जनकपुरधाममा सीता-राम विवाह पञ्चमीको लागि जानकी मन्दिर झकिझकाउ – Nepal Press

जनकपुरधाममा सीता-राम विवाह पञ्चमीको लागि जानकी मन्दिर झकिझकाउ

जनकपुरधाम । त्रेता युगमा भगवान राम र माता सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइँदै आएको साताव्यापी सीता-राम विवाह पञ्चमीको तयारी पूरा भएको छ ।

मंसिर शुक्ल पञ्चमी तिथिमा भगवान राम र सीताबीच विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस वर्ष मंसिर २१ गते शुक्ल पञ्चमी तिथि परेकाले यही दिन जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान राम र सीताबीच विधिपूर्वक विवाह समारोह आयोजना गरिएको मन्दिरका छोटा महन्त रोषण दास बैष्णवले जानकारी दिए ।

उनका अनुसार मंसिर १६ बाट वैवाहित कार्यक्रम प्रारम्भ हुनेछ । पहिलो दिन जनकपुर नगर दर्शन, मंसिर १७ मा फूलबारी लीला, मंसिर १८ मा धनुष यज्ञ, मंसिर १९ मा तिलकोत्सव, मंसिर २० मा मटकोर र मंसिर २१ म विवाह (स्वयंम्बर) समारोह आयोजना हुनेछ । मंसिर २२ मा रामकलेवापश्चात विवाह समारोह विधिवत सम्पन्न हुनेछ ।

हरेक पाँच वर्षमा भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या (राम जन्मभूमि)बाट जनकपुरधाम आउने गरेको जन्ती यस वर्ष पनि आउन लागेको जानकी मन्दिरका छोटा महन्त वैष्णवले बताए ।

उनले भने, ‘अयोध्याबाट करिब ५०० बढी जन्तीको टोली प्रस्थान गरिसकेको छ । उनीहरु धनुष यज्ञको दिन मंसिर १८ गते जनकपुरधाम आइपुग्छन् ।’

यस वर्ष अयोध्याबाट आउन लागेको जन्ती विवाह पञ्चमी उत्सवको मुख्य आकर्षण हुनेछ । छोटा महन्त वैष्णवले जन्ती चार दिन जनकपुरधाममा रहने र रामकलेवापश्चात बिदाई गरिने बताए ।

उनले जन्तीको व्यवस्थापनको सम्पूर्ण प्रबन्ध मिलाइसकेको बताउँदै स्वागत भव्य रुपमा गर्न जनकपुरधामवासीसँग अपिलसमेत गरे ।

विवाह पञ्चमी महोत्सवको लागि जानकी मन्दिरलाई झकिझकाउ पारिएको छ । मन्दिर परिसरमा विवाह समारोहका लागि विशाल पण्डाल र मञ्च तयार गरिँदैछ ।

धनुष यज्ञ रंगभूमि बाह्रबिघा मैदानमा हुने भएकाले सरसफाइ गरिएको छ । ठाउँ-ठाउँमा मिथिला पेन्टिङले जनकपुरधाम सिंगारिँदैछ । मधेश भवनको सडक छेउतिरको पर्खालमा मिथिला पेन्टिङ गर्न दर्जनौं महिला खटिएका छन् ।

२५ सय सुरक्षाकर्मी परिचालन हुने

विवाह पञ्चमीको दिन जनकपुरधाममा लाखौं श्रद्धालु, साधुसन्त र सर्वसाधारणको भीड हुन्छ । उनीहरुको सुरक्षाका लागि यसवर्ष २ हजार ५०० बढी सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा निकायको तयारी छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले विवाह पञ्चमी व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न २५ सय सुरक्षाकर्मी खटाइने जानकारी दिए । करिब १४ सय नेपाल प्रहरी, ७०५ जना सशस्त्र प्रहरी र १४० ट्राफिक प्रहरी परिचालन हुने उनको भनाई छ ।

पाकेटमारसहितका अपराध रोक्न सादा पोसाकका सयौं प्रहरी समेत परिचालन गरिने धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । अत्यधिक भीडभाड हुने ठाउँको ड्रोनको सहायताले निगरानी गर्ने पनि उनले बताए ।

यस वर्ष खानेपानीको समस्या नहुने

विवाह पञ्चमीमा आउने श्रद्धालुहरु हरेक वर्ष खानेपानी र शौचालयको ठूलो समस्या झेल्न बाध्य हुन्छन्, तर यसवर्ष खानेपानी र शौचालयको अभाव हुन नदिने बृहत् जनकपुर विकास क्षेत्र परिषद्ले तयारी गरेको छ ।

परिषद्का अध्यक्ष शीतल साहले श्रद्धालुका लागि सयौं शौचालय र ठाउँ-ठाउँमा खानेपानीको व्यवस्था मिलाउने जानकारी दिए । उनका अनुसार रंगभूमि बाह्बिघा मैदानमा मात्रै २०० अस्थायी शौचालय निर्माण हुँदैछ । मनिपालमा २०, तिरुतिया गाछीमा ३० र कलवार कुट्टी अगाडि २० गरी करिब ५०० अस्थायी शौचालय निर्माण हुनेछ ।

उनले विवाह समारोह हेर्न ६ स्थानमा ठूलो डिस्प्ले बाेर्ड लगाउने जानकारी दिए । उनले श्रद्धालुका लागि खाना र बासको व्यवस्था पनि गर्न लागेको बताए ।

उनले भने, ‘करिब २ लाख श्रद्धालुको खाना खुवाउने तयारीमा लागेका छौं । उनीहरुलाई बासको व्यवस्था पनि गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर