कन्दरा ब्यान्डका हिट ५ गीत : १६ वर्षे उमेरमै सुनिलले बनाएको ‘हङकङ पोखरा’ र ‘तिमी पारि’
काठमाडौं । शनिबार राति ठमेलस्थित एलओडी क्लबमा कन्दरा ब्यान्डले त्यही रुप देखायो, जुन रुप तीन दशकअघि देखाउने गर्थ्यो । कन्दरा ब्यान्ड स्टेज चढेको के थियो, दर्शकहरुले हुटिङ सुरु गरे । सिठ्ठी फुके, चिच्याए, साइसाइ सुईंसुईं गरे ।
गायक विवेक श्रेष्ठ, गीतकार तथा संगीकार सुनिल थापा १६-१७ वर्षकै ऊर्जा लिएर स्टेज उक्लिए । चाहे ‘हङकङ पोखरा’ होस् या ‘तिमी पारि’ वा ‘लेककी हे माया’ होस् या ‘तगारोमा रुमाल राखी’ ! कहिले विवेकले गाउँथे त कहिले दर्शकले ।
कुनै कुनै गीत त दर्शकले मात्रै गाउँथे, विवेकले माइक दर्शकतिर सोझ्याइदिन्थे । दर्शकको क्रेज हेर्दा लाग्थ्यो, ३०-३२ वर्ष भनेको एकदमै छोटो समय हो । ३०-३२ वर्ष पुराना गीतहरुको क्रेज उस्तै थियो ।
यसरी भावनात्मक रुपले सोच्दा ३०-३२ वर्ष लामो समय होइन । संख्यात्मक रुपले भने निकै नै लामो समय हो । मानवशास्त्रीहरु २५ देखि ३० वर्षको उमेरलाई एउटा पुस्ता मान्छन् । यस हिसाबले पनि अनेक आरोह-अवरोहका बीच कन्दराले गुजारेको समय लामै हो ।
यो तीन दशकबिचमा ठूल्ठूला राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तन भए । क्यासेट, सीडीको जमानाबाट गीत-संगीत डिजिटल स्ट्रिमिङमा गयो । पोखरामा गीत गाउने १५-१६ वर्षका विवेक, सुनिललगायतले पनि ५० वर्ष हिर्काउन थालिसके, तर कन्दराले बोकेको लोक स्वाद र नोस्टालजिया भने उस्तै ताजा छ । पश्चिमा शैलीको पप गीतमा नेपाली रैथाने संगीत मिसाइएका कन्दराका गीतहरुको स्वाद बेग्लै छ ।
०००
काठमाडौंमा पहिलो अफिसियल कन्सर्ट गरेको कन्दराका गीतहरुको कथा छुट्टै छ । १४ वर्ष विदेशिएका विवेक र नेपालमै अलमलिएका सुनिलले सृजना गरेका सुन्दर गीतहरुको रचना गर्भको प्रसंग अलग्गै छ ।
हिउँ त होइन फाप्रेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र
२०५४ सालको कुरा हो । सुनिल साहित्यकार सरुभक्तको घर गएका थिए । सरुभक्तसँग गीतहरुका पाण्डुलिपि नै थियो । यो गीत हेर्नासाथ सुनिललाई लाग्यो, ‘यो गीत त कन्दरालाई चाहिएको गीत हो ।’
सुनिलले भने, ‘दाइ यो गीत हामी गर्छौं ।’
सरुभक्तले ‘हुन्छ’ भने । सुनिल यो गीत लिएर फिरे । शब्दहरु मनन गरे ।
सुनिलको अलि पुरानो घर थियो । त्यहाँ बसेर हातमा गितार लिएर गीत गुनगुनाउने गर्थे । नयाँ शब्दका लागि नयाँ ट्युन निकाल्न कोसिस गर्थे । सुनिललाई यो गीत एकदमै मन परेकोले गितारमा ट्युन निकाल्न कोसिस गरे ।
‘जब हामीलाई मन छुन्छ, मजा लागिहाल्छ । अनि केही न केही फुरिहाल्छ । यो गीतको ट्युन पनि फुरिहाल्यो’, सुनिल सुनाउँछन्, ‘कुनै कुनै गीतको शब्दमा पस्नुपर्ने हुन्छ, घोटिनुपर्ने हुन्छ । गाह्रो हुन्छ, महिनौं लाग्न पनि सक्छ, तर मनमा पसेपछि भने खरर निस्किहाल्छ । त्यसैले सबै गीत एकै तरिकाले सृजना हुँदैन ।’
नयाँ गीत बन्नासाथ सुनिलले विवेकलाई सुनाइहाल्थे । विवेक पनि गाउन अभ्यास गरिहाल्थे । यो गीत काठमाडौंको सिम्फोनी स्टुडियोमा रेकर्ड भएको थियो ।
०००
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यै रुमालमा पन्चासेको फूल राखें मैले
विनोद गौचनले लेखेको यो गीत अर्कै प्रयोजनका लागि लिएका थिए सुनिलले, तर विनोदले गीतको सन्दर्भ बताएपछि सुनिललाई लाग्यो, ‘यो गीत त कन्दरालाई सुहाउँछ ।’
यसपछि सुनिलले संगीत तयार गरे । विनोदलाई सुनिलले भने, ‘गीत कम्पोज गरिसकें दाइ ।’
यो कुरा २०६१ सालको हो । गीतको एरेन्ज पनि सुनिलले नै गरेका थिए । गीतको रेकर्डिङ पोखरामै भएको थियो । गीत फाइनल भएपछि सुनिल र विवेकले विनोदलाई स्टुडियोमा बोलाए ।
विनोद एकदमै कम बोल्ने स्वभावका थिए । बोल्दा पनि एकदुई शब्दमात्रै बोल्थे । गीत सुनेपछि विनोदले एकै कुरा भने, ‘ल सुनिल, म खुसी भएँ । गीतले एकदमै निकास पाएछ ।’
सुनिल सुनाउँछन्, ‘दाइको यो प्रतिक्रियाले एकदमै खुसी दियो । यो प्रतिक्रिया उहाँको आशीर्वाद जस्तो लाग्यो । गीत सुनेपछि उहाँले दिनुभएको प्रतिक्रिया म कहिल्यै बिर्सन्नँ ।’
०००
लेककी हे माया मोहनी सबैलाई लगाउने
आँखाको रिमझिमले मन नै खलबलाइदिने
यो गीत सुन्दा जति म्याच्युर्ड सुनिन्छ, गीत निर्माण गर्दा भने सुनिल, विवेक जम्माजम्मी १६-१७ वर्षका थिए । एसएलसी दिएर रिजल्ट कुर्दै बसेका थिए उनीहरु । परीक्षाको ह्याङ सकिएपछि सुनिल प्रफुल्लित मुद्रामा थिए । उमेर पनि किशोरकाल थियो, यसै रोमाञ्चित ।
सुनिल सुनाउँछन्, ‘यो गीतको मेलोडी र शब्द एकै पटक आएको हो ।’
कन्दराका गीतहरुमा लोकबाजाहरुको संयोजन छ, तर १६-१७ वर्षको उमेर, पश्चिमा पप गीतको माहोल, ड्रम र गितारको हल्लाबीच लोकबाजा प्रयोग गर्ने सोच चाहिँ कसरी आयो ?
सुनिल सुनाउँछन्, ‘लोकगीत र लोकबाजा त हाम्रो रगतमै आएको कुरा हो । संगीत तयार गर्नुअघि नै अवचेतनमा लोक मेलोडी आइसकेको हुन्थ्यो । इनपुट जे हो, आउटपुट पनि त्यही त हुने हो ।’
०००
तिमी पारि त्यो गाउँमा चुलबुल चुलबुल गर्दै हिँडिराखेकी
म वारि यो गाउँमा आँखा तर्दै तिमीलाई नै हेरिराखेको
नशा लागिसकेछ, व्यथा बनिसकेछ, माया बसिसकेछ
यो गीतको पनि संयोग कस्तो भने शब्द र संगीत एकै पटक तयार भएको हो । ‘लेककी हे माया’ गीत तयार पार्दाकै वेलामा हो । समय दशैंको थियो । पारिलो घाम लागेको थियो । काउरोको रुखमुनि गितार लिएर बसेका थिए सुनिल । पारि बाँसघारी थियो । घाम चाहिँ साँझको थियो ।
गितारमा ओपन सी कर्ड बजाए । अनि त के चाहियो, चलबुले मुडमा गीत सरर आयो, मेलोडी पनि बनिहाल्यो । सुनिलको दिमागमा गीतको थिम पनि आइहाल्यो । अनि शब्द फुराउँदै गए । शब्दहरु सहजै फुर्दै गए । मेलोडी पनि फुर्दै गयो ।
‘मलाई शरद ऋतु एकदमै मनपर्ने, घाम पनि सुनौलो हुन्छ योवेला । चुलबुले मुडमा गितार लिएर गुनगुनाउँदा यो गीत फुरेको थियो । त्यसवेला मेलोडी याद गर्नुपर्थ्यो, अहिले जस्तो रेकर्ड गर्ने साधन थिएन’, सुनिल सुनाउँछन् ।
गीत २०५३ सालमा तयार भयो ।
०००
विदेशिएर गइन् उनी मलाई छाडेर
तर रुन आँसु बाँकी छैन अब केही
हाँसो भन्ने भाग्यमै छैन
विदेशिएर गइन् उनी मलाई छोडेर
तर मैले नचिनेर हो मैले नचिनेर
यो गीत चाहिँ क्लबमा हुँदाको वेला हो । पोखरामा पिस ह्यान्की क्लब थियो । यसमा ५० जना जति युवा संलग्न थिए । गीत-संगीतको माहोल गजबको बन्थ्यो । त्यही समयमा सुनिलले यो गीत तयार पारे ।
यो गीत बनाउँदै गर्दा सुनिलका बुवा गम्भीर बिरामी भए । प्यारालाइसिस भएर बुवाको आँखा र मुखमात्रै चल्थ्यो । अस्पतालमा बुवाको कुरुवा विवेकहरु बसे । विवेकहरुले नै नाइट बसमा सुनिललाई गीतको तयारीका लागि काठमाडौं पठाए ।
एक महिना अस्पताल बसेपछि बुवा ठीक भए । सुनिल पनि गीत तयार गरेर पोखरा फर्के । यसपछि विवेक काठमाडाैं आएर गीत रेकर्ड गरे ।
नेपालीविनाको गीत पनि के गीत !
पिस ह्यान्की क्लबमै रहेको एउटा समूहले अर्को ब्यान्ड खोलेको थियो, ‘२४ क्यारेट’ । रक संगीतमा रुचि राख्नेहरु विजय गुरुङ, बुद्धराज बज्राचार्य, दीपकराज मुल्मी, सुनिल भट्टचन, आनन्द तजियालगायत ‘२४ क्यारेट’मा थिए । ‘२४ क्यारेट’ नै कालान्तरमा ‘कन्दरा’मा रुपान्तरण भयो । र यसको नेतृत्व लिए सुनिल र विवेकले ।
सुनिल र विवेकले कन्दरालाई एउटा उचाइमा पुर्याए । कन्दराले श्रोता-दर्शकहरुको अथाह माया पायो । कन्दरा भन्नासाथ क्रेज नै अर्कै थियो । ठूल्ठूला कन्सर्टहरु गरे । परिस्थिति र बाध्यताहरुले विवेक विदेश गए । सुनिल पोखरामै अलमलिए । सृजनाको आयु नभए पनि सृजनाले ल्याउने क्रेजको चाहिँ आयु हुँदोरहेछ है ?
विवेक सुनाउँछन्, ‘सधैं शिखरमा रहिरहने कुरा असम्भव हो । यद्यपि हामीले सफलताको पछि लागेर काम गरेका थिएनौं । सफलता त हामीले गरेको कर्मको बाइप्रोडक्ट हो ।’
हिजो ३२ वर्ष अगाडि जसरी काम गरेको हो, अहिले पनि त्यसरी नै काम गरिरहेको विवेक बताउँछन् । हिजो र आजमा आफूहरुले खर्च गरिरहेको ऊर्जामा केही कमी नगरेको बताउँछन् ।
सुनिल थप्छन्, ‘सफलताको हकमा कन्दराले हाइट बनाएको ५० को दशकमै हो, तर अहिले पनि हाम्रो सक्रियतामा कुनै कमी छैन ।’
अनि अहिलेको नयाँ पुस्ताले पाइरहेको क्रेज देख्दा कस्तो लाग्छ ?
विवेक सम्झन्छन्, ‘हाम्रो पालामा झनै पाँच-छ वटा डाँडा काटेर दर्शकहरु कन्सर्टमा आउँथे । त्यो क्रेज र यो क्रेजमा अहिले फरक छ । अहिलेको क्रेज सञ्जालमा फोटो र भिडियोमा देखिने हो, तर तीन दिन लगाएर गाडी चढेर आउने दर्शक त हामीले देखेको हो नि !’
समय परिवर्तनशील छ, यसलाई सुनिल र विवेक स्वीकार गर्छन् । नयाँ पुस्ताले गाएका गीतहरुलाई पनि उनीहरु स्वाभाविक लिन्छन्- अहिलेको दर्शक, श्रोताको स्वाद जे छ, त्यही आइरहेको छ ।
‘तर कला-संस्कृतिमा मौलिकता हराउनु चाहिँ हुँदैन । यसमा भाइबहिनी सजग हुनुपर्छ । विश्वलाई हामीले चिनाउने धुन त बाँसुरी, मादलकै हो नि ! ड्रमर र गितारिस्ट त युरोप-अमेरिकामा छँदैछन् । हामीलाई चिनाउने त रेशम फिलिली गीतले नै हो नि’, सुनिल भन्छन् ।