डाँका मुद्दामा ५ वर्ष सजाय माफी पाएका रामचन्द्र आपराधिक लाभमा पुनः जेल जाने – Nepal Press

डाँका मुद्दामा ५ वर्ष सजाय माफी पाएका रामचन्द्र आपराधिक लाभमा पुनः जेल जाने

चितवन । डाँका मुद्दामा ९ वर्ष कैद सजाय पाई चार वर्ष भुक्तान गरेपछि राष्ट्रपतिबाट आममाफीमा परेर निस्किएका एक व्यक्ति पुनः अपराधिक लाभमा जेल चलान हुने भएका छन् ।

हेटौँडा महानगरपालिका २ घर भई चितवनको भरतपुर महानगरपालिका-१२ मा बस्दै आएका ५४ वर्षका रामचन्द्र थापालाई लागेको अपराधिक लाभको अभियोगमा चितवन जिल्ला अदालतले दोषी ठहर्‍याएको छ ।

थापा २०७५ सालमा डाँका मुद्दामा जिल्ला अदालत चितवनकै फैसलाले ९ वर्ष कैद सजायमा कारागारमा थिए । २०८० जेठ १५ मा राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा बाँकी कैद सजाय मिनाहा पाएका थिए । त्यसअघि पनि २०६६ सालमा चोरी र हतियार देखाइ डाँका गरेको अभियोगमा २०६६ सालमा जेल चलान भइ ६ वर्ष कैद भुक्तान गरेर निस्किएका थिए ।

उनले कैद सजाय माफी पाएर दोस्रोपटक निस्किएपछि नारायणगढको पुल्चोकमा औषधि व्यवसाय गर्दै आएका सोमराज सुवेदीसँग २० लाख रुपियाँ मागेर नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए ।

पटक पटकको धम्कीपछि सुवेदीले प्रहरीलाई खबर गरेपछि प्रहरीले पीडित सुवेदीसँगको समन्वयमा थापालाई २०८० कात्तिक १३ गते नियन्त्रणमा लिएको थियो । पहिलेदेखि सुवेदीसँग चिनजानमा रहेका थापाले दोस्रोपटक कारागार चलान हनुअघि वैदेशिक रोजगारीको लागि भनेर लिएको ५ लाख सावा ब्याज गरी १० लाख पुगेकोमा सोही रकम तिर्न धम्की दिएर रकम लिन खोजेको दाबी गरेका थिए ।

आम माफी पाएको पाँच महिनाभित्र नै उनले आपराधिक लाभको कसुर गरेकाले जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आपराधिक लाभ लिन नहुने कानूनी व्यवस्थाअनुसार सात वर्ष कैद र सत्तरी हजार रूपैयाँ जरिवानासहित पटक पटक अपराध गरेको हुनाले पछिल्लो कसुरमा हुने अपराधको दोब्बर सजाय समेत मागदाबी गरेको थियो ।

उक्त माग दाबी पुग्ने भन्दै सोमबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले कसुर कायम हुने फैसला गरेका हुन् । अबको पेशीमा भने थापालाई कसुर कति वर्ष हुने किटान भनिने गरी पूरा फैसला आउने चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईँटेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *