पक्राउसँगै अधिकारी पक्राउकाे विषयमा संसद सचिवालयले सूचना टाँस्दै
विराटनगर । कोशी प्रदेश सरकार पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गर्ने तयारी गरेको छ ।
एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै संसद् सचिवालयले सूचना टाँस गर्ने तयारी गरेको हो । जापान काण्डमा मुछिएपछि अधिकारीलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन अन्तरगत अनुसन्धानका लागि हिरासतमा राखी अनुसन्धान गर्न अदालतबाट अनुमति पाएसँगै उनको दल नेकपा एमालेले हिजै अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सँगै अधिकारीको पक्राउबारे प्रहरीले प्रदेशसभाका सभामुखलाई मौखिक जानकारी दिइसकेको छ ।
आज लिखित जानकारी आएकाले सूचना टाँस गर्ने तयारी भएको संसद् सचिवालयका प्रवक्ता गौतमराज अमात्यले बताए ।
संसद् नचलेको अवस्थामा प्रदेश सभाका कुनै सदस्य पक्राउ परेमा त्यसको सूचना प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्ने कानुनी व्यवस्था छ । सो कुराको जानकारी सभामुखलाई भएसँगै संविधानको व्यवस्था अनुसार प्रहरीले प्रदेशसभालाई अधिकारी पक्राउ गरेको सूचना दिइसकेको छ ।
प्रदेशसभा नियमावलीको नियम १९० मा प्रदेशसभाको सदस्य पक्राउ सम्बन्धी व्यवस्था छ । सो नियमको उपनियम २ मा बैठक नचलेको अवस्थामा प्राप्त भएको सूचना सचिवालयको सूचना पाटीमा टाँस गरी प्रचारप्रसार गर्नुपर्ने व्यवस्था रहेको छ । सोही नियमको उपनियम ३ मा त्यस्तो सदस्यलाई प्रदेशसभाको सदस्यको हैसियतमा काम गर्न रोक लगाउने व्यवस्था रहेको छ ।
प्रदेश सभा नियमावली १९० को उप नियम ४ मा प्रदेशसभाको सदस्य ३ वर्ष वा सोभन्दा बढी कैद हुने वा नैतिक पतन देखिने फौजदारी अभियोगमा पुर्पक्षको लागि थुनामा गएमा सभामुखले त्यस्तो सदस्यलाई निलम्बन गर्ने व्यवस्था रहेको छ ।
अधिकारीलाई नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पनि आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।