७७ वटै जिल्ला उच्च स्रोतयुक्त, तैपनि किन बनेन नेपाल ? – Nepal Press

७७ वटै जिल्ला उच्च स्रोतयुक्त, तैपनि किन बनेन नेपाल ?

नेपालमा दयाराम सिंखडा शैक्षिक क्षेत्रको परिचित नाम हो । उनले लेखेका गणित विषयका पुस्तक अधिकांश विद्यार्थीका लागि रुचिकर लाग्छन् । यसको कारण उनको सरल तरिकाले बुझाउन सक्ने कला नै हो । हरेक विषयलाई कविता, कथा वा आकर्षक हुने कुनै तरिका प्रयोग गरेर बुझाउने उनको शैली मौलिक छ ।

यही शैलीले उनलाई अस्ट्रेलियामा पनि शिक्षण पेशामै जमाएको छ । नेपालमा आदर्श बहुमुखी क्याम्पससहित विभिन्न स्कूलमा १० वर्ष अध्यापन गरेका सिंखडा नयाँ नयाँ खोज र अनुसन्धानमा रुचि राख्छन् । यद्यपि उनको भनाइ छ, ‘अब कसैले कुनै कुरा जानेको छु भनेर घमण्ड गर्नुपर्दैन । मात्र प्रस्तुति कलामा निपुर्ण र नवीनता भए पुग्छ ।’

गणित, जनसंख्या र विज्ञानका शिक्षक सिंखडा काठमाडौंस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा मानसिङ धर्म माध्यमिक विद्यालयका शिक्षक थिए । बोर्डिङ स्कूलका लागि गणित विषयका पुस्तक लेखकको परिचय बनाएका उनी हाल अस्ट्रेलियास्थित सिड्नीमा प्राध्यापन पेशामै रमाएका छन् । १४ वर्षअघि यहाँ आएका उनले अस्ट्रेलियन, चाइनिज र नेपालीले चलाएका आधा दर्जन कलेजमा शिक्षण अनुभव लिएका छन् । नेपालमा गणितका शिक्षक उनी अहिले व्यवस्थापन र नेतृत्व विषयको शिक्षकमा रुपान्तरण भएका छन् ।

यस क्रममा उनले अस्ट्रेलाइजेशन इन्टरनेशनल एकेडेमी, ग्लोबल कलेज, हार्बरसाइड इन्टरनेशनल एकेडेमी, अस्ट्रेलियन एकेडेमी अफ हस्पिटालिटी एन्ड म्यानेजमेन्ट, वेलोसिटी कलेज, सिड्नी मेट्रोपोलिटन इन्टरनेशनल कलेज आदिमा अध्यापन गरिसकेका छन् । नेपालमा विज्ञानमा स्नातक हुँदै उनले जनसंख्या विषयबाट स्नातकोत्तर उपाधि लिएका थिए ।

जब उनी अस्ट्रेलिया आए, पुनः व्यवस्थापन र लेखामा स्नातकोत्तर गरे । अनुसन्धानमा विशेष रुचि राख्ने उनको स्वभाव नै छ । अहिले पनि उनले समग्र रुपले मानव स्वास्थ्य र कल्याण, नवप्रवर्तन र उद्यमशीलता, कला, संस्कृति र साहित्य, नेतृत्व र समृद्धि, प्राविधिक र व्यवसायिक शिक्षामा निरन्तर अनुसन्धान गरिरहेका छन् ।

नेपाल किन बनेन भनेर देशभित्र जति चिन्ता र चासो भइरहेको हुन्छ, त्योभन्दा कम चिन्ता र चासो विदेशमा पनि हुँदैन । अर्थात् विदेशमा रहनेले पनि नेपाल कसरी बन्नसक्छ भनेर चिन्तन गरिरहेकै हुन्छन् । हो, कतिपय व्यक्ति छन्, जसले गालीबाहेक अरु केही जान्दैनन् ।

नेपाल किन बनेन भनेर देशभित्र जति चिन्ता र चासो भइरहेको हुन्छ, त्योभन्दा कम चिन्ता र चासो विदेशमा पनि हुँदैन । अर्थात् विदेशमा रहनेले पनि नेपाल कसरी बन्नसक्छ भनेर चिन्तन गरिरहेकै हुन्छन् । हो, कतिपय व्यक्ति छन्, जसले गालीबाहेक अरु केही जान्दैनन् । अस्ट्रेलियाको सिड्नीमा शैक्षिक कर्ममा रमाइरहेका सिंखडा एक जना त्यस्तै चिन्तन गर्ने व्यक्तिमा पर्छन् । उनले नेपालका ७७ वटै जिल्लामा कहाँ के गरेर समृद्वि प्राप्त गर्न सकिन्छ भनेर एकसरो अध्ययन गरेका छन् । त्यसैले त उनी भन्छन्- ‘१० लाखलाई रोजगारी दिने कुरा कुनै ठूलो विषय हैन ।’

जसरी अस्ट्रेलियाले विविधतामा गर्व गर्छ, त्यसरी नै हामीले पनि आफ्नो सन्दर्भलाई बुझ्न जरुरी छ । सिंखडा भन्छन्, ‘रोजगारी सिर्जना गर्न हाम्रो सन्दर्भ, हामीसँग रहेको स्रोत र प्रतिबद्धतालाई चिन्न सक्नुपर्छ ।’ यसलाई उनले यसरी स्पष्ट गर्छन्ः

3C अर्थात् Context, Content, Commitment ।

कालीगण्डकीको शालिग्रामलाई हामीले प्रयोग गर्न नजानेर आम्दानी गर्न सकिएको छैन । भारतबाट ल्याएको गंगाजल बजारमा बिक्री हुन्छ, तर शालिग्राम पानीमा डुबाएर पानीको ब्रान्डिङ गर्दै पिउनयोग्य पानी बेच्न हामीले जानेनौं । त्यसो गर्दा हाम्रो पानी निर्यात हुनसक्थ्यो । शालिग्राम पूजा गरेर राख्नेमात्र हैन, त्यसलाई डुबाएर पानी खाने हो । शालिग्राम डुबाएको पानी पिउँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । संसारका धेरै देशमा नेपाली विभिन्न ओहोदामा पुगेका छन् । स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य रहेका छन् । उनीहरुमार्फत पनि यस्ता स्रोतको ब्रान्डिङ गर्न सकिन्छ ।

धार्मिक रुपले शालिग्रामको आफ्नो महत्व होला, तर म विज्ञानको विद्यार्थी भएकाले यसबाट मानसिक र शारीरिक लाभ प्रदान गर्नसक्ने कुरा प्रमाणित भइसकेको छ । यसले पानीलाई शुद्ध र सकारात्मक ऊर्जा प्रदान गर्छ । यसको कारण यो हो कि शालिग्राम जैविक र खनिज गुणहरूले युक्त मानिन्छ । यसैले अन्यत्र नभएका कैयौं वस्तु छन्, जसको व्यापार गरेर नाफा कमाउन सकिन्छ ।

उनको चिन्ता छ- नेपालको आवश्यकता र वातावरण पहिचान गरी उत्पादन वा व्यवसायमा ध्यान दिनेतर्फ हामीकहाँ छलफल नै भएन । हरेक जिल्लालाई फरक फरक तरिकाले चिनाउन र तदनुसारको उत्पादन गरेर नेपालको आवश्यकता पूरा गर्नेमात्र हैन, निर्यात गर्ने वातावरण बनाएर रोजगारी सृजना गर्दै मनग्गे आम्दानी गर्न सकिन्छ ।

भारतबाट ल्याएको गंगाजल बजारमा बिक्री हुन्छ, तर शालिग्राम पानीमा डुबाएर पानीको ब्रान्डिङ गर्दै पिउनयोग्य पानी बेच्न हामीले जानेनौं । त्यसो गर्दा हाम्रो पानी निर्यात हुनसक्थ्यो । शालिग्राम पूजा गरेर राख्नेमात्र हैन, त्यसलाई डुबाएर पानी खाने हो । शालिग्राम डुबाएको पानी पिउँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ ।

मोबाइलमा आफ्नो अध्ययनको संक्षिप्त सार देखाउँदै उनी भन्छन्- ‘इलाम र अर्घाखाँचीमा चिया, ताप्लेजुङ, तेह्रथुममा अलैंची, गुल्मी, पाल्पा र रसुवामा कफी, म्याग्दी र संखुवासभामा रुद्राक्ष उत्पादन तथा लालीगुराँसको खेतीबाट चिया बनाउने, दोलखा र नुवाकोटमा किवी, चितवन र नवलपरासीमा केरा, कुलेखानी, बेगनास ताल र त्रिशूलीमा माछा, बझाङ र बाजुरामा अखरोट, गोर्खा र लमजुङमा रिठा र जैतुन, धनकुटा र सिन्धुपाल्चोकमा एभोकाडो, बजाङ, मुगु र हुम्लामा जैतुन, धादिङमा चिउरी खेतीलाई व्यवसायिक तरिकाले उत्पादन गर्नुपर्छ ।

बाँदर लाग्ने पहाडी जिल्लामा पिँडालु, सखरखण्ड, कागतीको खेती गर्न सकिन्छ । सल्यान-सिन्धुली-भोजपुरमा सल्लोबाट खोटो उत्पादन गर्न सकिन्छ । त्यस्तै काभ्रेपलाञ्चोक र गोरखामा च्याउ, गोरखा, धादिङ र डोटीमा अमला, डोल्पा, हुम्ला र मुगुमा यार्सागुम्बा, चारकोसे झाडी, कपिलवस्तु, बर्दिया, बाँके र कञ्चनपुरमा साल, दाङ र कपिलवस्तुमा ड्रागन खेती गर्न सकिन्छ । मकवानपुरको चित्लाङ र काभ्रेपलाञ्चोकमा आलु, तनहुँ, लमजुङ र सल्यानमा बाख्रा, अछाम, सुनसरी र कैलालीमा गाई, जनकपुर, रौतहट र चितवनमा भैंसीपालन तथा आँप खेती, पाल्पा र संखुवासभा तेजपत्ता, जुम्ला, मनाङ र मुस्ताङमा स्याउ, सोलुखुम्बु, मनाङ र रसुवामा चौंरी गाई पालेर छुर्पी उत्पादन, नुवाकोट, धादिङ र गोरखामा पिँडालु, तराई क्षेत्रमा चामल र गहुँ, पहाडी क्षेत्रमा बाजरा, हिमालयन क्षेत्रमा कोदो र फापरलगायतको खेती गरेर मनग्गे फाइदा लिन सकिन्छ ।’

त्यस्तै नवलपरासी, धादिङ र उदयपुर कुखुरापालन, रुकुम र रोल्पामा गाँजा तथा उदयपुर र सुनसरीमा न्युरो खेती पनि गर्न सकिन्छ । उनी भन्छन्- ‘औषधिजन्य खाद्य र जडिबुटीमा जोड दिने हो भने त्यसबाट आम्दानी ज्यादा हुनसक्छ ।’

माथि उल्लेखित विषयलाई थप अध्ययन गराएर नवीनतम धारणा वा योजना बनाउन पनि सकिन्छ । मुख्य कुरा प्रतिबद्धता हो । हुन पनि क्यानडामा रहेका खाद्य वैज्ञानिक नारायण घिमिरेले बारम्बार लेख्ने गर्छन् कि- ‘सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, मेडिसिनल, सेनिटरी क्लिनर, एरोमेटिक फुड, फुड सप्लिमेन्ट र अन्य एस्सेसरिज बायोप्रडक्टको सम्भावना बोकेका वनस्पति र जीवाणुहरूको भ्यालु पहिचान, प्रशोधन र व्यवसायीकरणमार्फत राष्ट्रलाई धनी बनाउन सक्ने अवसरको स्वर्ण धर्ती हो नेपाल ।’

उनले नेपाललाई भविष्यको मेडिसिनल (औषधिजन्य वनस्पति) र एरोमेटिक (राम्रो सुगन्ध आउने फूल, तेल वा मसला)को पकेट क्षेत्र मानेका छन् । उनको विचारमा सरकारको उचित सहयोग र ध्यान पुग्ने हो भने पाँचसात वर्षभित्रै नेपालको हालको प्रशोधित ७५५ कृषि जडिबुटी, आयुर्वेद र खाद्यपदार्थ आयात प्रतिस्थापन गर्न सकिन्छ । नेपालमा पाइने लेउ, झ्याउ र किरालगायत हर्बलको स्वर्ण बजार चीन हो । उत्पादित वस्तु बिक्री नभएका गुनासाका सन्दर्भमा सिंखडाको भनाइ छ- हामीले फरक तरिकाले बजारीकरण गर्नुपर्‍यो । संसारभरि मधुमेहको समस्या छ भने हामीले उनीहरुलाई पिँडालु र सखरखण्डको महत्व बुझाउनु पर्‍यो र प्रशोधित वस्तु पठाउने वातावरण बनाउनु पर्‍यो । यस्ता धेरै सम्भावनायुक्त विषयमा उनले मसिनो अध्ययन गरेका छन् ।

यहाँ व्यवसायिक शिक्षालाई उच्च प्राथमिकता दिइन्छ । जुन शिक्षाले विद्यार्थीहरूलाई विशेषतः व्यवहारिक सीप र दक्षता प्रदान गर्छन् र उनीहरुलाई रोजगारीका लागि योग्य बनाउँछन् । यस्ता कार्यक्रमहरु सञ्चालन गर्न प्राविधिक शिक्षण संस्थाहरु, तालिम प्रदायक संस्थाहरु र केही कलेजहरू हुन्छन् ।

दयारामको विचारमा नेपाललाई २० वर्षभित्र मलेसिया र थाइल्यान्डको स्तरमा सहजै लैजान सकिन्छ । उनले माथि भने जस्तै १० लाख रोजगारी सृजना गर्न व्यवसायिक शिक्षा र तालिमलाई भने सही तरिकाले लैजान सक्नुपर्छ । ‘मेरो पृष्ठभूमि शैक्षिक हुनुका साथै यहाँ पनि सोही पेशामा संलग्न भएकोले म यति भन्नसक्छु कि हाम्रो पठनपाठनको पद्धति गलत छ र यसलाई सुधार गर्नुपर्नेछ’, उनले भने ।

अस्ट्रेलियामा शिक्षा

अस्ट्रेलियाको शिक्षा प्रणाली हेर्दा सम्पूर्ण रुपले व्यवसायिक छ । यहाँ हाइस्कुलको शिक्षा प्राप्त गरेपछि ८० प्रतिशत रोजगारीमा जान्छन् र जानुपर्छ । सामान्यतः उच्च शिक्षा अध्ययन गर्नेको संख्या २० प्रतिशतभन्दा बढी हुँदैन । यहाँ व्यवसायिक शिक्षालाई उच्च प्राथमिकता दिइन्छ । जुन शिक्षाले विद्यार्थीहरूलाई विशेषतः व्यवहारिक सीप र दक्षता प्रदान गर्छन् र उनीहरुलाई रोजगारीका लागि योग्य बनाउँछन् । यस्ता कार्यक्रमहरु सञ्चालन गर्न प्राविधिक शिक्षण संस्थाहरु, तालिम प्रदायक संस्थाहरु र केही कलेजहरू हुन्छन् । सिंखडाको अनुमानमा यस्ता सीपमूलक तालिम दिन अस्ट्रेलियामा ४ हजार ३०० भन्दा बढी व्यवसायिक संस्थाहरू छन् ।

ती संस्थाहरुले आधारभूतदेखि उन्नतस्तरका सीप विकास, विशेष क्षेत्रमा गहन ज्ञान र सीप विकास तथा काम गर्दा सिकाइ प्रक्रियामा आधारित व्यवसायिक तालिम दिने गर्छन् । जसलाई सर्टिफिकेट, डिप्लोमा र एड्भान्स डिप्लोमा भनिन्छ । यस्ता तालिमहरु उद्योगको मागअनुसार डिजाइन गरिएको हुन्छ । जसले गर्दा विद्यार्थीहरू तुरुन्त रोजगारीका लागि योग्य हुन्छन् । अझ महत्वपूर्ण कुरा त यो छ कि यसरी तालिम प्राप्त ८० प्रतिशत जनशक्ति सम्पूर्ण रुपले खपत हुन्छन् ।

‘व्यवसायिक परीक्षा उत्तीर्ण गरेपछि ६ महिनाभित्र उनीहरु काममा लाग्नुपर्छ । अन्यथा शिक्षकलाई कारबाही हुन्छ’, सिंखडाले भने । आगामी वर्ष अस्ट्रेलियामा ६ लाख विद्यार्थीले १२ कक्षा उत्तीर्ण गर्दैछन्, जसमध्ये ८० प्रतिशतलाई राज्यले रोजगारी दिनैपर्छ । यतिले पनि जनशक्ति आपूर्ति भएन भने अन्य मुलुकबाट विद्यार्थीको नाममा योग्यतम जनशक्ति ल्याउने गरिन्छ ।

कतिपय उच्च शिक्षा प्राप्त र अत्यधिक माग हुने सीप र पेशा भएका व्यक्तिका लागि अस्ट्रेलियाले सोझै स्थायी बसोवास (पीआर) दिएर पनि ल्याउने गर्छ । खासगरी नर्स, मेडिकल विशेषज्ञ, स्वास्थ्य व्यवस्थापक, सिभिल, मेकानिकल र इलेक्ट्रिकल इञ्जिनियर, प्रारम्भिक तहका शिक्षक र विद्यालयका प्राचार्य हुन योग्य व्यक्ति, सूचना प्रविधिअन्तर्गत सफ्टवेयर विकासकर्ता, सिस्टम विश्लेषक तथा वित्त क्षेत्रका विज्ञ, व्यवस्थापक र परियोजना व्यवस्थापकलाई त्यस्तो सुविधा दिइन्छ । यसो गर्दा उमेर, शिक्षा, अनुभव र भाषालाई करिब समान प्रकारले महत्व दिइन्छ । सिंखडाको विचारमा नेपाललाई एक समृद्ध राष्ट्र बनाउन शैक्षिक र स्वास्थ्य प्रणालीमा आमूल सुधार आवश्यक छ ।


प्रतिक्रिया

2 thoughts on “७७ वटै जिल्ला उच्च स्रोतयुक्त, तैपनि किन बनेन नेपाल ?

  1. बस्ने अष्ट्रेलिया, अष्ट्रेलिया कै भूमि उर्बर बनाउन क्षमता खर्चने अनि नेपाल बनाउन अर्ति दिनेहरूको नियत नै बुझ्न गाह्रो। हेक्का होस्, जुन माटोमा पसिना बगायो त्यही माटो उर्बर हुन्छ। देश बनाउन नागरिकले देशभित्रै आफ्ना क्षमताहरूलाई उपयोग गर्नुपर्छ।

  2. सिंखडा सरकाे विचार,चिन्तनलाई नेपालमा शिक्षाकारुपमा लिई कार्यान्वयन गर्न सकिएमा उत्तम हुने थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *