हिउँदमा पनि मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन – Nepal Press

हिउँदमा पनि मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल उत्पादन घट्ने समय भए पनि पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो ।

तीन वटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख इन्जिनियर पशुपति गौतमले बताए ।

‘असोजमा अविरल भारी वर्षा भएको र कात्तिकमा समेत मुसलधारे वर्षा भएपछि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ’, उनले भने, ‘अहिले पानी प्रशस्त परेकाले अझै एक महिनासम्म पूर्ण क्षमतामै उत्पादन हुने सम्भावना देखिएको छ ।’

गत वर्ष सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट विद्युत उत्पादन भएकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको गौतमले बताए ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि बढ्ने उनले बताए ।

उनका अनुसार यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौंको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा विद्युत उत्पादन घट्छ । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *