उपनिर्वाचन: नतिजा सुधार्ने दाउमा सबै दल, रास्वपाको पहिलो परीक्षा
रास्वपाले शक्ति परीक्षण गर्दा माओवादी र नेकपा एसको आफ्नै दाउ, राप्रपा शक्ति बढाउने ध्याउन्नमा
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन नजिकिएसँगै दलहरु उम्मेदवार चयनमा व्यस्त छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता मंसिर २ गते हुँदैछ ।
अहिले कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादीदेखि केही स्वतन्त्र व्यक्तिहरुले पनि धमाधम उम्मेदवारी घोषणा गर्दैछन् । ४४ स्थानीय तहको रिक्त पदमा निर्वाचन हुँदै गर्दा ठूला दललाई चुनावी चटारोले छोपेको छ ।
४४ मध्ये २६ पद कांग्रेसबाट निर्वाचित भएको ठाउँमा रिक्त छ । गएको निर्वाचनमा माओवादी, नेकपा एससँग गठबन्धन गरेको कांग्रेस अहिलेको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दैछ । त्यसैले अहिले कांग्रेसलाई विगतमा आफूले जितेको क्षेत्रमा परिणाम दोहोर्याउन चुनौती बनेको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उम्मेदवार टुंग्याएपछि पार्टीले जित्ने क्षेत्रको विश्लेषण गर्ने बताए ।
उनले भने, ‘हामीले चाँडै सबै क्षेत्रमा उम्मेदवारी टुंग्याउने तयारी गरेका छौं । प्रायः सबै ठाउँमा एकल नाम नै आइरहेका छन् । अधिकांश ठाउँमा हामीले पहिले जितेको ठाउँमा चुनाव हुँदैछ । त्यो ठाउँ हामीले जसरी पनि प्राप्त गर्नुपर्छ भन्ने पक्षमा छौं । त्यहीअनुसार तयारी गरिरहेका छौं ।’
विगतमा पार्टीले जितेको क्षेत्रमा थप गरेर अझै केही ठाउँमा जित्नेगरी पार्टीले रणनीति बनाइरहेको उनले दाबी गरे ।
उनले भने, ‘गएको निर्वाचनमा जितेको आफ्नो क्षेत्र सुरक्षित गरेर त्योभन्दा बढी ठाउँ जित्छौं भन्ने हाम्रो विश्वास छ । अहिले त्यहीअनुसार रणनीति बनाइरहेका छौं । संख्या नै तोकेर हामीले अहिले पूर्वानुमान गरिसकेका छैनौं ।’
उम्मेदवार टुंगिएपछि सांगठनिक अवस्थाको बारेमा मूल्याङ्कन गरेर पार्टीले जित्ने क्षेत्रहरु निर्धारण गर्ने उनले बताए । पार्टीको नीतिअनुसार कुनै पनि क्षेत्रमा कांग्रेसले चुनावी गठबन्धन नगर्ने उनको भनाइ छ ।
यसअघि कांग्रेस-माओवादी गठबन्धनको कारणले आफूहरु खुम्चिएको निष्कर्ष निकालेको एमाले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको परिणामपछि हौसिएको छ । २०८४ को आमनिर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्यसहित अघि बढेको एमालेले अहिलेको निर्वाचनबाट आफ्नो परीक्षण गर्दैछ ।
अहिले उपनिर्वाचन हुन लागेकामध्ये एमालेले जितेका ८ स्थानमात्र छन्, तर पार्टीले यो निर्वाचनलाई महत्वपूर्ण रुपमा लिएर सबै ध्यान उपनिर्वाचनमा केन्द्रित भइसकेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनले भने, ‘कीर्तिपुर नगरपालिकासहित बहुमत स्थानीय निर्वाचनमा जित्छौं । हामीले त्यहीअनुसार रणनीति बनाएर पार्टी पंक्ति परिचालन गरेका छौं । पार्टी सचिवालय बैठकले पनि त्यहीअनुसार आह्वान गरिसकेको छ ।’
उनले यस पटक सबै एक्लाएक्लै चुनाव लडे पनि रिक्त ४४ मध्ये कम्तीमा २३ क्षेत्रमा एमालेले जित्ने आँकलन गरेको बताए । कांग्रेससँग अहिले सरकारमा सहकार्य गरेको भए पनि चुनावमा मित्रवत प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । एमालेले अहिलेसम्म अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेको छ ।
त्यसो त दुई ठूला दलले एक्लाएक्लै लड्ने नीति अख्तियार गरेपछि माओवादीलाई पनि गएको निर्वाचनमा आफ्नो पार्टीले जितेको क्षेत्र सुरक्षित गर्नैपर्ने दबाब छ । सरकारबाट बाहिरिपछि पार्टी निर्माणको अभियानमा जुटेको माओवादीलाई यो उपनिर्वाचन कठिन परीक्षा हुनेछ ।
माओवादीले पनि यसअघि जितेका ८ स्थानमा अहिले उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले एक्लै चुनाव लडे पनि विगतमा जितेको क्षेत्र आफ्नै पार्टीले जित्ने दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टीमा विगतको भन्दा जनमत छ । अहिलेको चुनावमा विगतको क्षेत्र सुरक्षित गरेर हामी केही थप गर्छौं । नतिजा सुधार गर्छ माओवादीले यसपटक । हामीले यो पटक एक्लै चुनाव लड्ने पदाधिकारी बैठकबाट निर्णय गरिसकेका छौं ।’
उनले अहिलेसम्म एक्लै लड्ने तयारी गरे पनि आवश्यकताको आधारमा विपक्षी दलसँग सहकार्य हुनसक्ने पनि बताए ।
जसपा नेपाल र स्वतन्त्र उम्मेदवारले जितेको एकएक क्षेत्रमा पनि उपनिर्वाचन हुँदैछ । पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रवि लामिछाने नेतृत्वको रास्वपाको पनि शक्ति परीक्षण हुनेछ । रास्वपाले पनि अहिले मिलेसम्म सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने लक्ष्यका साथ कमान्डर खटाइसकेको छ । अघिल्लो स्थानीय चुनाव हुँदा रास्वपा जन्मेको थिएन ।
यस्तै राप्रपाले पनि विगतमा भन्दा स्थानीय तहको निर्वाचनको नतिजामा सुधार ल्याउने लक्ष्यका साथ प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । गएको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको भए पनि अहिले सुधार गर्ने लक्ष्यका साथ पार्टीले काम गरिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
उनले भने, ‘यसपालि कतिपय ठाउँमा हामीले जित्ने माहोल देखेका छौं । जित्न नसकेको ठाउँमा हामी पहिलाको भन्दा सुधार गरेर जान्छौं । त्यसैले हामीले यो उपनिर्वाचनलाई महत्वपूर्ण रुपमा हेरेका छौं ।’
त्यसो त माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि अहिले पार्टीको शक्ति परीक्षण गर्ने तयारी गरेको छ । विपक्षी दलसँग सहकार्यको बाटो खुला राखे पनि एक्लै लड्नलाई प्राथमिकतामा राखेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।
उनले भने, ‘अब स्थानीय तहको निर्वाचन भएपछि कार्यगत एकता गर्ने भए पनि जिल्लाले नै निर्णय गर्छ । हामीले सबै जिम्मेवारी तल दिएका छौं । आफ्नो अनुकूल हेरर तालमेल गर्न सकिन्छ ।’
यो उपनिर्वाचनमा माओवादी र नेकपा एसबाहेक अन्य दलहरुबीच सहकार्यको सम्भावना कमै देखिएको छ । सबैले आआफ्नो तयारी गर्दा मुख्य प्रतिस्पर्धी सत्तामा सहकार्यमा रहेका कांग्रेस-एमालेले नै रहेका छन् ।