बयानका लागि रवि लामिछानेलाई रुपन्देही लगिने – Nepal Press

बयानका लागि रवि लामिछानेलाई रुपन्देही लगिने

रुपन्देही । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ ।

२४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई ल्याउने तयारी गरेको हो। यसका लागि रुपन्देही अदालतबाट प्रहरीले अनुमति लिइसकेको छ ।

कात्तिक २ गतेदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ।

रुपन्देही प्रहरी श्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार विमानबाट भैरहवा ल्याइने तयारी गरे पनि विमानको समय नमिलेपछि मङ्गलवार ल्याइने भएको हो । रास्वपा स्रोतले पनि प्रहरीले रुपन्देही ल्याउने तयारी गरिएको सूचना पाए पनि औपचारिक जानकारी केही नआएको जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई सोमबार साँझ रुपन्देही ल्याउने तयारी गरिए पनि साँझ पोखराबाट आउने विमान नभएकाले मङ्गलवार ल्याइने जनाएका छन् ।

प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउँदा सहकारी पीडित र रास्वपा कार्यकर्ताको सम्भावित प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत जिल्ला सुरक्षा संयन्त्रका बीचमा अनौपचारिक छलफल गरिएको छ ।

रुपन्देही जिल्ला अदालतबाट प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन्। बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाई सकिएको छ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ।

२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन्। ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ।

उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ। लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ।

गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन्। केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ। रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन्।

संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जीवी० राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सहकारी पीडितले प्रश्न उठाउँदै आएका थिए।

प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए। तर अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर