सम्पुर्ण नतिजा आउन उपनिर्वाचन भएको दिनदेखि पर्सि भन्ने हुदैँन । भोलि त हुने नै भयो । तर, यसमा यो राजनीतिक दल र उम्मेदवारको प्रतिनिधिको सहयोग, समन्वय र व्यवहारमा निर्भर हुन्छ । काठमाडौं र किर्तिपुरमा बाहेक ३४ वडा वडामा त्यसै दिन सुरु हुन्छ । प्रमुख उपप्रमुख र अध्यक्ष र उपाध्यक्षको पालिकाको केन्द्रमा ल्याउनुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतपत्र एकदमै सजिलो र हरेक उम्मेदवारको मतपत्र छुट्टाछुट्टै रहेको मतगणना गर्न पर्याप्त टिम परिचालन गरिएका कारण मगणनामा ढिलाई नहुने बताए ।

उनले भने, ‘काठमाडौंबाहेक सबै स्थानमा मतगणना एकै चरणमा सकिन्छ । काठमाडौंमा भने एकै चरणमा नसकिन सक्छ । यसमा एउटा त हाम्रा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित वडामा नै स्थापना भएका छन् । वडामा जम्मा गरेर त्यसै दिन मतगणना सुरु हुन्छ ।’

दोलखाको गौरिशंकरमा हेलिकोप्टरबाट मतपेटिका ल्याउने तयारी

यसैबीच दोलखाको गौरिशंकर गाउँपालिकामा भने उपनिर्वाचन सकिएपछि पालिकाको केन्द्रमा मतपेटिका ल्याउनका लागि हेलिकोप्टरको प्रयोग गर्नुपर्ने देखिएको छ ।

गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय धेरै टाढा रहेकाले हेलिकोप्टरमार्फत नै मतपेटिका ल्याउनुपर्ने अवस्था देखिएको र त्यसको तयारी अघि बढाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘दोलखाको गौरिशंकर गाउँपालिकामा हेलिकोप्टरबाटै मतपेटिका ल्याउनुपर्ने अवस्था देखिएको छ । हेलिकोप्टर प्रयोग नगर्दा करिव १२ देखि १३ घण्टा लाग्ने अवस्था छ । सबै मतपेटिका जम्मा नगरेर गणना गर्न नसकिने हुदाँ केही समय लाग्न सक्छ । अन्य सबै पालिकाको त्यसै दिन सुरु हुन्छ ।’

त्यसै प्रमुख निर्वाचन आयुक्त थपलियाले गौरिशंकरपछि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका वडा पनि केहि टाढा रहेकाले गणना सुरु गर्न केहि समय लाग्ने देखिएको छ ।

यद्यपी त्यसैदिनको राति अबेरसम्म भने गणना भइसक्ने उनको भनाई छ । उनले भने, ‘अलि टाढा भनेको रुकुम पूर्वको पुथा उत्तरगंगाका वडा हुन् । तर पनि त्यहाँ राति ११ बजेसम्म सुरु भइसक्छ होला ।’

यस्तै निर्वाचन आयोगले मतगणनाको नतिजा प्रत्येक २ घण्टाको फरकमा आयोगकै वेवसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार हरेक मतगणना स्थलमा कम्प्यूटर अपरेटर राखिएको र उनले नै प्रत्येक २ घण्टाको फरकमा नजिताको विवरण राख्ने र उक्त विवरण आयोगको वेवसाइटमार्फत सार्वजनिक हुने बताए ।

उनले भने, ‘आयोगले २–२ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने भनेर हरेक मतगणना स्थलमा एक–एक जना कम्प्यूटर अपरेटर खटाएका छौ । मतगणना स्थलबाट नतिजाको विवरण राख्ने वित्तिकै आयोगको वेवसाइटबाट सार्वजकि हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर