राष्ट्रपति पौडेललाई सांसदहरुले बुझाए कोप- २९ मा राखिने नेपालको धारणासहितकाे अनुरोधपत्र – Nepal Press

राष्ट्रपति पौडेललाई सांसदहरुले बुझाए कोप- २९ मा राखिने नेपालको धारणासहितकाे अनुरोधपत्र

काठमाडौ । नेपालमा जलवायु परिवर्तनको असर र यसले पारेको प्रभावबारे चासो राख्दै सक्रिय रहेका सांसदहरूको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी आगामी कोप- २९ मा नेपालका तर्फबाट राखिनुपर्ने धारणा समेटिएको अनुरोधपत्र बुझाएको छ ।

शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको समेत उपस्थितिमा सांसदहरूले आगामी जलवायु परिवर्तन सम्मेलन (कोप- २९) मा नेपालका तर्फबाट उठान गर्नुपर्ने मुख्य धारणा र मुद्दाबारे पत्र हस्तान्तरण गरेको प्रतिनधिसभा सदस्य माधव सापकोटाले जानकारी दिए ।

सांसदहरुले बुझाएको अनुरोधपत्रमा नेपालले जलवायु परिवर्तनबाट खेप्नुपरेको भयावह अवस्थामा मूलतः हानि-नोक्सानी कोषको पहुँचलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

साथै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै पानी, जैविक विविधता, र पर्यावरणीय सेवा प्रदान गर्ने देशका रूपमा आफ्ना मागहरू स्पष्ट राख्नुपर्ने सुझाव दिइएको छ ।

अनुरोधपत्रमा नेपालको जलवायु अनुकूलन प्रयासका लागि उपलब्ध कोष अत्यन्त न्यून भएको र यसले जलवायु न्यायको सिद्धान्तलाई कमजोर बनाएको उल्लेख छ । नेपालले आफ्नो कुल भूभागको ४५ प्रतिशत वन जोगाएर पर्यावरणीय सन्तुलन कायम राखेको तथा विद्युतीय सवारीसाधनको प्रयोग र नवीकरणीय ऊर्जा उत्पादनमा प्रगति गरेको भए पनि आवश्यक वित्तीय सहयोग नपाउँदा योजना प्रभावकारी बन्न नसकेको विषय उठान हुनुपर्ने सांसदहरूको भनाइ छ ।

सांसदहरूले कोप- २९ मा नेपालको माग र अडानको रूपमा जलवायु अनुकूलन कोषको पहुँचलाई दोब्बर बनाउन, हिमाल, मानव र जलवायु परिवर्तनको मुद्दालाई मुख्य प्राथमिकतामा राख्न, क्षति-नोक्सानी कोषलाई ऋणका सट्टा सहयोगका रूपमा उपलब्ध गराउन तथा कार्बन उत्सर्जन कटौतीका लागि ठोस योजना बनाउनुपर्ने बुँदा समावेश गर्न आग्रह गरेका छन् ।

पत्रमा नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा प्रवेश गर्न लागेको सन्दर्भमा नेपालको जलवायु न्यायको मुद्दामा सहकार्य गरिरहेको अति कम विकसित मुलुकहरूको सञ्जालबाट बाहिर आउँदा हाम्रो सहकार्य कस्ता राष्ट्रहरूको सञ्जालसँग गर्ने भन्ने विषयमा रणनीतिक छलफल गर्न आवश्यक रहेको उल्लेख छ ।

सांसदहरुका तर्फबाट सापकोटाले अनुरोधपत्रबारे जानकारी गराएकोमा राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा यी विषयलाई समेट्न प्रयास गर्ने बताएका थिए ।

अनुरोधपत्र लिएर प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापा, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख सचेतक सन्तोष परियार, नेकपा एमाले सचेतक सुनिता बराल, सांसद सापकोटा, प्रतिमा गौतम र सरस्वती सुब्बालगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप- २९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर