एनपीएल प्रत्यक्ष प्रसारणको डिल : महंगो स्टार स्पोर्ट्समा क्यानको दिल ! – Nepal Press

एनपीएल प्रत्यक्ष प्रसारणको डिल : महंगो स्टार स्पोर्ट्समा क्यानको दिल !

चर्को शुल्क तिरेर भारतको स्टार स्पोर्ट्सबाट एनपीएल लाइभ गराउने तयारी

काठमाडौं । अर्को महिना आयोजना हुन लागेको नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट गराउने तयारी क्यान (नेपाल क्रिकेट संघ) ले गरेको छ । स्रोतका अनुसार एक-दुई दिनभित्रै सम्झौता हुन सक्छ ।

एनपीएलको प्रत्यक्ष प्रसारण गर्न स्वदेशी टेलिभिजनहरू इच्छुक थिए । तर, गुणस्तर र अन्तर्राष्ट्रिय ब्रान्डिङको हवाला दिँदै क्यानले भारतीय टेलिभिजन रोजेको हो । स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारणका लागि चर्को शुल्क तिर्न क्यान तयार भएको छ । यद्यपि, यसमा केही व्यवधानहरू अवश्य छन् ।

क्यानले स्टार स्पोर्ट्ससँग हुन लागेको सम्झौताबारे अहिलेसम्म कुनै ठोस जानकारी दिएको छैन । कुराकानी सकारात्मक रहेको मात्र बताइरहेको छ । यद्यपि, क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई प्रत्यक्ष प्रसारण अधिकार दिने तय भइसकेको जानकारी एनपीएल फ्रेन्चाइजहरूलाई गराएका छन् । फ्रेन्चाइजहरूले पनि स्टार स्पोर्ट्समा लाइभ आउने भन्दै स्पोन्सर खोजिरहेका छन् ।

स्टार स्पोर्ट्स नेटवर्क भारतीय सशुल्क टेलिभिजन स्पोर्ट्स च्यानलहरूको एउटा समूह हो, जसको स्वामित्व डिज्नी स्टारसँग रहेको छ । यो च्यानलले आईसीसीका प्रतियोगिताहरू, इन्डियन प्रिमियर लिग (आईपीएल) प्रिमियर लिग, वान च्याम्पियनजस्ता विश्वचर्चित खेलहरूको प्रत्यक्ष प्रसारण गर्ने गर्छ । अन्तर्राष्ट्रियरूपमा प्रख्यात च्यानलबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने कुराले नेपाली क्रिकेटप्रेमीहरू हर्षित छन् । तर, स्वदेशी प्रसारण संस्था तथा विज्ञापन एजेन्सीहरू भने देशभित्र आयोजना हुने एउटा ठूलो खेल उत्सवको प्रसारण अधिकार विदेशी टेलिभिजनलाई दिइने कुराले निराश छन् ।

प्रोडक्सन गर्ने कम्पनी छुट्टै खोज्नुपर्ने भएपछि स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण गर्नुको कुनै तुक नहुने एक टेलिभिजनकर्मी बताउँछन् ।

विगतमा नेपाली क्रिकेट म्याचको टेलिभिजन लाइभ हुनु नै ठूलो कुरा थियो । तर, पछिल्लो समय नेपालका प्राय अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट म्याचहरूको नेपाली टेलिभिजनमार्फत नै प्रत्यक्ष प्रसारण हुँदै आएको छ । खासगरि, हिमालयन र कान्तिपुर टेलिभिजन यसमा अग्रणी छन् । उनीहरूले प्रत्यक्ष प्रसारणको गुणस्तरमा पनि पहिलेको तुलनामा धेरै सुधार गरिसकेका छन् । कान्तिपुर अहिले एनपीएलको एउटा फ्रेन्चाइजसमेत हो ।

अहिले महत्वाकांक्षीरूपमा क्यानले फ्रेन्चाइज क्रिकेट आयोजना गर्दा स्वदेशी टेलिभिजन तथा विज्ञापन व्यवसायीले ठूलो आशा बोकेर बसेका थिए । तर, क्यानले सिधै विदेशी टेलिभिजनसँग डिल गरेपछि उनीहरू निराश बनेका हुन् । क्यानले उनीहरूलाई प्रतिस्पर्धामा आउने मौका समेत दिएन ।

एक टेलिभिजन सञ्चालक भन्छन्, ‘यो स्वदेशी टेलिभिजन उद्योग र विज्ञापन बजारका लागि ठूलो अवसर हुन सक्थ्यो । प्रसारण अधिकार पाएको भए गुणस्तर अभिवृद्धिमा पनि काम गर्न सकिन्थ्यो । सबैभन्दा ठूलो कुरा नेपालको पैसा विदेशिन रोकिन्थ्यो । क्यानलाई उल्टो टेलिभिजनबाट पैसा आउँथ्यो । तर, क्यानले विदेशी टेलिभिजनप्रति मोह देखाएर हामीलाई हतोत्साही तुल्याएको छ ।’

खरिद नियमावली छलेर बिनाप्रतिस्पर्धा सिधै विदेशी कम्पनीसँग सम्झौता गर्दा कानूनी प्रश्न खडा हुन सक्ने ती टेलिभिजन सञ्चालकको भनाइ छ ।

खरिद नियमावली अनुसार सरकारी निकायले १० लाख रूपैयाँभन्दा बढी खर्च गरेर कुनै पनि वस्तु वा सेवा खरिद गर्दा ग्लोबल टेन्डर गर्नुपर्छ । क्यानलाई पनि यो नियम लागू हुन्छ । तर, क्यानले एनपीएलको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालि नामक कम्पनीलाई बेचेको छ । यही कम्पनीमार्फत स्टार स्पोर्ट्ससँग सम्झौता गर्न लागिएको हो । सम्झौताको सबै डिल भने क्यानले नै गरिरहेको छ ।

ब्रान्ड डिजिटलका प्रमुख रोशन निरौला भन्छन्, ‘सम्झौता हामीले गर्ने हो, तर कुन विकल्पमा जाने भनेर छनोट गर्ने अधिकार क्यानसँग हुन्छ ।’

प्रत्यक्ष प्रसारणको गुणस्तर राम्रो हुनुपर्ने माग दर्शकहरूबाट भएकाले स्टार स्पोर्ट्स रोजिएको उनले तर्क गरे ।

‘गुणस्तरमा कुनै पनि सम्झौता नगरौं भन्ने ध्येय हो । नेपाली दर्शकले अहिलेसम्मकै उत्कृष्ट प्रत्यक्ष प्रसारण अनुभव गर्न पाउनेछन्,’ निरौलाले भने ।

स्टार स्पोर्ट्ससँग कति रकममा सम्झौता गर्न लागिएको हो भन्ने उनले बताउन चाहेनन् ।

‘स्टार स्पोर्ट्सजस्तो च्यानलमा स्लट पाउनु नै हाम्रो लागि ठूलो कुरा हो । उहाँहरूले नेपाली क्रिकेटलाई ट्रस्ट गर्नु नै महत्वपूर्ण हो । पैसा त हामीले तिर्नैपर्छ,’ उनले भने ।

ब्रान्ड डिजिटलले ५ करोड ९२ लाखमा एनपीएलको कमर्सीयल राइट्स खरिद गरेको हो । अर्कोतिर टेलिभिजनलाई पनि तिर्नुपर्दा कम्पनी दोहोरो मारमा परेको देखिन्छ । यस विषयमा प्रश्न गर्दा निरौलाले बजारप्रति कम्पनीको भरोसा रहेको बताए ।

उनले भने, ‘सबै कुरा सेटल भइसकेको छैन । रिभिन्यू मोडलमा अझै पनि काम भइरहेको छ । हामी एक्लैले स्टार स्पोर्ट्सलाई नेपालमा ल्याउन अवश्य पनि सक्दैनौं । मुख्य कुरा हामीलाई ब्रान्डहरूले हौसला प्रदान गर्नुभएको छ । हामीले मार्केट रिसर्च गरेरै हात हालेका हौं ।’

ब्रान्ड डिजिटलसँग ग्राउन्ड स्पोन्सरसीप, ओटिटी र युट्यूवको राइट्स पनि छ । ओटीटी-युट्यूवका लागि आफूहरूले लोकल ब्रोडकास्टर खोजिरहेको निरौलाले बताए ।

स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्दा कार्यक्रम उत्पादन कसले गर्छ भन्ने पनि प्रश्न छ । क्यान प्रवक्ता छुम्बी लामा प्रत्यक्ष प्रसारण र प्रोडक्सन फरक-फरक पाटो भएको बताउँछन् ।

‘टेलिभिजन एउटा हुन्छ, प्रोडक्सन गर्ने कम्पनी अर्को हुन्छ,’ उनले भने, ‘सबैतिर हुने यही नै हो ।’

यदि स्टार स्पोर्ट्स आफैंले प्रोडक्सन नगर्ने भए गुणस्तरको सुनिश्चितता कसरी हुन्छ त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘उनीहरूले एउटा स्टान्डर्ड तोकेको हुन्छ । त्यही अनुसार हामीले अर्को कम्पनीसँग सम्झौता गर्छौं । त्यो नेपाली कम्पनी नभएर विदेशी नै हुन्छ, जसले पहिले स्टार स्पोर्ट्ससँग काम गरिसकेको हुनुपर्छ ।’

लामाले प्रत्यक्ष प्रसारण र प्रोडक्सन कसलाई दिने भन्ने अहिलेसम्म फाइनल नभएको बताए ।

‘स्टार स्पोर्ट्ससँग पनि कुरा टुंगिएको छैन । हामी छलफलकै क्रममा छौं,’ उनले भने ।

प्रोडक्सन गर्ने कम्पनी छुट्टै खोज्नुपर्ने भएपछि स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण गर्नुको कुनै तुक नहुने एक टेलिभिजनकर्मी बताउँछन् ।

उनले दृष्टान्त दिँदै भने, ‘नेपालको हिमालय टेलिभिजनमा फिफा विश्वकपको समेत प्रत्यक्ष प्रसारण भएको थियो । त्यसमा गुणस्तर कमजोर भएन । राम्रो कम्पनीबाट प्रोडक्सन भएर आएको चिजलाई नेपाली टेलिभिजनले नै सही गुणस्तरमा देखाउन सक्छन् भन्ने विश्वकपमै सावित भयो । स्टार स्पोर्ट्स आफैं प्रोडक्सन नगर्ने भइसकेपछि प्रसारणका लागि मात्रै उसलाई महंगो रकम तिर्नुको कुनै औचित्य छैन ।’

क्यानले स्टार स्पोर्ट्ससँग हुन लागेको सम्झौताबारे अहिलेसम्म कुनै ठोस जानकारी दिएको छैन । कुराकानी सकारात्मक रहेको मात्र बताइरहेको छ । यद्यपि, क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई प्रत्यक्ष प्रसारण अधिकार दिने तय भइसकेको जानकारी एनपीएल फ्रेन्चाइजहरूलाई गराएका छन् । फ्रेन्चाइजहरूले पनि स्टार स्पोर्ट्समा लाइभ आउने भन्दै स्पोन्सर खोजिरहेका छन् ।

आमरूपमा कुनै पनि खेलकुद इभेन्टको प्रत्यक्ष प्रसारण अधिकारका लागि टेलिभिजनले आयोजकलाई रकम तिर्नुपर्ने हुन्छ । तर, स्टार स्पोर्ट्सले पैसा खर्च गरेर नेपालको फ्रेन्चाइज लिग प्रत्यक्ष प्रसारण नगर्ने भएकाले पैसा तिरेर स्लट किन्न लागिएको छ ।

योभन्दा अगाडि एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आयोजना गरेका अमिर अख्तरले पनि स्टार स्पोर्ट्समा एकपटक पहल गरेका थिए । त्यसबेला एउटा दिवा खेलको १० लाख आईसी माग गरिएको उनी बताउँछन् । अहिले उक्त शुल्कमा बढोत्तरी भएको हुनुपर्ने उनको अनुमान छ ।

एनपीएलमा कुल ३२ म्याच २२ दिनसम्म खेलाइने तालीका छ । एउटा म्याचको १० लाख भारुकै हिसाबले गर्ने हो भने पनि प्रत्यक्ष प्रसारण गर्दा ४ करोड ६० लाख नेपाली रुपैयाँभन्दा बढी (टीडीएस र एड्भान्स भ्याटसमेत) हुन आउँछ । यो प्रत्यक्ष प्रसारणको मात्रै शुल्क हो । अब प्रोडक्सनका लागि अर्को कम्पनीलाई दिनुपर्ने रकम छुट्टै छ ।

नेपाल विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले विदेशी टेलिभिजनलाई उल्टै पैसा दिएर प्रसारण अधिकार सुम्पिने तयारीप्रति आश्चर्य व्यक्त गरे ।

‘खेलकुदको राइट्स बेच्दाखेरि संसारभरिको चलन भनेको पैसा लिने हो । यदि टेलिभिजनलाई पैसा दिएर प्रसारण अधिकार बेच्न लागिएको हो भने त्यो उल्टो अभ्यास हुन्छ । आशा गरौं यस्तो नहोस् ।’ हुमागाईंले भने ।

क्लीन फिडको प्रश्न

अर्को महत्वपूर्ण पाटो भनेको विज्ञापन पनि हो । पैसा तिरेर स्लट किने तापनि त्यसमा नेपाली कम्पनीले विज्ञापन बजाउन पाउने छैन । स्टार स्पोर्ट्सले आफ्नै विज्ञापन बजाउन सक्नेछ ।

तर, स्मरणीय के छ भने नेपालमा क्लीन फिडसम्बन्धी कानून हाल कार्यान्वयनमा छ । जसअनुसार कुनै पनि विदेशी टेलिभिजनले नेपालमा विज्ञापन प्रसारण गर्न पाउँदैनन् । उनीहरूले विज्ञापनरहित कन्टेन्टमात्रै दिनुपर्छ । तर, स्टार स्पोर्ट्सले विज्ञापनसहित प्रत्यक्ष प्रसारण गर्ने गरी कुराकानी भइरहेको स्रोत बताउँछ ।

‘नेपाल सरकारकै इभेन्ट भएकाले सरकारी स्तरबाटै यो कुरा मिलाउन सकिन्छ भन्ने विश्वास छ,’ क्यान स्रोतले भन्यो ।

एक केबल अपरेटरले नेपालमा कार्यान्वयनमा रहेको क्लीन फिड फेल गराउनका लागि त यो सम्झौताको तानाबाना बुनिएको होइन भन्दै आशंका प्रकट गरे ।

त्यसो त अहिले नेपालमा स्टार च्यानलहरु आधिकारिक प्रसारणमा नै छैनन् । विदेशी सशुल्क टीभी च्यानलहरूले २०२४ को जुलाइ ३१ देखि आफ्ना च्यानलहरूको प्रसारण उनीहरूको नेटवर्कमा रोकिदिएका छन् । नेपाली अपरेटरबाट पैसा नपाएको भन्दै दबाब स्वरूप उनीहरूले प्रसारण रोकेका हुन् । एनपीएलको प्रसारण अधिकार स्टार टिभीलाई हस्तान्तरण गरेर नेपाली अपरेटरहरूलाई महंगो शुल्क तिर्न बाध्य बनाउन खोजिएको आशंका समेत केबल र आईपीटीभी अपरेटरहरूले गर्न थालेका छन् ।


प्रतिक्रिया

One thought on “एनपीएल प्रत्यक्ष प्रसारणको डिल : महंगो स्टार स्पोर्ट्समा क्यानको दिल !

  1. CAN ले राम्रो ब्रोडकास्टिंग गर्ने हो भने star sports एकदम राम्रो छनोट हुन सक्छ, अहिले विश्वको हरेक ठूला ठूला फ्रैन्चाइज़ लीग देखि लीयेर वर्ल्ड कप समेत एस्ले गर्ने हुदा NPL लाई मज्जाले ग्लोबल लग्न सकिन्छ, प्लेयर हरु चई मार्टिन Guptil , जेम्स नीशम , शिखर धवन , बेन कटिंग लाउने अनि live चई त्यो प्लेयर चिन्न मुस्किल पर्नु भन्दा यही ठीक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *