प्राकृतिक विपत्तिको असर : बीपी राजमार्गको यात्रा कष्टकर
काठमाडौं । उदयपुर गाईघाटकी बिना तिम्सिनालाई काठमाडौं आइपुग्न १६ घण्टा लाग्यो । बीपी राजमार्ग हुँदै शुक्रवार काठमाडौं आएकी उनले घरबाट निस्किँदै गर्दा १० घण्टामै गन्तव्यमा पुग्छु भन्ने ठानेकी थिइन् । तर, खराब बाटो र घण्टौँसम्मको जामले उनको यात्रा निकै कष्टकर बन्यो ।
‘बाटो बिग्रेको छ भन्ने थाहा थियो, तर यति धेरै बिग्रेको छ भन्ने लागेको थिएन’, तिम्सिनाले भनिन, ‘काठमाडौं पुग्नै हम्मेहम्मे पर्यो ।’
तिम्सिनाका अनुसार उनी गाईघाटबाट बिहान ८ बजे काठमाडौंका लागि निस्केकी थिइन् । यात्रुवाहक हायसमा काठमाडौं हिँडेकी उनको यात्रामा मुलकोटसम्म खासै समस्या भएन तर त्यहाँदेखि काभ्रेभञ्ज्याङसम्म भने निकै सकसपूर्ण बन्यो ।
‘यो बीचको बाटो निकै जोखिम रहेछ । जाम पनि उस्तै । घण्टौँसम्म जाममा बस्नुपर्यो । माथितिर सुख्खा पहिरो जाने हो कि भन्ने डर, तलतिर खोलै छेउमा सडक छ,’ उनले सुनाइन् ।
असोजको दोस्रो साता आएको बाढी पहिरोका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीदेखि नेपालथोकसम्मको सडक बगाएको छ । बाढीले सडक बगाएपछि रोशी खोलाको किनारमा डाइभर्सन बनाएर राजमार्गको क्षतिग्रस्त भागको छेउछेउबाट सवारी आवागमन चलाइएको छ । दशैं अगाडी नै बगाएको सडक यात्रुहरूको सहजताको लागि छिटोछिटो डाइभर्सन बनाइएको थियो । जसका कारण उक्त खण्डमा बनाइएको सडकको अवस्था राम्रो छैन ।
बाढी पहिरोले बीपी राजमार्ग क्षतविक्षत भएका कारण यो मार्ग प्रयोग गर्दै काठमाडौं उपत्यका भित्रिने यात्रुहरूले निकै सास्ती भोग्नु परेको उनीहरूको गुनासो छ ।
घण्टौँसम्म जाम हुने गरेका कारण यात्रुहरूलाई समयमा काठमाडौं पुर्याउन गाह्रो हुने गरेको ललन साहले सुनाए । भकुण्डेबेसीको जाममा भेटिएका साहले भने, ‘जनकपुरदेखि काठमाडौंका लागि यात्रु लिएर हिँडेको नौ घण्टा भइसक्यो अहिलेसम्म यहीँ छौँ । पहिले यात्रुहरूलाई नौ घण्टामा काठमाडौं पुर्याइसक्थेँ । अहिले काभ्रेभन्ज्याङ पुर्याउन गाह्रो छ ।’
यो राजमार्ग प्रयोग गरेर यात्रा गर्नेहरू स्थायीरुपमा बनाएको सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । ज्यान जोखिममा राखेर आवातजावत गर्नु पर्ने बाध्यता रहेको यात्रुहरूको भनाई छ ।
दशैं, तिहार र छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ पुगेका सर्वसाधारण अहिले धमाधम फर्किन थालेका छन् । काठमाडौं उपत्यका फर्किने यात्रुहरूको संख्या बढेसँगै बीपी राजमार्गमा सवारी साधनको चाप पनि बढेको छ । पूर्वका विभिन्न ठाउँबाट यात्रुहरूलाई साना गाडीदेखि मिनीबससम्मले काठमाडौं उपत्यका ल्याइरहेका छन् । सवारी चाप बढेको बीपी राजमार्गको अवस्था भने नाजुक रहेको छ ।
यो राजमार्ग हुँदै पूर्वबाट काठमाडौंका लागि निस्किएका यात्रुहरूलाई मुलकोटसम्मको सडकमा खासै समस्या छैन । तर, त्यसयताको यात्रा भने निकै कष्टकर बन्ने गरेको छ । मुलकोटदेखि नेपालथोकसम्मको यात्रा सास्तीपूर्ण छ । ठाउँठाउँमा पहिरोले सडक पुरेको छ । त्यहाँबाट अगाडी लागेपछि सग्लो अवस्थाको सडक भेटिन मुस्किल छ । रोशीको किनारको बगरै बगर यात्रा गर्नुपर्ने हुन्छ ।
नेपालथोकदेखि भकुण्डेबेसीसम्मको यात्रा झनै कष्टकर छ । त्यस क्षेत्र अन्तर्गतका बस्तीहरू खण्डहर अवस्थामा देखिन्छन् । कहीँ घरहरू पुरिएका छन् भने कहीँ आधा घर ढलेको अवस्थामा देखिन्छन् । रोशीले गाउँ नै बगाएका कारण त्यसक्षेत्रमा घण्टौंसम्म जाम परेका यात्रुहरूले पिउने पानी पाउन समेत मुस्किल छ ।
‘रोशीले गाउँ नै बगाएर लगेको छ । यही ठाउँमा घण्टौँ जाम हुँदो रहेछ । खानेकुरा किनेर खान पसल भेटिँदैन । पानी समेत पाउन मुस्किल छ,’ तिम्सिनाले भनिन् ।
बीपी राजमार्ग हुँदै यात्रामा निस्किएका यात्रुहरूलाई खानेकुरा र पानी बोकेर हिँड्न उनको सुझाव छ ।
सडकमा पहिरो गएका कारण केही स्थानहरूमा एकतर्फी सञ्चालन गरिएको छ । एकतर्फी सञ्चालन गरिएको ठाउँमा लामो समयसम्म जाम हुन्छ । क्षतिग्रस्त बनेको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण यात्रामा समस्या थपिएको छ । भकुन्डेबेसीदेखि काभ्रेभन्ज्याङसम्म सुक्खा पहिरोका कारण घण्टौँ जाम हुने गरेको छ ।
जामका कारण भकुन्डेबेसीदेखि काभ्रेचन्ज्याङ पुग्न पाँचदेखि सात घण्टासम्म लाग्ने गरेको सवारी चालक उमेश दनुवार बताउँछन् । विगत चार वर्षदेखि बीपी राजमार्ग हुँदै उदयपुर–काठमाडौं यात्रुवाहक हायस चलाउँदै आएका दनुवार भन्छन्, ‘यसपालि बीपी राजमार्गमा विपत्तिले कष्ट थपेको छ । पहिले यात्रुहरूलाई गन्तव्यमा पुर्याउन १० घण्टा पनि लाग्दैन थियो । अहिले १५ घण्टामा पनि पुर्याउन मुस्किल छ । जाम भयो भने त्यो पनि टुंगो छैन । कहिलेकाहीँ पाँच÷सात घण्टा जाममै परिन्छ ।’
अफ्ठ्यारो भएको कुनै–कुनै ठाउँमा यात्रुहरूलाई ओरालेर हिँडाउनु पर्ने बाध्यता समेत रहेको उनले सुनाए । ‘जाम मात्रै होइन कुनैकुनै ठाउँमा यात्रुहरूलाई ओरालेर हिँडाउनु समेत पर्छ । के गर्नु बाटो नै यस्तो छ’, चालक दनुवारले भने ।
क्षतिग्रस्त सडक आसपासमा सुख्खा पहिरोको जोखिम रहेका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
पुनर्निर्माणमा जाइकाको चासो
क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले चासो देखाएको छ । काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि जाइकाले स्थलगत अवलोकन गरिसकेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशका अनुसार सडक पुनर्निर्माणका लागि जाइकाको प्राविधिक टोलीले दुई पटक स्थलगत अवलोकन गरिसकेको छ । सडक डिभिजन कार्यालय भक्तपुरले पनि स्थलगत निरीक्षण तथा सर्भे गरिरहेको छ । नेपाल सरकारको सर्भेपछिको प्रतिवेदन र जाइकाको निरीक्षण प्रतिवेदनपछि पुनर्निर्माणको काम थालिने तयारी गरिएको छ ।
एक महिनाभित्रमा प्रतिवेदनसहित निर्णय आउने योगेशले बताए । उनले भने, ‘एक महिनाभित्रमा रिपोर्ट तयार गर्नेगरि काम गरिरहेका छौँ । एक महिनापछि पुनर्निर्माणको काम थाल्छौँ ।’ क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि सात अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको समेत उनले जानकारी दिए ।
क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि जापानको सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत छलफल गरेका थिए । गत असोज ३० गते प्रधानमन्त्री ओलीले नेपालका लागि जापानका राजदूत किकुता युताकासँग सहयोगबारे छलफल गरेका थिए ।
जापान सरकारले बीपी राजमार्ग १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । जापान सरकारले बनाएको सडक भएकोले पुनर्निर्माण पनि उनीहरूले नै गर्नेगरि चासो देखाएको योगेशले बताए ।
उनले भने, ‘जाइकाले बनाइदिएको सडक हो यो । अब पुनर्निर्माण पनि उनीहरूले नै गर्नुपर्छ भन्ने हो । पुनर्निर्माणका लागि उनीहरूले चासो पनि देखाएका छन् । पटक–पटक स्थलगत निरीक्षण गरिरहेका छन् । चाडै नै पुनर्निर्माणको काम शुरु हुन्छ ।’