विद्यालय तहको गलत पाठ्यक्रम सच्याउन अनेरास्ववियु काठमाडौंको माग – Nepal Press

विद्यालय तहको गलत पाठ्यक्रम सच्याउन अनेरास्ववियु काठमाडौंको माग

काठमाडौं । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी सच्याउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै पाठ्यपुस्तकमा रहेका गल्तीहरु तत्काल सच्याउन माग गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर राज्यको लगानीमाथि गम्भीर घात गरेको अनेरास्ववियु काठमाडौंको आरोप छ ।

जिल्ला कमिटीको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विद्यार्थीको भविष्यसँग, विवेकसँग, जवानीसँग, समय र श्रमसँग खेलबाड गरेको छ । राज्य कोष दुरुपयोग गरेको छ । यसमा संलग्न जिम्मेवार, विषय समितिहरु, व्यक्तिहरु तथा संयन्त्रहरुको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ । तत्काल पाठ्यपुस्तकमा भए, गरेका कमीकमजोरी सच्याउन छानबिन गरी २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तकमा सच्याएरमात्रै प्रकाशित र वितरण गरिन पर्छ । पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले ,यहाँका समितिको लापरबाहीले सरकारी डकुमेन्टप्रतिको विश्वास टुटेको छ ।’

२०७८ साल कार्तिक/मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा २०७९ चैत १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्याङ्क राखिनु, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा प्रकाशित भइसकेको जानकारी नहुनु, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको विषयमा पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनु दुःखद अनेरास्ववियु काठमाडौंको भनाइ छ ।

विषय समितिले पेस गरेको पाठ्यसामग्रीको मस्यौदालाई पाठ्यक्रम विकास केन्द्रकै प्रमुख, अध्यक्ष रहेको समन्वय तथा सम्पादन समितिले अध्ययन गर्ने र सुझाव दिने, पाठ्यसामग्री मूल्याङ्कन गर्ने, स्वीकृत गर्ने जिम्मेवारी हुन्छ, तर त्रुटिपूर्ण पाठ्यपुस्तक लाखौंलाख बालबालिकाको हातमा थमाएर गलत कुरालाई पढाउन लगाउनु गलत भएको संगठनको ठहर छ ।

ध्यानाकर्षणपत्र बुझिलिँदै केन्द्रका महानिर्देशक श्रेष्ठले आगामी शैक्षिकसत्र २०८२ देखि नै लागु हुने गरी पाठ्यपुसत्क सच्याउने प्रतिबद्धता व्यक्त गरेको संगठनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *