पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, मन्त्रीको दबाबमा पहिलो पन्छाएर दोस्रोको छनौट – Nepal Press

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, मन्त्रीको दबाबमा पहिलो पन्छाएर दोस्रोको छनौट

परीक्षामा दोस्रो भएका दिपकराज जोशीको नियुक्तिमा छनौट समिति सदस्यकै लिखित असहमति, पहिलो अंक पाएका धनन्जय रेग्मी परमादेश माग्दै अदालतमा

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौटमा धाँधली गरेर कम नम्बर पाएकालाई नियुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । लिखित परीक्षा र प्रस्तुतिलगायत विज्ञहरूको टीमले दिएको नम्बरअनुसार पहिलो भएका डा. धनञ्जय रेग्मीको साटो दोस्रो नम्बरका दीपकराज जोशीलाई बोर्डको सीईओ नियुक्त गरिएको थियो ।

पर्यटनमन्त्री बद्री पाण्डेको निर्देशनमा सीईओ छनौट समितिले प्राप्त नम्बरका आधारमा नभई वर्णानुक्रमअनुसार सिफारिस गरेर दोस्रो नम्बरका जोशीलाई नियुक्त गरेको भन्दै डा. रेग्मीले मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

निवर्तमान सीईओ रहेका रेग्मी विज्ञहरूको नम्बरका आधारमा पहिलो भए पनि मन्त्री पाण्डेले अनूचित प्रभावमा परेर जोशीलाई सीईओ नियुक्त गर्न छनौट उपसमितिलाई निर्देशन दिएको आरोप छ । पर्यटन मन्त्रालयकी उपसचिव इन्दू घिमिरेको संयोजकत्वमा रहेको उपसमितिमा बोर्डका सदस्य मदन आचार्य र मिलन देवकोटा सदस्य थिए ।

रिट निवेदमा रेग्मीले आवदेकले परीक्षामा पाएको प्राप्तांक नै नहेरी गरिएको नियुक्ति र नियुक्ति पत्रले वैधानिक प्राप्त गर्न नसक्ने जिकिर गरेका छन् । उनले कार्यकारी पदमा नियुक्ति गर्दा यसअघि सर्वोत्कृष्ट अंक ल्याउनेलाई नियुक्ति दिइएको दृष्टान्तको समेत यसपटक अवज्ञा भएको दाबी गरेका छन् ।

उनले प्रत्येकले पाएको अंक सार्वजनिक गरी नतिजा प्रकाशन, सिफारिस र नियुक्त गर्नुपर्नेमा सो नगरी अपारदर्शी ढंगले जोशीलाई गरिएको नियुक्ति बदर गर्न उत्प्रेषणको आदेश माग गरेका छन् ।

रेग्मीले बोर्डका एकजना सदस्यले यो निर्णय प्रक्रिया अवैधानिक रहेको भन्दै असहमति जनाएको समेत स्मरण गराएका छन् । सीईओ छनौट सिफारिस उपसमितिका सदस्य मदन आचार्यले नोट अफ डिसेन्ट लेखेका छन् । उनले मेरिटलाई लत्याइएकोलगायतका विषय उठाएर असहमति जनाएका हुन् ।

रेग्मीको रिटमा १६ जना आवेदकमध्ये ३ जनालाई छनौट गर्दा अंकको आधार बनाइएको भन्दै तीनबाट एकको नियुक्ति गर्दा पनि बढी अंक ल्याउनेलाई नै आधार बनाइनुपर्ने माग गरेका छन् । उनले जोशीको नियुक्ति बदर गरी आफूलाई नियुक्त गर्न आदेश माग समेत गरेका छन् । रेग्मीको रिटमाथि सुनुवाइका लागि बुधवार पेशी तोकिएको छ ।


प्रतिक्रिया

One thought on “पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, मन्त्रीको दबाबमा पहिलो पन्छाएर दोस्रोको छनौट

  1. पहिलो भएकैलाई छान्नु पर्छ भने तीन जनाको नाम के खान सिफारिस गर्नु हौ लाखे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *