फरेस्ट्री पढ्न नपाएपछि कम्प्युटर अपरेटर बनेका सचीन- किताबदेखि जहाजको आवरण डिजाइनरसम्म – Nepal Press

फरेस्ट्री पढ्न नपाएपछि कम्प्युटर अपरेटर बनेका सचीन- किताबदेखि जहाजको आवरण डिजाइनरसम्म

सबै मान्छेको जीवनमा आरोह अवरोह भइरहन्छ । कहिलेकाहीँ ग्राफिक्स डिजाइनर सचीन योगल श्रेष्ठ पनि निराश हुन्छन् । मनमा अनेक खाले कुरा खेलाउँछन् । यसो सोचिबस्छन्, ‘आखेरी यत्तिका लामो करियरमा के गरियो र !’

धेरैथोक गरिसके पनि कहिलेकाहीँ केही नगरेजस्तो लाग्छ उनलाई । सोच्छन्, २४ वर्षदेखि काम गरिरहे पनि केही पारिश्रमिकबाहेक नयाँ सृजना के गरियो र ! अरुले कति धेरै काम गरे ! यस्तैकस्तै कुराहरू मनमा धेरै नै खेलाएपछि आकाशतिर फर्कन्छन् ।

नीलो आकाशले उनलाई झल्याँस्स ‘रोयल नेभी ब्लू’ रङको सम्झना गराउँछ । रोयल नेभी ब्लू रङले आकाशमा बिस्तारै आकार लिन्छ । त्यो आकारले विस्तारै विस्तारै जहाजको रूप लिन्छ । जहाज आकाशमा उड्न थाल्छ । अनि श्रेष्ठ सोच्छन्, ‘हत्तेरिका, म किन निराश भएको ? केही नगरे पनि मैले आवरण डिजाइन गरेको बुद्ध एयरको जहाज त आकाशमा उडिरहेकै छ नि !’

दिमागमा हठात् आएको सोचले मख्ख पर्छन् । केहीबेर अघिको निराशाहरू जहाजको पछिल्तिरबाट निस्कने धुवाँ जसरी पिलित्त हराउँछन् । अनि फर्कन्छन् १७ वर्षअघि सन् २००७ मा, जतिवेला श्रेष्ठ विज्ञापन एजेन्सी बिजनेस एडभान्टेजमा ग्राफिक्स डिजाइनर थिए ।

डिजाइनका कामहरू एनलगबाट डिजिटलमा विस्तारै कन्भर्ट हुँदै थिए । सफ्टवेयरको सहजता हुँदै गएको थियो । इन्टरनेटको पहुँच भर्खर भर्खर सबैमा पुग्न लाग्दै थियो । अध्ययनका लागि ठूल्ठूला विदेशी ब्राण्डका डकुमेन्टहरू हुन्थे । श्रेष्ठ सुनाउँछन्, ‘ती डकुमेन्ट पढेर उनीहरूले यसरी काम गर्दोरहेछ भनेर सिक्थ्यौं ।’

त्यतिवेला बुद्ध एयर नेपाली आकाशमा उडान भर्ने तरखरमा थियो । बिजनेस एडभान्टेजले बुद्ध एयरका जहाजको आवरण डिजाइन बनाउने प्रोजेक्ट लिएको थियो । त्यही प्रोजेक्ट अन्तर्गत श्रेष्ठको हातमा आवरण डिजाइनको काम आएको थियो । उनले नै डिजाइनको काम कसरी पाए त ? उनी भन्छन्, ‘सृजनात्मक हिसाबले अलि पृथक कामहरूमा मेरो रुचि हुन्थ्यो । काम चुनौतीपूर्ण भएकाले पनि मलाई दिएको होला ।’

डिजाइनको काम गर्न श्रेष्ठलाई छ महिना लाग्यो । एटीआर कम्पनीले जहाजहरूमा श्रेष्ठको डिजाइन राख्यो । उक्त डिजाइन सहित जहाज नेपाल आइपुगे । र एटीआर–४२ (नाइन एन एआईएन)ले पनि नेपाली आकाशमा पहिलो उडान भर्यो । यो जहाजलाई गत भदौ २५ गते ७० हजार घण्टा आकाशमा उडेपछि भव्य बिदाई गरियो ।

नेपथ्य ब्याण्डको एल्बम ‘भेडाको ऊनजस्तो’

श्रेष्ठले एसएलसी दिएको वर्ष सन् २००० बाट कम्प्युटर अपरेटरको काम सुरू गरे । भिजुअल चिजहरू अहिलेजस्तो छ्यापछ्याप्ती थिएनन् । कतिपय विज्ञापनहरू होर्डिङ बोर्डमा मात्रै हुन्थे । श्रेष्ठ भने फरेस्ट्री पढ्न गए । फरेस्ट्रीमा ५० जनाको कोटामा ५१ औं नम्बरमा नाम निस्केपछि फरेस्ट्री पढ्न पाएनन् । भिनाजु डिजाइनर थिए । भिनाजुले सोधे, ‘जागिर गर्ने हो ?’

जागिर थियो कान्तिपुरमा नेपाली टाइप गर्नुपर्ने । नेपाली टाइप श्रेष्ठको वशको बात थिएन । अनि भिनाजुले स्क्यान प्रो नामक कम्पनीमा कम्प्युटर अपरेटरको जागिर लगाइदिए । त्यहाँबाट सुरू भएको श्रेष्ठको डिजाइनरको यात्रा बुद्ध एयरको जहाजमार्फत् धेरै ठाउँ घुमिसकेको छ ।

श्रेष्ठको अर्को काम हो, नेपथ्य ब्याण्डको ‘भेडाको ऊनजस्तो’ एल्बमको डिजाइन । अहिलेजस्तो सामाजिक संजाल छ्यापछ्याप्ती थिएन । सीडी र क्यासेटहरूमा एल्बम आउँथे । टीममा बसेर उनले नेपत्थ्य ब्याण्डको पब्लिसिटी पोस्टरहरूको डिजाइन समेत गरिदिए ।

टु पीएम चाउचाउको सिंगो प्याकेटको डिजाइन पनि उनैले गरिदिए । उनैले डिजाइन गरिदिएको खजुरीको पफ चाहिँ अहिलेसम्म पनि बजारमा पाइन्छन् । चियासँग खाइने यो पफ २१ वर्षअघि सन् २००३ मा श्रेष्ठले तयार पारेका थिए ।

त्यसबेला गोर्खा बियरको डिजाइन पनि श्रेष्ठले नै तयार पारेका थिए । ओल्ड दरबारको डिजाइन पनि श्रेष्ठले नै तयार पारे । हनी हन्टर नामक ह्वीस्कीको डिजाइन पनि उनैले तयार पारे । व्यवसायिक रूपमा मदिराहरूको बोतलदेखि बोतलको कभरसम्मको डिजाइन गरे ।

अहिले चल्तीका लेखकहरूको पुस्तकको डिजाइन गरिरहेका श्रेष्ठ भन्छन्, ‘किताबमा मदिरा मिसाउनु हुन्न ! किताब र मदिरा फरक कुरा हुन् । बरु मलाई अहिलेसम्म गर्व लाग्ने काम भनेको बुद्ध एयरको एक्सटेरियर डिजाइन हो ।’

‘कल्प-ग्रन्थ’देखि ‘एउटा मायी नगरमा’

भर्खरै सार्वजनिक वसन्त बस्नेतको ‘सीमसारा’ उपन्यासको डिजाइन श्रेष्ठकै हो । यही साता रमेश क्षितिजद्धारा लिखित कथासंग्रह ‘एउटा मायी नगरमा’मा सार्वजनिक हुँदैछ । यस किताबको डिजाइनमा पनि श्रेष्ठकै कला मिसिएको छ । कलात्मक कभर त छँदैछ, सँगै सिंगो किताबका पानाहरूमा श्रेष्ठले शिल्प भरेका छन् ।

किताबभित्र च्याप्टरहरूको ब्रेकरहरूमा चित्र छ । अनुच्छेदको ब्रेकहरूमा साना साना दुईजना केटाकेटी नाचिरहेको चित्र छ । किताबको अगाडि पाना–पाना खप्टिएर बन्ने एक डेढ इन्च जति बाक्लो ठाउँमा पर्पल रङको प्रयोग गरेका छन् । किताबलाई ठ्याक्क टेबलमा राख्दा ट्याबलेट बक्स राखेजस्तो देखिन्छ ।

सामान्यतया आम बुझाइ हुन्छ, कभर डिजाइन भनेको मुख्य आवरणको रंगरोगन हो । आवरणको रंगरोगन मात्रै सिंगो डिजाइन होइन । मानौं, कसैले नयाँ मोबाइल खरीद गर्यो । मोबाइल खरीद गर्दा आकर्षक डिजाइनको मोबाइल खरीदकर्ताले पाउँछ । मोबाइलसँगै चार्जर र इयरफोन पनि पाउँछ । यी सबैथोकलाई चिटिक्क सजाएर राखिएको बक्स पनि पाउँछ । बक्सलाई ठिक्क हुने गरी राख्न मिल्ने झोला पनि पाउँछ । यी सबैचिज डिजाइनभित्र पर्छन् ।

‘डिजाइन भन्नसाथ कम्प्युटरमा काम मात्रै गर्ने भन्ने मिस कन्पेप्सन छ । विज्ञापनको कोणबाट हेर्दा ग्राफिक्स डिजाइनिङ एउटा टुल मात्रै होे । चाहिने त आइडिया र कन्सेप्छ नै हो,’ श्रेष्ठ सुनाउँछन्, ‘यसको गतिलो उदाहरण त कुमार नगरकोटीको ‘कल्प-ग्रन्थ’ को ।’

‘कल्प-ग्रन्थ’ ठूलो भोल्युममा आएको नगरकोटीको किताब हो । बुकहिलका प्रकाशक भूपेन्द्र खड्कासँग श्रेष्ठको भर्खर भर्खर चिनजान भएको थियो । नगरकोटीको भने ‘बाथटब’को डिजाइन गरिसकेका थिए श्रेष्ठले । एक दिन नगरकोटीले श्रेष्ठलाई भने, ‘टाइपोग्राफिक काम छ, के गर्ने होला सचीन जी ?’

श्रेष्ठले सोचे, ‘यो किताबमा व्यवसायिक भ्यालु कम छ । यसमा पैसा आउँदैन, अलमलिनु हुन्न ।’

त्यही बेला श्रेष्ठको बुवा बिते । उनका बुवा ऊनको स्वेटरहरूको खुद्रा व्यापारी भए पनि कलाप्रति रुचि राख्थे । रुम्जटारमा हुर्किएका श्रेष्ठका बुवाको सौख चित्रकला थियो । बुवाकै नैतिक साथका कारण श्रेष्ठ डिजाइनर पेशामा निरन्तर थिए ।

बुवाको किरिया बसिरहँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी’ निबन्धसंग्रहको रिप्रिन्टको डिजाइन बनाए । यस कामले श्रेष्ठको बुवाको शोकको ट्रमा कम हुँदै गयो । १३ दिनको काम पनि सकियो । खड्काले ‘कल्प-ग्रन्थ’को टेक्स्ट पठाएका थिए ।

धुलिखेलको एक होटेलमा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म काम गरे । टाइपोग्राफिक डिजाइनको लेआउट सिध्याए । श्रेष्ठ सुनाउँछन्, ‘काम सकिएपछि कुमार जी र भूपेनजीलाई तुरुन्तै पठाएँ । उहाँहरूले १५ मिनेटभित्र ओके भन्नुभयो ।’

किताबभित्रको टाइपोग्राफिक स्टोरी बनाए पनि किताबमा पोडकास्ट सिरिज बाँकी थियो । ३६ वटा पोडकास्ट सिरिज पनि सकाए । ‘यसपछि मलाई फिल हुन थाल्यो कि इनोभेसन त किताबको दुनियाँमा चाहिएको रहेछ,’ डा. रवीन्द्र समीरको ‘भूकम्पमा मलमपट्टी’बाट कभर डिजाइनमा लगेका श्रेष्ठ सुनाउँछन् ।

पाण्डुलिपि पढ्ने बानी

श्रेष्ठले सुधीर शर्माद्धारा लिखित ‘हिमालपारीको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’, यस वर्ष मदन पुरस्कार प्राप्त कृति ‘मुकाम रणमैदान’(मोहन मैनाली), मिनबहादुर विष्टको ‘साला पहाडमे क्या है’, पद्मसुन्दर जोशीको ‘हिती प्रणाली’, संजीव उप्रेतीको ‘हंस’, मदनकृष्ण श्रेष्ठको ‘महको म’, हरिवंश आचार्यको ‘हरिबहादुर’को एक लाखप्रतिको कभर, सरला गौतमको ‘अम्रिकाने काशी’, श्रीधर खनालको ‘सावर्णि’ लगायत किताबहरूको डिजाइन गरेका छन् । दुई सय बढी किताबहरूको डिजाइन गरिसके ।

कतिपय डिजाइनका काममा अरु कलाकारसँग सहकार्य पनि गर्छन् । गौतमको ‘अम्रिकाने काशी’ अर्कै कलाकारले बनाएका थिए । त्यसको फाइनल कम्पोजिटिङको काम श्रेष्ठले गरे ।

उनी अधिकांश किताबको पाण्डुलिपि पढेर मात्रै किताबको डिजाइन गर्छन् । पाण्डुलिपि पढिसकेपछि कन्सेप्टहरू बनाउँछन् । सभवित स्याम्पलहरू बनाउँछन् । प्रकाशक र लेखकले एक स्याम्पल छनोट गरेपछि फाइनल ट्युनिङमा जान्छन् ।

‘कहिलेकाहीँ कन्सेप्ट नै ड्रप गरिदिन्छु । सुधीर दाइको काममा पहिला मेरो कन्सेप्ट अर्कै थियो । कहिलेकाहीँ काम गर्दा बढी नै आर्टिस्टिक रूपमा गरिरहेको हुन्छु । तर, कामको व्यवसायिक महत्व पनि हुन्छ, त्यसैले आइडिया ड्रप गर्ने हो,’ श्रेष्ठ सुनाउँछन्, ‘पाण्डुलिपि पढेपछि म फस्ट ह्याण्ड रिडर भएँ । त्यसपछि मनपर्ने डिजाइन गर्छु ।’

पाण्डुलिपि पढ्दा श्रेष्ठलाई सबैभन्दा मन परेको किताब चाहिँ ‘हंस’ । सुरूवातमा यस किताबको शीर्षक ‘हाँसको कथा’ थियो । शीर्षक हेर्दैमा श्रेष्ठलाई लाग्यो, ‘यो त बच्चाको स्टोरीको किताब जस्तो छ ।’ अनि प्रकाशक र लेखकलाई सुझाव दिए, ‘शीर्षक बदल्नुपर्छ ।’

किताबको डिजाइनका लागि लोक चित्रकारकहाँ पौवा र थान्का सिक्न गए । श्रेष्ठले नै लेखक र प्रकाशकलाई ‘हंस’ नाम प्रस्ताव गरे । उनले सिफारिस गरेको नाम र बनाएको डिजाइन एकैपटकमा ‘ओके’ समेत भयो ।

श्रेष्ठलाई काम गर्न मजा लागेको अर्को काम हो, ‘महको म’ । किताब डिजाइनको छलफलको क्रममा मदनकृष्णले कापीलाई लेखेर भने, ‘मेरो किताबको टाइटल यसरी बनाइदेऊ ।’ श्रेष्ठले तुरुन्तै आइप्याड मदनकृष्ण अगाडि सारिदिएर भने, ‘यहाँ गरिदिनुस् न मलाई सजिलो हुन्छ ।’

मदनकृष्णले आइप्याडमा लेखे ।

एक किताब डिजाइनको २० हजार

श्रेष्ठलाई लाग्छ, ‘काठमाडौंमा सबैभन्दा बेसी चार्ज लिने डिजाइनर म नै होला ।’

उनले नियमित रूपमा किताब पब्लिसर, बुक हिल, नेपालय, फाइनप्रिन्टहरूसँग काम गर्छन् । पारिश्रमिकबारे श्रेष्ठ भन्छन्, ‘मैले औसतमा २० हजार रूपैयाँ लिइरहेको छु । अहिले मेरो रोजीरोटी नै किताबबाट चलिरहेको छ ।’

श्रेष्ठ थप्छन्, ‘डिजाइन क्लाइन्टलाई पठाएपछि जब उसले ‘ओके’ भन्छ, त्यो पल चाहिँ म्याजिकल लाग्छ ।’

शर्माको ‘भिक्षु व्यापार र विद्रोह’मा उनले इलस्ट्रेसन प्रयोग गरेका छन् । ‘हिमालपारीको हुरी’मा भने सन् २००९ मा मुस्ताङ जाँदा आफैंले खिचेको फोटोमा रहेर डिजाइन गरेका छन् ।

‘मैले १४ वर्षअघि मुस्ताङ जाँदाको फोटो अहिले काम लाग्दो रहेछ । भनेपछि सृजनाको प्रक्रिया विगत, वर्तमान र भविष्यबीचको संयोजन हो, यो निरन्तर चलिरहन्छ,’ श्रेष्ठ थप भन्छन्, ‘कहिलेकाहीँ पछाडि फर्केर हेर्नुपर्ने हुनसक्छ वा चाहिनेभन्दा अगाडि जानुपर्ने हुनसक्छ । त्यसैले सृजनामा सीमा हुँदैछ, सीमा राखेर काम गरिन्छ भने त्यो सृजना हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *