बीपी राजमार्ग भोलिदेखि पुन: सञ्चालनमा आउने


काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ ।
पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तहसनहस भएको थियो । भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले नेपाल प्रेसलाई बताए ।
सचिव शर्माको नेतृत्वमा प्राविधिकको टीम फिल्डमै खटिएर काम गरिरहेको छ । बाढीपहिरोले भत्केबिग्रिएको ठाउँमा कल्भर्ट बनाएर, ठाउँठाउँमा खोला डाइभर्सन गरेर तत्काल सवारीसाधन निर्वाध चल्ने गरी सडक मर्मत गरिएको शर्माको भनाइ छ ।
रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत् भएको थियो ।
बीपी राजमार्गको नेपालथोक-खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।
रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।
यातायात सञ्चालनमा आएपछि दशैँमा आउजाउ गर्ने यात्रुलाई सहजतासँगै अन्य वैकल्पिक सडकको सवारी चाप र जोखिमसमेत कम हुने मन्त्रालयका अधिकारीले बताएका छन् ।
ओलिले गरेको काम हेरौं । दिल्लीका दलालहरूको कुरा नसुनौं । देशलाईसधै चाहिेने नेता ओलि वा ओलि जस्तै हुन् । सबै विषय थाहा छ तर ध्यान देश बनाउने मात्र छ ।