पश्चिम एसियामा युद्धबाट एक वर्षमै आधा लाखले गुमाए ज्यान : तेस्रो विश्व युद्ध भएको हो ? – Nepal Press

पश्चिम एसियामा युद्धबाट एक वर्षमै आधा लाखले गुमाए ज्यान : तेस्रो विश्व युद्ध भएको हो ?

काठमाडौं । यही अक्टोबर ७ मा प्यालेस्टाइनी भूमि गाजा पट्टीको हतियारधारी समूह हमासले इजरायली भूमिमा आक्रमण गरेको ठीक एक वर्ष पुग्यो । १२ सयको ज्यान गएको उक्त आक्रमणले इजरायलको गुप्तचरी र सैन्य सुरक्षामा प्रश्न चिन्ह खडा गयो । १२०० मान्छेको ज्यान गएको, २५१ लाई बन्धक बनाइएको र नेपाल तथा अमेरिकासहित ३० देश बढीका मान्छेको हत्या भएको थियो । न्युज विकका अनुसार अझै १०० बन्धकहरूको अत्तोपत्तो छैन ।

आक्रमणको एक वर्ष पुग्दा अमेरिका, बेलायत तथा इजरायलका कट्टर सहयोगी देशहरूले हमासलाई कडा शब्दमा निन्दा गरे । आतंककारी भने । इरानलाई चेतावनी दिए । अमेरिकी रक्षा सचिव लोएड अस्टिनले इरान र उसका सहयोगी सङ्गठनहरूलाई चेतावनी दिए । चेतावनी दिएर अमेरिकाले इजरायलको रक्षा गर्ने बताए ।

उता, इरानले भने अक्टोबर ७ को आक्रमणलाई सामान्य रूपमा व्याख्या गरेको छ । टाइम्स अफ इजरायलका अनुसार गत इरानी सर्वोच्च नेता अयोतल्ला अति खामेनीले हमासको सेप्टेम्बर ७ आक्रमणलाई ‘न्यायोचित’ र ‘कानुनी’ कारबाहीको उपमा दिएका छन् । इरानको राजधानी तेह्रराइनको मस्जिदको हजारौँ जोडिएको प्रार्थनामा आएर उनले यस्तो बताएका थिए ।

अमेरिका र इरानले दिएका अक्टोबर ७ को आक्रमणको सवालमा आएका भिन्न भिन्न धारणा नै अहिलेको पश्चिम एसियाली तनावका कारण हुन् । त्यसका बाछिटाले विश्वभर कुनै न कुनै प्रभाव बनाएको छ ।

पहिले अरब भर्सेस इजरायल: अहिले इरान भर्सेस इजरायल

सन १९४८ मे १४ मा प्यालेस्टाइनी बहुसङ्ख्यक बसोबास भएको भूमिमा इजरायल देश बन्यो । त्यो देश बन्ने क्रममा धेरै प्यालेस्टानीहरु शरणार्थी हुन बाध्य भए । घरबारविहीन हुन बाध्य भए । त्यसको प्रतिकार कूटनीतिक लाइनमा मात्रै होइन सैन्य लाइनमा पनि हुँदै आयो । कहीँ किस्ता-किस्तामा इजरायल अरब युद्धहरू भए । सन १९४८ र सन् १९४९ को युद्धमा इजरायललाई आक्रमण गर्न इजिप्ट, इराक, जोर्डन, सिरिया र लेबनन मिलेर इजरायलमा आक्रमण गरे ।

यस्तै सन् १९६७ मा पनि तीनै पाँच अरब देशहरू मिलेर आक्रमण गरे । सन् १९७३ मा इजिप्ट र सिरियाले फेरि आक्रमण गरे । धेरै देशहरू प्रत्यक्ष जोडिएर इजरायलको स्वतन्त्रता आएपछिका प्रमुख युद्धहरू यिनै थिए । अमेरिकी हतियार तथा गुप्तचरी सबैको साथ पाएको इजरायलले यी सबै युद्धलाई आफ्नो पोल्टामा पार्‍यो । यो कोणमा हेर्दा यी सबै युद्धहरू इजरायल हाबी भएका युद्धहरू थिए ।

अझ रोचक कुरा ती कुनै युद्धमा इजरायलसँग सिधा भिड्ने देशमा थिएन इरान । उसो त अहिलेको राज्य संरचनाको इरानी जग सन १९७९ मा मात्रै आएको थियो । त्यो भन्दा अगाडि इरानमा राजतन्त्र थियो । राजतन्त्र अमेरिकासँग नरम थियो । अमेरिकी साथ भएको इजरायलसँग आक्रामक थिएन । सन १९७९ मा गणतन्त्र आएपछि इरानी शैली फेरियो । सत्ता फेरियो । क्षेत्रीयता फेरियो । र, अहिलेको इजरायल इरान तनावसम्म पुग्यो कुरा ।

इरान भर्सेस इरानका पाँच मोर्चा

अहिले इरान भर्सेस इजरायलका पाँच मोर्चा सिधा युद्धमा छन् । पहिलो मोर्चा हो हमास । हमासको अर्थ उत्साह बताइन्छ । सन १९८७ मा इजरायले कब्जा गरेको प्यालेस्टाइनी भूमिमा प्रतिकार गर्न बनेको थियो हमास । यसलाई इजरायल र यसका कट्टर समर्थक देशहरूले आतंककारी भन्छन् भने बाँकीले प्यालेस्टाइनी लडाकु समूह भन्छन् । इजरायलविरुद्ध सक्रिय मोर्चामा सबैभन्दा खुलेर हमासलाई साथ दिने इरान हो । कतार पनि हो ।

तर, कतारले कूटनीतिक र समाचारमा मात्रै साथ दिने बताइन्छ । इरानले भने सैन्य र गुप्तचरी सबै साथ दिने बताइन्छ । सायद त्यही भएर होला हमासका राजनीतिक नेता स्माइल हानिएलाई दोहामा हुँदा हत्या भएन । इरानी राजधानी तेहराइमा पुग्दा उनको हत्या भयो । त्यो हत्यामा इजरायलले स्वीकार अस्वीकार केही गरेको छैन । तर, गत जुलाई ३१ को हानिए हत्यामा इजरायली हात भएको बताइन्छ ।

दोस्रो मोर्चा हो हेजबुल्ला । लेबनानमा आधार बनाएको शक्तिशाली लडाकु दस्ता हो हेजबुल्ला । सन् १९८२ बाट कडा रूपमा आएको हेजबुल्लाको अर्थ भगवानको पार्टी भन्ने गरिएको छ । यो दस्तालाई उत्पादन, तालिम र प्रवर्द्धनमा इरानी हात भएको बताइन्छ । इजरायलले मुठभेड गरेकाहरूमा सबैभन्दा बलियो हतियारधारी दस्ता यही हो ।

सन् २००६ को लेबनान युद्धमा सिया लडाकु समूह हेजबुल्लाले इरानलाई जित्न नदिएको बताइन्छ । जितको अवस्था नआएपछि इजरायल र लेबनानी सीमामा संयुक्त राष्ट्रसंघका शान्ति सेना बसाइएको थियो । तर, शान्ति सेना आएपछि पनि शान्ति आउन सकेको छैन । गाजा युद्धमा इजरायलले हमला सुरु गरेपछि हेजबुल्लाले रकेट, ड्रोन र मिसाइल हान्न थाल्यो । इजरायलले प्रतिकार गरेर गोलाबारी बढायो । गत सेप्टेम्बर २७ मा हेजबुल्लाका प्रमुख हसन नसरल्लालाई इजरायलले दक्षिण लेबनानमा भीषण बमबारी गरेर बंकरभित्र हत्या गरेको थियो ।

तेस्रो मोर्चा हुथी हो । यमनको राजधानी सान्नालगायतका धेरै क्षेत्रहरू र लाल सागरको प्रमुख गौडा क्षेत्रमा कब्जा गरेर बसेको यमनी लडाकु समूह हो हुथी । खासमा हुुथीको औपचारिक नाम अन्सर अल्लाह हो जसको अर्थ भगवानका समर्थक भन्ने हुन्छ । यो यमनमा सञ्चालित सिया लडाकु समूह हो । अलजजिराका अनुसार सन् १९९० को दशकबाट सञ्चालनमा आएको हुुथी अभियानले सन २०१४ मा आएर चर्चा पाएको थियो ।

अहिले इजरायलले गाजामा हमला बढाएर बालबालिका, महिला र सर्वसाधारणको हत्या गरेको विरोधमा भन्दै हुथीले इजरायली भूमिमै पुग्ने ड्रोन तथा मिसाइल हानेको छ । इजरायललाई साथ दिने अमेरिका, बेलायतलगायतका देशहरू तथा इजरायली स्वामित्व भएका जहाजहरूलाई लाल सागरमा आक्रमण गर्न हुथी सक्रिय छन् । प्रतिकारमा इजरायल, अमेरिका, बेलायत लगायतका देशले हुथीलाई आक्रमण गरे पनि उनीहरूको समस्या समाधान भएको छैन ।

चौथो मोर्चा हो पश्चिम एसिया क्षेत्रका लडाकु दस्ता । यसमा इराक र सिरिया आदिका इरान पक्षधर समूह आउँछन् । यीनले इराक तथा सिरियामा भएका अमेरिकी सैन्य शिविरमा आक्रमण गर्दै आएका छन् । उनीहरूको आक्रमणको एक बाहाना इजरायलको गाजा हमला हो ।

पाँचौँ र सबैभन्दा शक्तिशाली मोर्चा हो इरान । माथि चर्चा गरिएका सबै मोर्चालाई चलाउने मोर्चा पनि इरानकै हो । हमास मात्रै सुन्नी समूह हो । अरु सिया समूह हुन् जसलाई सिया देश इरानको पूर्ण साथ सहयोग छ । गत अप्रिल १३ र अक्टोबर १ मा इरानले इजरायली भूमिमा आक्रमण गर्‍यो । यो आक्रमण आफ्नो सिरियाको कूटनीतिक नियोगमा इजरायलले गरेको हमला र इजरायलले हमास तथा हेजबुल्ला प्रमुखलाई गरेको हत्याको विरोधमा भएको इरानले बताएको छ ।

इरानी आक्रमणमा इजरायली सैन्य शिविर र पूर्वाधारमा क्षति पुगेको थियो । केही हताहती भएका थिए । धेरै क्षतिका समाचार नआएता पनि इजरायलले धेरै चर्चा र हल्लाखल्ला गरेको मिसाइल प्रतिरक्षा प्रणाली आइरन डोन भत्काएर इरानी मिसाइल, ड्रोनहरु इजरायली भूमिमा पुग्नु आफैँमा इजरायली सुरक्षा कमजोर भएको संकेत भएको धेरैले तर्क गरेका छन् ।

करिअर डिप्लोम्याट तथा कुवेत र संयुक्त अरब इमिरेट्समा दूतावास खोल्ने प्रथम पुस्ताका एक अनुसार पूर्वराजदूत मधुवन पौडेल इरान र अरबको राम्रो सम्बन्ध नभएको बताउँछन् । त्यही कारण यो युद्ध अहिले अरब र इजरायलको नभएर इजरायल र इरानको जस्तो भएको बताउँछन् । कतार र बहराइन केहि सकारात्मक भएता पनि अरु गल्फ को-अपरेसन काउन्सिल (जीसीसी)का देशहरू खासै सकारात्मक नभएको पौडेलले बताउँछन् ।

उनी भन्छन्, ‘त्यही भएर इरानले सुरक्षा परिषद्को चुनावमा सन १९६३ पछि जित्न सकेको छैन ।’

आधा लाख हाराहारीको ज्यान गइसक्यो

मृत्यु भएकाहरूको आँकडा हेर्दा आधा लाख हाराहारी एक वर्षमा पुगेको छ । जस्तै १२०० इजरायलमा मारिए । इजरायलले ४१ हजार बढीलाई गाजामै मार्‍यो । जसमा ११ हजार बढी महिला र १६ हजार बढी बालबालिका भएको अलजजिराले उल्लेख गरेको छ । लेबनानमा पनि दुई हजार भन्दा धेरै मारिएका छन् । यमन र अरु हताहती पनि सयौँ छन् । यसले गर्दा गत अक्टोबर ७ को हमास आक्रमण पछिको समयमा झण्डै आधा लाखको ज्यान गएको छ । यसलाई लिएर धेरैले तेस्रो विश्व युद्ध भन्न थालेका छन् । खासगरी भारतीय मिडियाहरूले त खुलेर तेस्रो युद्ध भन्न थालेका छन् । पूर्वराजदूत पौडेल यसलाई तेस्रो विश्व युद्ध मान्दैनन् । यसलाई इजरायल पश्चिम एसिया तनाव अथवा इजरायल इरान तनावको रूपमा व्याख्या गर्छन् ।

के गर्दै छन् संयुक्त राष्ट्रसंघ र यसका स्थायी सदस्य देश ?

अहिलेको पश्चिम एसिया तनाव इजरायल बनेसँगै भएको हो । त्यो तनावको विस्तारमात्र भएको हो गत अक्टोबर ७ मा भएको हमास हमलाबाट । यसमा अमेरिका इजरायलको कडा पक्षमा छ । पछिल्लो समयमा निर्दोषहरूको ज्यान धेरै गएको भन्दै इजरायललाई फ्रान्स तथा बेलायतले हतियार दिन बन्द गरेका छन् । बेलायत सरकारले ३० हतियार निर्यातको लाइसेन्स बन्द गरेको छ । भने फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले इजरायलमा हतियार दिन बन्द गरेका छन् । त्यसको जवाफमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘तपाईँ साथमा रहे पनि नरहे पनि हामी युद्ध जित्छौँ ।’

बीबीसीमा प्रकाशित टिप्पणीअनुसार इजरायल इरानलाई पनि युद्धमा तानेर अमेरिकालाई सिधा जोड्न चाहन्छ । अमेरिका त्यो पक्षमा छैन । इरान पनि सिधासिधा युद्धको पक्षमा छैन । उसले आफ्नो लाज ढाक्न मात्रै इजरायली भूमिमा हमला गरेको हो । नत्र उन प्रोक्सी अर्थात् तेस्रो पक्षबाटै लड्न चाहन्छ ।

रुस प्यालेस्टानइलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्य बनाउने पक्षमा छ । राष्ट्रपति भ्यादिमिर पुटिनले इजरायलले जनताहरूलाई लक्षित हमला अन्त्य गर्न सुझाएका पनि थिए । आफैँ युक्रेन युद्धमा व्यस्त भएकोले रुसलाई धेरै सक्रियता देखाउन सजिलो छैन । तर, रुसलाई ड्रोन र मिसाइल दिने इरान युद्धमा होमिएमा आफूलाई समस्या हुने रुसी बुझाइ भएको बताइन्छ ।

चीनले पश्चिम एसियाको समन्वयकर्ता बन्ने प्रयत्न जारी राखेको छ । इरान र साउदी अरबलाई बेइजिङ बेलाएर हात मिलाउन लगाएर तनाव कम गरिदिएको चीनले प्यालेस्टानी मुद्दामा पनि त्यस्तै गर्न खोजेको छ । बेलायत समाचार एजेन्सी रोयटर्सका अनुसार गत जुलाई २१ बाट २३ सम्म बेइजिङमा चीनले प्यालेस्टाइनका सबै गुटहरूलाई बोलायो । हमास, फताह जस्ता कट्टर विपक्षी धार लगायतका १४ गुटलाई बोलाएर प्यालेस्टाइनी मुद्दामा एकमत हुने सम्झौतामा चीनले हस्ताक्षर गरायो । चीन पनि प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यता दिलाउने पक्षमा छ ।

संयुक्त राष्ट्रसंघको प्रभावशाली सदस्य देश भारतले पश्चिम एयिसाको युद्ध र कोभिड १९ को समयमा राष्ट्रसंघले देखिने भूमिका नदेखाएको भन्दै कडा प्रतिक्रिया दिएको छ । हालसालै भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको कार्यक्रममा बोल्दै विदेशमन्त्री एस. जयशंकरले राष्ट्रसंघलाई ‘स्थानमात्रै ओगट्ने पुरानो कम्पनी’ को उपमा दिए । त्यो भन्दा अगाडि भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रसंघको शान्ति र सुरक्षामा काम नभएको संकेत हालसालै महासभाको सम्बोधनमा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर