लुम्बिनीमा ३८ वर्षदेखि कसरी निरन्तर बलिरहेको छ शान्तिदीप ?

रुपन्देही । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्याय हो ‘शान्ति दीप’ । २०४३ साल कात्तिक १५ (नोभेम्बर १, १९८६) देखि लुम्बिनीमा बल्न थालेको यो दीप अहिलेसम्म किन निभेको छैन भन्ने धेरैलाई जानकारी छैन ।
निरन्तर बलिरहेको शान्ति दीपबारे यहाँ पुग्ने केहीले मात्रै जिज्ञासा राख्छन् । सन् १९८६ लाई संयुक्त राष्ट्रसंघले विश्व शान्ति दिवस घोषणा गरेको थियो । त्यहाँ बालिएको शान्ति दीपलाई सरकारले लुम्बिनीमा ल्याएर यसलाई निरन्तर बाल्ने घोषणा गरी लुम्बिनी विकास कोषलाई जिम्मेवारी दिएपछि त्यसयता निरन्तर दीप बलिरहेको कोषका सूचना अधिकारी डा. हरिध्वज राई बताउँछन् ।
सन् १९८६ लाई संयुक्त राष्ट्रसङ्घले शान्ति वर्षको रूपमा मनाउने क्रममा राष्ट्रसङ्घको कार्यालय न्यूयोर्कमा मशाल प्रज्ज्वलित गरिएको थियो । त्यही मशालको ज्वाला लुम्बिनीमा ल्याए शान्ति दीपमा सल्काइएको राईले बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले उनी अधिराजकुमार रहेका बेला शान्ति दीप प्रज्वलन गरेर यसको शुभारम्भ गरेका थिए । लुम्बिनीमा धेरै संरचनाहरू गुरुयोजनाविपरीत भए पनि यो भने गुरुयोजनाभित्रै रहेको छ । इतिहासकार डाक्टर गितु गिरी शान्ति दीप ज्ञानेन्द्र शाह अधिकारजकुमार हुँदा शुभारम्भ गरेको बताउँछन् ।
‘यसको व्यवस्थापन लुम्बिनी विकास कोषले गरेको छ, तत्कालीन अधिराजकुमार तथा लुम्बिनी विकास कोषमा अध्यक्ष रहेका ज्ञानेन्द्रले शुभारम्भ गरेपछि यो अहिलेसम्म बलिरहेको छ, गुरुयोजनामै समेटिएको विषय हो’, उनले भने ।
मायादेवी मन्दिरको केही मिटर उत्तरतर्फको भागमा र अहिले डुंगा चलाउने क्षेत्रको दक्षिणी भागमा ठूलो खालको बत्ती निरन्तर बलिरहेको हुन्छ, बाहिरी भागमा ठूलो खालको पालामा यो बत्ती बलिरहेको हुन्छ ।
‘मभित्रको अँध्यारो प्रकाशमय होओस्’ भनेर बौद्धमार्गीहरूमा बत्ती बाल्ने चलन भए पनि लुम्बिनीमा शान्ति दीप राखिएको ठाउँ उपयुक्त नभएको कतिपय पुरातत्वविद्को तर्क छ । पुरातत्त्वविद् वसन्त बिडारीका अनुसार गुरुयोजनामा नहर हुँदै आएका मानिसहरू त्यो ठाउँमा ओर्लेर मायादेवी मन्दिर जाने परिकल्पना गरिएको छ ।
लुम्बिनी विकास कोषका अनुसार दीप बाल्नका लागि लुम्बिनी विकास कोषले एलपी ग्यासका १५ वटा सिलिन्डरको व्यवस्था गरेको छ । सिलिन्डरबाट पाइपमार्फत क्रमैसँग शान्ति दीपसम्म ग्यास पुर्याइन्छ । ग्यासका सिलिन्डर हुँदैनन् र सकिन लाग्दा लाग्दै अर्को सिलिन्डरबाट ग्यास जाने व्यवस्था गरिएकाले यहाँ बत्ती निभ्ने सम्भावनै नहुने कोषका कर्मचारीको भनाइ छ ।
करिब ३९ वर्षदेखि लुम्बिनीमा निरन्तर बलिरहेको शान्ति दीपमा लाग्ने ग्यासको खर्चको छुट्टै हिसाबकिताब लुम्बिनी विकास कोषले नराखे पनि दिनको एक सिलिन्डर जति ग्यास आवश्यक पर्ने कर्मचारीको भनाइ छ । त्यस हिसाबले पनि एक वर्षमा ३६५ वटा ग्यास सिलिन्डर यहाँ खपत भइरहेको छ ।
‘यही निरन्तर बल्ने बत्तीलाई शान्ति दीप भनेर चिन्छौ र लुम्बिनीको पहिचानका रूपमा बुझेका छौँ’ सूचना अधिकारी राईले भने । शान्ति दीपलाई बीचमा पारेर दक्षिणदेखि उत्तरतर्फ १,६०० मिटर लम्बाई र १६ मिटर चौडाइको नहर बनाइएको छ । लुम्बिनी विकासका लागि बनाइएको गुरुयोजनामा यस्तो नहर बनाउने योजना भए पनि त्यहाँ राख्ने भनी गुरुयोजनामा कतै पनि उल्लेख गरिएको छैन । कोषमा पुरातत्त्वविद्का रूपमा लामो समय काम गरेका वसन्त बिडारीका अनुसार यो दीप २०४३ साल कात्तिक १५ (नोभेम्बर १, १९८६) देखि लुम्बिनीमा बल्न थालेको हो र यो निरन्तर बलिरहेको छ ।
‘त्यो ज्वाला राष्ट्रसंघले वासिङ्टनमा बालेपछि खेलाडीमार्फत विभिन्न ५६ वटा देशमा बाँड्दै लुम्बिनी ल्याइएको मौखिक इतिहास छ, लुम्बिनीको अध्यक्ष रहेका ज्ञानेन्द्र शाहबाट लुम्बिनीमा सुरू प्रज्ज्वलित भयो, राजा वीरेन्द्र संरक्षक थिए’ बिडारीले भने ।