इटहरी उपमहानगरमा अघिल्लो वर्षकै २० करोड भुक्तानी रोकियो, उपभोक्ता सडकमा – Nepal Press

इटहरी उपमहानगरमा अघिल्लो वर्षकै २० करोड भुक्तानी रोकियो, उपभोक्ता सडकमा

विराटनगर । नगरस्तरीय र वडास्तरीय योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिहरूले इटहरी उपमहानगरपालिका घेराउ गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएको योजनाको भुक्तानी नपाएपछि आन्दोलनमा उत्रिएका उपभोक्ताहरूले आजबाट उपमहानगर घेराउको आन्दोलन सुरू गरेका हुन् ।

उपमहानगरले उपभोक्ता समितिलाई २० करोड रूपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । बजेट अभावको कारण देखाउँदै सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि भुक्तानी नपाएपछि उपमहानगरले गठन गरेका उपभोक्ता समितिहरूले भुक्तानी पाएका छैनन् ।

नगरस्तरीय र वडा स्तरीय योजनाको काम सम्पन्न गर्नका लागि उपभोक्ता समितिहरूले विभिन्न ठाउँमा उधारोसमेत लिएका थिए । निर्माण सामाग्रीसमेत उधारोमा प्रयोग गरिएको भए पनि उपमहानगरले भुक्तानी नदिँदा उपभोक्ता समितिमा बसेका व्यक्तिहरू दोहोरो मारमा परेको संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए । उनले भुक्तानी लिन उपमहानगर पालिका धाउँदा धाउँदा नपाउँदा आजित भएर आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

उपभोक्ताहरू प्ले कार्डसहित घेराउ गर्न पुगेपछि सुरक्षाकर्मीले रोकेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो घेराले रोकेको छ । मेयर हेमकर्ण पौडेलले भने केही दिनअघि सामाजिक सञ्जाल मार्फत भिडिओ सन्देश जारी गर्दै असोजबाट भुक्तानी दिने बताएका थिए ।

इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले खाता खुलिनसकेकाले भुक्तानी रोकिएको बताए । उनले सम्पन्न भइसकेको योजनाको भुक्तानीमात्रै २० करोडभन्दा माथि रहेको बताए ।

उनले भने, ‘हामी यस विषयमा छलफल गरेर टुङ्ग्याउने प्रक्रियामा रहेका छौं । चाँडै समस्या समाधान गर्छौं । उनले संघीय सरकारले अनुदान कटौती गरेको र आन्तरिक स्रोत पनि अनुमान गरेभन्दा कम उठेकाले अघिल्लो आर्थिक वर्षको दायित्व सरेर आएको बताए । हामीले अनुमान गरेभन्दा कम राजश्व संकलन भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *