मनोरोग नियन्त्रण गरौँ, आत्महत्या स्वतः रोकिन्छ – Nepal Press
सन्दर्भ : आत्महत्या रोकथाम दिवस

मनोरोग नियन्त्रण गरौँ, आत्महत्या स्वतः रोकिन्छ

आज विश्वभर विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आत्महत्याको मुख्य कारण मनोरोग (मानसिक रोग) नै हो । मनोरोगको समयमा उपचार गर्न सकिएमा आत्महत्या रोकथाम गर्न सकिन्छ ।
मानसिक समस्या भन्ने बित्तिकै समाजमा आफूलाई नियन्त्रण नै गर्न नसकिने तरिकाले पनि बुझिन्छ । मनोरोग वा मानसिक समस्याको फरक फरक अवस्थाहरु हुन्छन् । विशेष गरी मेडिकल भाषामा समस्याको गहिराइका आधारमा तीन चरणमा विभाजन गरी यस रोगलाई हेर्ने गरिएको छ ।

पहिलो हो सामान्य खालका मानसिक रोग । यसअन्तर्गत विभिन्न मानसिक समस्या हुन्छन् । जसमा एन्जाइटी डिसअर्डर वा डरलाग्ने समस्या भनिन्छ । कन्भर्सन डिसोएटिभ डिसअर्डर, टाउको दुख्ने समस्या, बालबालिकामा देखिने मनोवैज्ञानिक समस्या, बच्चा जन्मिएपछि आमामा देखिने मानसिक समस्या, निन्द्राको समस्या आदि हुन् ।

त्यसैगरी मध्यम खालका मानसिक रोगमा डिप्रेसन, लागुऔषध प्रयोग र मादक पदार्थ सेवनको समस्या, एपिलेस्से रोग, अब्जेसिभ क्पल्सिभ डिसअर्डर, छारे तथा सुस्त रोग । त्यसैगरी कडा मानसिक रोगमा बाईपोलर एफेक्टिभ डिसअर्डर र सिजोफेर्निया हुन् ।

के कारणले लाग्छ मानिसक रोग ?

वंशानुगत रूपमा सर्ने, न्यूरोटर्नस्मिटरको गढबढी, आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले, हर्मोनको गडबडी, शारीरिक रोग लामो समयसम्म लागेमा, रोग लाग्नुअघिको व्यक्तित्व जसलाई हामी पर्सनालिटी फ्याक्टर भन्छौँ यी कारणले मानसिक रोग लाग्न सक्छ । त्यसैगरी तात्कालीन घटनाक्रम, पारिवारिक अस्वस्थ सम्बन्ध, लागुपदार्थ सेवन, गर्भावस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक, समाजबाट टाढा रहनाले र टाउमा चोटपटक लागेमा पनि मानिसलाई मानसिक समस्या आउन सक्छ ।

तर, हामीले आफूमा मानसिक समस्या वा मनोरोग आउन लागेको हो होइन पहिचान समयमा नै गर्न जरुरी हुन्छ । बेला-बेलामा मुटु ढुकढुक हुने, हातखुट्टा लल्याकलुलुक हुने, काम्ने वा चिसो हुने, धेरै पसिना आउने, मनमनै छटपटी हुने, कि पिसाब लाग्ने जस्तो हुने, झस्कने, तर्सने भएमा मनोरोगको लक्षण हो भन्ने बुझ्नुपर्छ ।

कहिलेकाँही कस्तो पनि हुन्छ भने अति डर लगोर मरिहालिन्छ कि जस्तो हुने, हृदयघात भयो कि जस्तो डर लाग्ने, असामान्य रुपमा धेरै समयसम्म टाउको दुख्ने चक्कर आउने वाकवाक आउने पनि मनोरोगका लक्षण हुन सक्छन् ।
धेरै रिस उठ्ने झिझो मान्ने झर्कने, जिउ दुख्ने, झमझम गर्ने, शरीर पोल्ने निद्रा भोक नलाग्ने काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने भएमा, छारे रोग, मूगी रोग भएमा पनि मनोरोगको लक्षण हो भनेर पहिचान गर्नुपर्छ । त्यतिमात्रै होइन मानिस आवश्यकताभन्दा बढी खुशी भैरहने, बढी फूर्तिफार्ती गर्ने, ठूलो कुरा गर्ने बानी भयो भने पनि उसमा मनोसामाजिक समस्या भएको हुनसक्छ ।

व्यक्तिमा मनोरोगका लक्षण फरक फरक तरिकाले देखिन सक्छ । जतिबेला पनि उसको मनमा गतल विश्वास तथा भ्रम उत्पन्न हुने, मानिसहरू मेरो कुराकानी चियो चर्चो वा मविरुद्ध नै जासुसी षड्यन्त्र गर्दैछन् जस्तो लाग्ने पनि मनोरोगको लक्षण हो । आफ्नै शरीर, कोठाका भित्तामा मानिस वा वस्तु देख्नु, शरीरमा किरा, सर्प या अरु जीव हिँडेजस्तो भएमा पनि मनोरोग भएको हुनसक्छ । धेरै मादक पदार्थ सेवन गर्नु पनि मानसिक समस्याको लक्षण हो ।

सामान्य मानिसले गर्नेभन्दा अनौठो व्यवहार गरेमा, एक्लै बोल्ने, एक्लै हाँस्ने गरेको देखेमा, अरुदेखि शंका गर्ने देखिएमा, आत्तिने, डराउने, चिन्ता गर्ने, घरबाट भाग्ने गरेमा त्यस्ता व्यक्तिलाई तुरुन्त चिकित्सकको सम्पर्कमा लगिहाल्नु पर्छ ।

मानसिक रोगबारे जान्नै पर्ने कुरा

मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, एक्लै हांस्ने पागलपन) सम्मका हुन्छन् । सामान्य खालको मानसिक समस्या हुँदा आत्तिनु हुँदैन र उपचार गर्न पनि हिच्किचाउनु हुँदैन । कडा मानसिक रोगका बिरामीलाई परिवारका सदस्यको सहयोग अति आवश्यक छ ।

मानसिक रोग लाग्नु पापको फल होइन । उपचार गरे मानसिक रोग निको हुन्छ । मानसिक रोगका बिरामीलाई सबैले सहयोग गर्नुपर्छ । उपचार गरिरहेका मानसिक रोगका बिरामीले डाक्टरको सल्लाह बिना आफै औषधि छाड्नु हुँदैन । उपचारको क्रममा विभिन्न ल्याव परीक्षण गर्दा पनि कुनै रोग नदेखिएमा त्यस्तो अवस्थामा मानसिक रोग हुने सम्भावना धेरै रहन्छ ।

मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र ई.सी.टी (विद्युतीय उपचार) को पनि ठूलो भमिका रहन्छ । सामइकोसिस तथा सिजोफेनिया मानसिक रोगका बिरामीहरु घरपरिवार, समाज तथा द्वन्दको कारण शोषणमा पर्न सक्छन् । उनीहरुको मानवअधिकारको संरक्षण गर्नु परिवारकै पहिलो दायित्व हो । यो समस्या मनको आन्तरिक पीडाले गर्दा हुन्छ ।

कसरी बन्ने मानसिक रूपमा स्वास्थ्य

कहिलेकाँही कुनै घटना परिस्थिति तथा बाध्यतापछि हाम्रो मन भौतारिन सक्छ यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहन हुँदैन । अर्काको उपलब्धीलाई सजिलै ग्रहण गर्ने र खुसी हुने बानीको विकास गराउनुपर्छ । पुराना रुढिवादी कुरामा विश्वास गर्नु हुँदैन । हरेक काममा खुसी, सुखी तथा तथा आफूलाई सन्तुष्ट राख्ने प्रयास गर्नुपर्छ । जे आफूसँग छ त्यसमा खुसी हुने तर मेहनत गर्न नछाड्ने बानीको विकास गर्नुपर्छ । लागुपदार्थ तथा दुर्व्यसनीबाट मानसिक रोग लाग्ने सम्भावना भएकोले यी वस्तुबाट टाढा रहनुपर्छ ।

हामी अति नैतिकवान र आदर्श बन्न खोज्दा त्यस्तो व्यवहार अरुबाट पाइएन भने मनमा आघात पुग्न सक्छ । त्यसैले अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने बानीको विकास गर्नुपर्छ । मनको कुरा मनमै गुम्साएर नराखी अरुलाई भन्ने बानी मनोरोग लाग्न नदिने अर्को उपाय हो ।

यीमात्रै होइन, मानिसले आफूलाई मानसिक रुपमा कसरी स्वस्थ राख्न सक्छ व्यक्तिपिच्छे फरक फरक उपाय हुनसक्छन् । तर, आफ्नो मनलाई चाहिँ भित्रैदेखि स्वस्थ राख्न जरुरी छ ।

पछिल्ला तथ्याङ्कहरूमा बढ्दै गएको देखिएको आत्महत्याको तहसम्म पुर्‍याउने यी कारकहरूलाई तपाईँ हाम्रो साझा प्रयासबाट रोक्न सकिन्छ । मनोरोगको समयमा नै उपचार गर्नेतर्फ सबै लाग्ने हो भने ठूलो संख्यामा आत्महत्या रोकथाम गर्न सघाउ पुग्छ । यसपालिको नाराले भनेझैँ हामीले जति आत्माहत्यको बारेमा जानकारी परामर्श (बिरामीसँग) गर्छौं, त्यसबाट धेरै हदसम्म आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । त्यसैले आत्महत्या परिणाममा मात्रै होइन यसको कारकहरू नियन्त्रणमा सक्रिय बनौँ ।

(प्रा. डा. सेढाइ चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ तथा मनोरोग विभागका प्रमुख हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर