विद्यालयमा छैनन् विषयगत शिक्षक, छ महिनादेखि विज्ञान र गणितको पढाइ ठप्प
बझाङ । बझाङको एक विद्यालयमा गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ । छविसपाथिभेरा गाउँपालिका–७ मा रहेको मजखोरी माध्यामिक विद्यालयमा गणित र विज्ञान दुवै विषयका शिक्षक छैनन् ।
शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै अवरूद्ध भएको मजखोरी माध्यामिक विद्यालयका प्रधानाध्यापक बसन्त बहादुर मण्डेलले जानकारी दिए ।
कक्षा ९ र १० मा विज्ञान र गणित विषय पढाउने शिक्षक नपाउँदा विद्यार्थीलाई समस्या भएको प्रधानाध्यापक मण्डेलले बताए । शिक्षक नियुक्ति गर्न तेस्रो पटक विज्ञापन खोलिएपनि आवेदन परेको छैन । ६ महिनादेखि विद्यालयमा शिक्षक अभावमा सो विषय पढ्न नपाएको कक्षा १० मा अध्ययनरत छात्र निरज मण्डेलले बताए ।
सरकारले अध्यापन अनुमति पत्रलाई अनिवार्य गराएपछि विषयगत शिक्षकको अभाव झेल्दै आएका कारण विद्यार्थीले तेस्रो पटक विज्ञापन खोल्दा पनि शिक्षक पाउने, नपाउने निश्चित भएको छैन ।
विज्ञापन खोल्दा आवेदन नपर्ने भएपछि विद्यालयले अहिले अध्यापन अनुमति पत्र नभएपनि हुने गरी विज्ञापन आह्वान गरेको छ ।