मन्त्री मिटिङ छ भन्दै उठेर हिँडेपछि राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् (भिडिओ) – Nepal Press

मन्त्री मिटिङ छ भन्दै उठेर हिँडेपछि राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् (भिडिओ)

ऊर्जा मन्त्रालयको पत्रकार सम्मेलनमा राज्यमन्त्रीको अशोभनीय व्यवहार

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा राज्यमन्त्रीले सचिवप्रति ‘अशोभनीय’ व्यवहार देखाएका छन् । ऊर्जामन्त्री दीपक खड्का जरुरी मिटिङमा जानुपर्ने भन्दै उठेर हिँडेपछि राज्यमन्त्री पूर्णबहादुर तामाङले पत्रकार सम्मेलन हठात अन्त्य गरिदिए ।

ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सचिव सुरेश आचार्यले सञ्चालन गरेका थिए । सुरुमा उनले सक्षिप्त मन्तव्य राख्दै लाल आयोगको पूर्णपाठ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको जानकारी गराए । सोपश्चात उनले मन्त्रीलाई प्रश्न सोध्न फ्लोर ओपन गरे ।

पत्रकार र मन्त्रीबीच करिब १५ मिनेटमात्रै प्रश्नोत्तर भयो । मन्त्रीको छेउमा बसेका राज्यमन्त्री तामाङले कुनै पनि प्रश्नको सामना गर्न पाएका थिएनन् । सचिव आचार्यले बोल्दै गर्दा मन्त्री खड्काले घडी हेर्दै आफू एक जरुरी मिटिङमा जानुपरेको बताए ।

उनले कुर्सीबाट उठ्दै भने, ‘सचिवज्यू, राज्यमन्त्रीज्यू हुनुहुन्छ । केही जिज्ञासा छ भने उहाँहरुले भन्नुहुन्छ । हस धन्यवाद ।’

तर राज्यमन्त्री तामाङ पनि ‘नमस्कार’ गर्दै मन्त्रीसँगै जुरुक्क उठे । पत्रकारले सचिवलाई प्रश्न सोध्न थाले, तर राज्यमन्त्री तामाङले सचिवलाई जवाफ दिन रोके ।

‘सचिवज्यू प्लीज । अब क्लोज गरेर धन्यवाद दिनुस्, सकियो’, राज्यमन्त्रीले आदेश दिए ।

सचिव आचार्यले एउटा प्रश्नको जवाफ दिने बताए, तर राज्यमन्त्रीले अनुमति दिएनन् ।

‘छोड्दिनुस् । मन्त्री हिँडेपछि तपाईंले उहाँहरुसँग ऊ गरेर केही फाइदा छैन । क्याबिनेटको निर्णयमा तपाईंले ऊ गरेर हुन्छ ? मन्त्री हिँडेपछि तपाईंले कहाँ जवाफ दिएर बस्न मिल्छ ?’

त्यसपछि पत्रकारतिर हेर्दै उनले भने, ‘सम्बन्धित मान्छेले गरेको निर्णयमा उहाँले यो यो भन्नुपर्ने आवश्यकतै छैन ।’

सचिव आचार्य लज्जित देखिए । सबैजना जर्‍याकजुरुक उठेर हिँडे ।

स्मरणीय छ, मन्त्री खड्का र राज्यमन्त्री तामाङ एउटै पार्टी नेपाली कांग्रेसका हुन् ।


प्रतिक्रिया

2 thoughts on “मन्त्री मिटिङ छ भन्दै उठेर हिँडेपछि राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् (भिडिओ)

  1. यो चालाले कालोसूचीमा परेको हो कान्छाराम तामाङ हैसियत बेगरको मनुवा मन्त्री बन्न सकिन्छ तर सचिव हुन उही हो मति फिरोस

  2. उर्जा राज्य मन्त्रीकाे व्यवहार एकदमै निन्दनिय छ ।शेरवहादुरले यस्तै कु-पात्रहरू छानेर पठाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *